३० हजार नाघे सक्रिय सङ्क्रमित
कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ।
सोमबार एकै दिन ६ हजार ७३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ८७७ पुगेको हो। एक महीनाअघि ३ पुसमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४२८ मात्रै थियो।
सक्रिय सङ्क्रमित बढेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, एक हजार १७२ जना अस्पताल भर्ना भएका छन्। जबकि एक महीनाअघि २६६ जना मात्रै अस्पताल भर्ना भएका थिए।
त्यस्तै, आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने सङ्क्रमितको सङ्ख्यामा भने त्यति धेरै फरक देखिएको छैन। आज १३९ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा छन्। जबकि, एक महीनाअघि १०६ जना आईसीयूमा र २४ जना भेन्टिलेटरमा थिए।
आज देशभर १७ हजार ४६५ जनाको स्वाब परीक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना देखिएको हो। आइतबार १५ हजार १३१ जनाको स्वाब परीक्षण गर्दा चार हजार ९६१ जनामा कोरोना देखिएको थियो।
सङ्क्रमण पुष्टि भएकामध्ये १४ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ७४७ जनामा र तीन हजार ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९८७ जनामा कोरोना देखिएको हो।
आज पनि कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पनि ११ हजार ६२३ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ५४७ जना निको भएका छन्। निको हुनेको सङ्ख्या बढ्न नसक्दा सक्रिय सङ्क्रमित बढ्दै गएका छन्।