बालबालिकाका जटिल तथा विशेष दीर्घरोगका एक्ला विशेषज्ञ
इम्युन गडबडी र बाथजन्य रोग बालबालिकामा बढिरहेको छ। तर, यो रोगका बारेमा बालरोग विशेषज्ञदेखि स्वास्थ्य प्रणालीसमेत अनभिज्ञ छ।
डा. धर्मागत भट्टराई भारतको पोस्ट ग्राजुयट इन्स्टिच्यूट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च सेन्टर (पीजीआई चण्डीगढ)मा पढ्दै गर्दा धेरै नेपाली बाथजन्य र इम्युन असन्तुलन भएका छोराछोरीको उपचार गराउन भारत पुग्थे। त्यही रोगको उपचारकै लागि भारत जाने ठूलो संख्या देख्दा नेपालमा उपचारको पहुँचमा नआएका बालबालिका धेरै होलान् भन्ने उनको सोच थियो।
नेपाल गएर यस्ता रोगीको उपचारमा योगदान दिने सोचका साथ उनले ‘पेडियाट्रिक क्लिनिकल इम्युनोलोजी एवं र्युमाटोलोजी’मा डीएम गरे। सन् २०१९ मा पढाइ सकेर नेपाल आएका बालरोग प्रतिरोध तथा बाथजन्य रोगका एक्ला विशेषज्ञ उनी अहिले भने निराश छन्।
कारण– सरकारी क्षेत्रबाट असहयोग र बालरोग विशेषज्ञहरूमा समेत विषयप्रतिको अज्ञानता। सरकार उदासिन रहेकाले धेरै बालरोग विशेषज्ञले नै जटिल दीर्घरोग बुझ्न नसकेको र त्यसले हजारौं बालबालिकाको रोग पहिचान गर्न नसकेर उपचारबाट वञ्चित भएको उनको भनाइ छ। “नयाँ विषय भएकाले थाहा नहुनु स्वाभाविक हो। तर, चासो नदिने हो भने हामी सधैं पछाडि हुन्छौं,” उनी भन्छन्।
अमेरिकी र युरोपियन मुलुकहरूका साथै भारतले समेत यस्ता रोगका पहिचान, उपचार र अनुसन्धानमा ठूलो फड्को मारिसके। नेपालमा भने अझै यो विषयप्रति स्वास्थ्य प्रणाली र अधिकांश चिकित्सक नै अनभिज्ञ छन्। चिकित्सकहरूको अज्ञानताले अबोध बालबालिकाले गलत उपचार पाएर अकालमा मरिरहेको हेर्न बाध्य हुनुपरेको तितो अनुभव भट्टराईसँग छ। “आफ्नो क्षेत्रभन्दा बाहिरको बिरामी रेफर नगरी गलत या असान्दर्भिक औषधि दिएर चिकित्सकहरूले नै धेरै बिरामीको स्वास्थ्य र पैसा बर्बाद पारेको कयौं उदाहरण मसँग छ,” भट्टराई सुनाउँछन्।
डा. भट्टराईका अनुसार, क्लिनिकल इम्युनोलोजी हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीबारेको विज्ञान हो। रोग प्रतिरोधी क्षमता शक्तिको विकासको क्रममा आउने कमी र गडबडीले निम्त्याउने सम्पूर्ण रोग, त्यसको पहिचान र उपचारका विषय पेडियाट्रिक क्लिनिकल इम्युनोलोजीमा समेटिन्छ।
नेपालमा भने बाथरोगलाई युरिक एसिड ठान्ने र बालबालिकालाई बाथजन्य रोग हुँदैन भन्ने भ्रम छ। इम्युनको कमी र गडबडीले गर्दा बाथरोग हुने यथार्थ कतिपय चिकित्सकलाई नै थाहा नभएको डा. भट्टराईको दाबी छ।
