देशभर थपिएका सङ्क्रमितमध्ये दुई तिहाइ उपत्यकामै
देशभर पुष्टि भएकामध्ये दुई तिहाइभन्दा बढी सङ्क्रमित काठमाडौं उपत्यकामै देखिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज देशभर चार हजार ८६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौं उपत्यकामा मात्रै तीन हजार ३४७ जनामा सङ्क्रमण देखिएको हो।
त्यस्तै, सबैभन्दा बढी काठमाडौंमा दुई हजार ५४५ जनामा कोरोना देखिएको छ। योसँगै काठमाडौंमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ३३३ पुगेको छ।
काठमाडौंसँगै ६ जिल्लामा एक सयभन्दा बढी सङ्क्रमित थपिएका छन्। ललितपुरमा ४७४, भक्तपुरमा ३२८, मोरङमा १९९, कास्कीमा १६८ र रुपन्देहीमा ११० जनामा कोरोना पुष्टि भएको छ।
उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ८३७ पुगेको छ। जसमध्ये काठमाडौंमा ११ हजार ३३३, ललितपुरमा दुई हजार ८२६ र भक्तपुरमा एक हजार ६७८ जना सक्रिय सङ्क्रमित छन्।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ६८० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमितको भएका जिल्लाको सङ्ख्या नौ पुगेको छ। जसमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मोरङ, सुनसरी, कास्की, रुपन्देही र कैलाली छन्।
यससँगै दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या पनि ६ पुगेको छ। आइतबारसम्म झापा, धनुषा, मकवानपुर, काभ्रे, नवलपरासी (पूर्व) र बाँकेमा सक्रिय सङ्क्रमित दुई सयभन्दा बढी पुगेका हुन्।