यी हुन् उच्च सङ्क्रमण भएका १० जिल्ला
कोभिड-१९ को सङ्क्रमण तीव्र रूपमा फैलिएसँग ७७ जिल्लामै कोरोना पुष्टि भएको छ भने १० वटा जिल्लामा उच्च सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकापछि भारतसँग सीमा जोडिएका जिल्लामा कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिन थालेको छ। उच्च सङ्क्रमण भएका १० जिल्लामा मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, कास्की, रुपन्देही र कैलाली छन्।
शनिबार देशभर सङ्क्रमण पुष्टि भएका चार हजार ६३६ सङ्क्रमितमध्ये दुई तिहाइभन्दा बढी सङ्क्रमित यी १० जिल्लामा भेटिएका छन्। जसमा मोरङमा १०४, सुनसरीमा ११६, काठमाडौंमा एक हजार ५९१, भक्तपुरमा १४२, ललितपुरमा ४८६, चितवनमा २०५, मकवानपुरमा ८३, रुपन्देहीमा ९३ र कैलालीमा १०७ जनामा सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा सङ्क्रमण सबैभन्दा बढी देखिएको छ। निको हुनेभन्दा नयाँ सङ्क्रमितको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या थपिंदै गएको छ।
सक्रिय सङ्क्रमितको सङ्ख्या काठमाडौंमा नौ हजार ६१, ललितपुरमा दुई हजार ३८२ र भक्तपुरमा एक हजार ३७१ पुगेको छ। यो देशभर सक्रिय सङ्क्रमितमध्ये आधाभन्दा बढी हो। देशभर २१ हजार ५८४ जना सक्रिय सङ्क्रमित छन्।