पेडियाट्रीक र्युमाटोलोजी इम्युन गडबडीले गर्दा उब्जिने शारीरिक प्रणाली तथा तिनमा निहित अङ्गहरूमा आउने जटिलताको विज्ञान हो। जसलाई सामान्य भाषामा बाथजन्य रोग भन्ने गरिन्छ। बाथजन्य रोग जोर्नीमा मात्र नभएर शरीरका जुनसुकै अंगमा हुन सक्छ।
नेपालमा भने बाथरोगलाई युरिक एसिड ठान्ने र बालबालिकालाई बाथजन्य रोग हुँदैन भन्ने भ्रम छ। इम्युनको कमी र गडबडीले गर्दा बाथरोग हुने यथार्थ कतिपय चिकित्सकलाई नै थाहा नभएको डा. भट्टराईको दाबी छ। उनका अनुसार, हाम्रो शरीरमा बाह्य तथा आन्तरिक खराब तत्वहरूसँग लड्न विभिन्न कोष र तत्व हुन्छन्। त्यस्ता तत्व र कोषले शरीरलाई खराब बनाउने घातक तत्वसँग प्रतिक्रिया गर्छ। त्यही क्रममा कोष र तत्वहरूको मात्रा, शक्ति कम अथवा गडबडी भयो भने प्रतिरोधी क्षमतासँग सम्बन्धित रोगहरू देखापर्छन्।
शरीरको प्रतिरक्षा प्रणालीको सन्तुलनमा जीन बनोट र वातावरणीय प्रभावको समिष्टिगत प्रस्तुति स्वरूप अटो इम्युनिटी उब्जिन सक्छ। अर्कोतिर, बच्चा जन्मिंदा जीनमै हुने विशेष गडबडीले गर्दा जन्मजात इम्युन कमी हुने रोग लाग्छन्। जुन समूहलाई ‘इनबर्न इरर अफ इम्युनिटी’ (आईईआई) नामाकरण गरिएको छ। यस्ता बिमारी जन्मजात भए पनि फरक–फरक उमेर समूहमा देखापर्ने हुन्छन्। हालसम्म पाँच सयभन्दा बढी प्रकारका ‘आईईआई’ रोग पत्ता लागिसकेको छ।
डीएनएको कुनै एउटा हिस्साको कमी कमजोरीको कारण जन्मजात इम्युन प्रदान हुन नपाउँदा बच्चा जन्मिएपछि अनेक रोग देखिन्छ। त्यस्तै रोग देखिएको सिन्धुलीका एक बालक हालसालै डा. भट्टराईकोमा आएका थिए। जन्मिएको १५ दिनमा ‘एचएलएच’ भन्ने बिमारीसित मिल्ने रोगबाट पीडित भएका ती बालकको हुर्कंदै गएपछि भित्री अंगमा पुग्नेगरी (कलेजोदेखि हड्डीसम्म) पिलो आएर सताएको थियो। डा. भट्टराईकोमा ल्याउँदा ती बालकलाई ‘एस्परजिल्लस’ नामको फङ्गल (ढुसीवाला) निमोनिया भएको थियो।
रोगको बारेमा ‘पारिवारिक इतिहास’ लिंदा उनको दाईलाई पनि यस्तै समस्या देखिएर मृत्यु भएको खुल्यो। उनलाई क्रोनिक ग्यानुलोमाटस डिजिज् (सीजीडी) भएको थियो।
ठीक समयमा उपचार गर्न आइपुगेका ती बालकलाई सामान्य उपचारबाट बचाउन सकिएको उनको भनाइ छ। “सामान्य तरिकाले उपचार हुने हाम्रै वरिपरि भएका धेरै यस्ता बिरामीलाई हामीले पहिचान नै गर्न सकेका छैनौं,” उनी भन्छन्, “धेरै चिकित्सकबाट यस्ता रोगको सम्भावना बारेमा बिरामी आउँदा नसोचिनु चिन्ताको विषय हो।”
अभिभावले पनि थाहा पाउन सक्छन्
भट्टराईका अनुसार, लक्षण याद गर्दा अभिभावकले पनि यस्ता रोगको पहिचान गरेर चिकित्सक कहाँ पुग्न सक्छन्। कुनै बच्चा विभिन्न रोगबाट बारम्बार पीडित हुन्छ र पूर्ण निको हुँदैन भने पीआईडी वा आईईआई समूहका रोगबाट ग्रसित भएको शंका गर्न सकिन्छ।
