रोग पहिचान नहुँदा ज्यान गुमाउँदै बालबालिका
नेपालमा बालबालिकामा रोग प्रतिरक्षाको कमीले हुने असन्तुलन र बाथजन्य रोगको पहिचान तथा उपचार गर्न सक्ने विशेषज्ञ पर्याप्त नभएकाले हचुवामा औषधि चलाइँदा अङ्गभङ्ग हुनुका साथै ज्यानै जाने गरेको छ।
पटक पटक सङ्क्रमणले ग्रस्त कास्कीका दुईमहीने शिशुलाई स्थानीय अस्पतालमा लामो समय उपचार गर्दा पनि निको भएन। अभिभावक अन्ततः बालरोग प्रतिरोध तथा बाथजन्य रोग विशेषज्ञ डा. धर्मागत भट्टराईकहाँ पुगे। उनले शिशुलाई ‘सिभिएर कम्माइन्ड इम्युनो डेफिसेन्सी’ (एससीआइडी) भएको आशङ्का गर्दै परीक्षण गर्न सुझाए। तर, परीक्षणका लागि रगत पठाइएको केही दिनमै शिशुको मृत्यु भयो। भारतबाट रिपोर्ट आउँदा भट्टराईले ठानेकै रोग देखियो।
“यो रोगका बिरामी तत्काल पहिचान र उपचार नभए बाँच्दैनन्,” उनले भने, “ती शिशुलाई अजिब खालको जीवाणुले किन बारम्बार सङ्क्रमण गर्यो भनेर शुरूकै अस्पतालले निदान गर्न सकेको भए शायद बचाउन सकिन्थ्यो।”
काठमाडौंकी दुई वर्षीया बालिकामा बिबिरा आउने र रगत कमी हुने समस्या थियो। अभिभावकले उनलाई १६ पटकसम्म अस्पताल पुर्याए। घरी वार्ड घरी आईसीयूमा राखियो। करीब दुई दर्जन चिकित्सकले हेर्दा पनि उनलाई के भएको हो, खुट्याउन सकेनन्। ती अभिभावक पनि अन्ततः डा. भट्टराईकहाँ पुगे। उनले पुराना रिपोर्ट हेर्नासाथ बालिकाको रक्तकोषमा गम्भीर गडबडी देखे। यस्तो समस्या ‘अटो इम्युनिटी’ सँग सम्बन्धित पनि हुन सक्छ।
रोगप्रतिरक्षा क्षमताको कमीले हुने असन्तुलन र बाथजन्य रोगको उपचारलाई राज्यले प्राथमिकतामा नराख्दा धेरै बालबालिका अङ्गभङ्ग हुन र ज्यान गुमाउन बाध्य छन्।
यसतर्फ पहिलेका चिकित्सकले ध्यानै नदिंदा बालिकाको स्वास्थ्य झनै बिग्रिसकेको थियो। भट्टराईले शङ्का गरे अनुसारै उनमा ‘अर्ली कम्प्लिमेन्ट डेफिसियन्सी लुपस’ पुष्टि भएको छ। अहिले स्वास्थ्य क्रमशः सुधारिंदै त छ, तर रोग पत्ता लाग्नुअघि धेरै किसिमका औषधि चलाइँदाको ‘रियाक्सन’ हटिसकेको छैन।
रोगप्रतिरक्षा क्षमताको कमीले हुने असन्तुलन र बाथजन्य रोगको उपचारलाई राज्यले प्राथमिकतामा नराख्दा धेरै बालबालिका अङ्गभङ्ग हुन र ज्यान गुमाउन बाध्य छन्। यो विधाका पर्याप्त विशेषज्ञ र रोग पहिचान गर्ने प्रयोगशाला नहुँदा गलत उपचारको जोखिम समेत बढ्दै छ।
यूरोपियन सोसाइटी फर इम्युनो डेफिसेन्सीका अनुसार, पर्याप्त चिकित्सक र निदान सुविधा भएका देशका १ हजार बालबालिकामध्ये एक जनामा यस्तो रोग पत्ता लाग्ने गरेको छ। विज्ञ र प्रयोगशालाको पहुँच कम भएका देशमा भने १० देखि २० हजार बालबालिकामध्ये एक जनामा यस्तो रोगको आँकडा छ। कम विकसित देशमा यस्ता रोगीको सङ्ख्या कम देखिनुमा पहिचान गर्न सक्ने चिकित्सक र प्रयोगशाला नहुनुलाई मुख्य कारण औंल्याइएको छ।
नेपालमा हालसम्म यस्ता रोगी कति भेटिए, आधिकारिक तथ्याङ्क छैन। न त उपचार निर्देशिका बनेको छ। असार २०७७ मा डीएम गरेर आएका डा. भट्टराईले एक वर्षमै यस्ता चार सयभन्दा धेरै बालबालिकाको उपचार गरेका छन्। उपचार पहुँचमा नआउनेको सङ्ख्या अझ धेरै हुन सक्छ। उनी ‘पेडियाट्रिक क्लिनिकल इम्युनोलोजी एवं र्युमाटोलोजी’ विषयमा डीएम गर्ने पहिलो नेपाली हुन्।