शरीरमा पिलो, खटीरा, घाउ गाँठाहरू बारम्बार आइरहन्छ अनि अनौठो जिवाणुले थलाउँछ भने त्यस्ता बालबालिकालाई इम्युन कमी अथवा इम्युन गडबडी सम्बन्धी रोग लाग्यो कि भनेर सोचिनुपर्ने डा. भट्टराई बताउँछन्। त्यसैगरी, दुई वा सोभन्दा बढी पटक शरीरका भित्री अंगमा पिप जम्ने या इन्फेक्शन देखियो भने त्यस्तो अवस्थामा रोग प्रतिरोधी क्षमतामा गडबडी भएर त यस्तो भएको होइन भनेर जाँच गर्नुपर्ने उनको भनाइ छ। “बालबालिकालाई बारम्बार नशाबाट औषधि दिनुपर्ने अवस्था आयो र राम्रो खानपान हुँदा पनि शारीरिक, वृद्धि विकास रोकियो भने पनि यस्तो रोगको शंका गर्नुपर्छ,” उनी भन्छन्।
चिकित्सक र आम अभिभावकमा चेतना नहुँदा रोग पहिचान नभएर र गलत उपचार पाएर समय, स्वास्थ्य र पैसा बर्बाद पारेका बिरामी दर्जनौं छन्। कसैले पनि यस्ता रोगलाई प्राथमिकता नदिएका कारण धेरै बिरामीको अवस्था नाजुक रहेको डा. भट्टराईको भनाइ छ। “चिकित्सकहरूलाई के कस्ता लक्षण हुँदा यस्तो रोग लाग्छ भनेर जबसम्म चेतना हुँदैन, तबसम्म रेफर गर्ने चलन नै बस्दैन, यस्ता रोग हत्तपत्ति पत्ता नलाग्नुको कारण यही हो,” भट्टराई भन्छन्।
नेपालमा आफूकहाँ आएको बिरामी आफ्नो विज्ञताभन्दा फरक क्षेत्रको भए पनि हेर्ने गलत चलन भएको कतिपय चिकित्सक बताउँछन्। आफूले अध्यन र अभ्यास नगरेको क्षेत्रको बिरामीको उपचार गर्दा जोखिम हुने जान्दाजान्दै लक्षणको गहिराइमा कारण नखोज्ने, निदान नखोजिकन लाक्षणिक उपचारमा राखिदिने नराम्रो चलन छ, जुन गम्भीर बिरामीको लागि घातकसिद्ध हुन्छ।
असम्बन्धित विषयका चिकित्सकले यस्ता बिरामीको उपचार गर्दा केही न केही त्रुटी हुने गर्छ। केही चिकित्सकले गम्भीर बिरामीलाई ‘स्टेरोइड’ मात्र खुवाएर राखिदिंदा विभत्स अवस्था भोग्न बिरामी बाध्य हुने डा. भट्टराई बताउँछन्। उनका अनुसार, इम्युन असन्तुलनका गम्भीर रोग टाइफाइड जस्तो सात दिन औषधि खुवाएर निको हुँदैन।
कुनै बच्चा विभिन्न रोगबाट बारम्बार पीडित हुन्छ र पूर्ण निको हुँदैन भने पीआईडी वा आईईआई समूहका रोगबाट ग्रसित भएको शंका गर्न सकिन्छ।
पछिल्लो समय विषयविज्ञ खोज्ने चलन भएता पनि त्यो पर्याप्त नभएको डा. भट्टराई बताउँछन्। धेरै बिरामी रेफर हुने अस्पतालमा रोग पहिचान तथा उपचारको सेवा र यस्ता रोगका बारेमा चिकित्सकहरूले सोच्दै नसोच्दिनाले समुदायमा भएका बिरामी पहिचान गर्न नसकेको भट्टराईको भनाइ छ। “वरिष्ठ डाक्टरहरूले नै नेपालमा इम्युन असन्तुलनका बिरामी छैनन् भनेको सुन्छु, यस्तो सोचाइले गर्दा धेरै बालबालिकाले निदान र सही उपचार पाएका छैनन्,” भट्टराई भन्छन्।
बहुआंगिक र बहुप्रणालीगत समस्या हुनसक्ने यस्ता बिरामीको पहिचान गर्नको लागि निजी अस्पताल सजिलो नभएको उनको अनुभव छ। उनका अनुसार, अत्यन्तै थोरै र देशभरीको बिरामी नआउने निजी अस्पतालमा छोटो समयमै २३ जनाभन्दा बढी यस्ता बिरामी पत्ता लाग्नु स्वास्थ्य प्रणालीको लागि राम्रो संकेत होइन।
ठूलो संख्यामा गम्भीर र दीर्घरोगी बालबालिका ल्याइने सरकारी अस्पतालमा सेवा दिने अवसर पाएमा धेरै बिरामी पहिचान र उपचार गर्न सकिने उनको भनाइ छ। तर, उनले सरकारी अस्पतालमा सेवा दिन इच्छा जाहेर गरेर प्रस्ताव गर्दा समेत अवसर पाएका छैनन्। “नियामक संस्थाले यस्ता रोगको पहिचान र उपचारको प्राथमिकतामा राख्ने हो भने धेरै बालबालिकाको जीवन बचाउन सकिन्छ,” डा. भट्टराई भन्छन्।
रोगको सही पहिचान, अन्तर्राष्ट्रिय मान्यता बमोजिम सही उपचार, औषधिको मात्रा, फलोअप, विभिन्न अंगमा परेको असर र उपचारको समयावधि जस्ता कुराले गर्दा यस्ता रोगको उपचार जटिल हुने गर्छ। त्यसकारण पनि अधिकांश रोग सजिलै पत्ता लाग्दैनन्।
छात्रवृत्तिबाटै डाक्टर
चितवनको मेघौली गाविसमा जन्मिएर प्रभात माध्यामिक विद्यालयमा पढेका भट्टराईले २०५४ सालको एसएलसीमा जिल्ला प्रथम भएका थिए। त्यसपछि, नेशनल स्कूल अफ साइन्स, काठमाडौंबाट प्लस टू सकेर उनले मदन पुरस्कार गुठीबाट एमबीबीएस पढ्न छात्रवृत्ति पाए। कलकत्ता विश्वविद्यालयबाट एमबीबीएस सकाएपछि उनले पोस्ट ग्राजुएट इन्स्टिच्यूट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च (पीजीआई) चण्डीगढमा एमडीका लागि छात्रवृत्ति पाए।
रुचिले एमडी पेडियाट्रिक्स पढेका उनलाई डीएम गर्न पीजीआई चण्डीगढको माहोलले उत्प्रेरित गरेको थियो। प्राथमिक तहदेखि एमडीसम्म छात्रवत्तिमै पढेका उनले पीएचडी/डीएम गर्ने अठोट लिए। “जुन विश्वविद्यालयमा डीएम पनि पढाइ हुन्छ, त्यहाँ एमडी गर्दा अझै धेरै पढ्न बाँकी छ भन्ने लाग्दो रहेछ,” उनी भन्छन्।
डीएममा उनले ‘पेडियाट्रिक क्लिनिकल इम्युनोलोजी एवं र्युमाटोलोजी’ रोजे। वर्षको एक सिट खुल्ने भएकाले प्रतिस्पर्धा कडा थियो। तर, सन् २०१७ जुलाईमा भएको प्रवेश परीक्षामा पनि उनले पहिलो नम्बरमै नाम निकाल्न सफल भए। परिणामतः उनी भारतमा उक्त विषयमा डीएम अध्ययन गर्ने नवौं चिकित्सक भए।
यसका साथै विदेशबाट छोटो आवधिक फेलोसिप र छोटो कोर्स गरेर आउने भारतभर जम्मा ३८ जना थिए। नेपालमा भने डा. भट्टराई मात्रै ‘पेडियाट्रिक क्लिनिकल इम्युनोलोजी एवं र्युमाटोलोजीका विशेषज्ञ हुन्। “यहाँ चेतना, सुविधायुक्त ल्याब, ट्रान्सप्लान्ट केन्द्र सबैको कमी छ। तर, प्रयास गर्दै जाँदा एकदिन सपना पूरा होला भन्ने आश छ,” डा. भट्टराई भन्छन्।