भट्टराईका अनुसार, ‘क्लिनिकल इम्युनोलोजी’ शरीरको रोग प्रतिरोधात्मक प्रणालीबारेको विज्ञान हो। यसमा प्रतिरोधी क्षमतामा आउने कमी र गडबडीले निम्त्याउने शारीरिक समस्याको पहिचान र उपचारलाई समेटिन्छ। पेडियाट्रिक र्युमाटोलोजी चाहिं ‘इम्युन’ गडबडीले शारीरिक प्रणालीमा आउने जटिलता सम्बन्धी विज्ञान हो। सामान्य भाषामा बाथ समेत भनिने यस्तो रोग जोर्नी मात्र नभएर जुनसुकै अङ्गमा हुन सक्छ।
नेपालमा बाथरोगलाई युरिक एसिड ठान्ने र बालबालिकालाई बाथरोग हुँदैन भन्ने भ्रम रहेको भट्टराई बताउँछन्। उनका अनुसार, शरीरमा बाह्य तथा आन्तरिक खराब तत्त्वसँग लड्न विभिन्न कोष हुन्छन्। त्यस्ता कोषमा कमी आए प्रतिरोधी क्षमतासँग सम्बद्ध रोग देखापर्छ।
बाहिरी कीटाणु, विषाणु वा जीवाणु छिर्दा शरीरले जनाउने ‘इम्युन’ प्रतिक्रियाले कहिलेकाहीं विभिन्न अङ्गलाई गम्भीर असर पारिदिन्छ।
चक्कर लाग्ने, छालामा गाँठागुँठी आउने समस्याले ग्रस्त एक बालिकाको पाटन अस्पतालमा जाँच गर्दा दुई हातमा फरक-फरक रक्तचाप देखियो। ‘सिटी एन्जियोग्राफी’ गराउँदा उनमा ‘टाकायासु आर्टराइटिस’ भन्ने रोग पुष्टि भयो। यसले शरीरका ठूला धमनीलाई सुन्याइदिन्छ। अस्पतालले ती बालिकालाई डा. भट्टराईकहाँ रिफर गरिदियो।
यस्तै समस्या भएका बाग्लुङका बालक ६ महीनामा ६/७ पटक अस्पताल भर्ना भई डा. भट्टराईकहाँ पुग्दा एकापट्टिको किड्नीमा जाने धमनी खराब भइसकेको थियो। उनको शल्यक्रिया नै गर्नुपर्ने भएपछि भट्टराईले आफैं अध्ययन गरेको पीजीआई चण्डिगढमा रिफर गरिदिए। हाल निकै सुधार भइसकेका ती बालक उनीकहाँ ‘फलोअप’ का लागि आइरहन्छन्।
भट्टराईका अनुसार, कोभिड-१९ महामारीमा रोग प्रतिरक्षा प्रणालीको चर्चा अझ सान्दर्भिक छ। कोरोना निको भइसकेपछि पनि धेरै बालबालिका गम्भीर समस्या देखिएर अस्पताल भर्ना भए। सङ्क्रमणसँग जुध्ने क्रममा शरीरले देखाउने प्रतिक्रियात्मक गडबडीका कारण यस्तो भएको थियो।
बाहिरी कीटाणु, विषाणु वा जीवाणु छिर्दा शरीरले जनाउने ‘इम्युन’ प्रतिक्रियाले कहिलेकाहीं विभिन्न अङ्गलाई गम्भीर असर पारिदिन्छ। कोभिडका कारण हुने इम्युन प्रतिक्रियात्मक रोग हो, मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रम इन चिल्ड्रेन (एमआईएससी)। यस्तो सिन्ड्रोम बालबालिकामा सङ्क्रमणमुक्त भइसकेपछि देखिन सक्छ। अटो इम्युनिटी यस्तै अर्को ‘इम्युन असन्तुलन’ को बिमार हो।
कान्ति बाल अस्पतालका निर्देशक डाक्टर अजित रायमाझीका अनुसार, उक्त अस्पतालमा हालसम्म ९५ बालबालिकामा एमआईएससी पुष्टि हुँदा २२ जनाले ज्यान गुमाएका छन्।
“एमआईएससीका बारेमा थाहा पाउँदापाउँदै त यति धेरैको मृत्यु भयो भने थाहा नपाएरै ज्यान गुमाएका बालबालिका कति होलान्?”
“एमआईएससीका बारेमा थाहा पाउँदापाउँदै त यति धेरैको मृत्यु भयो भने थाहा नपाएरै ज्यान गुमाएका बालबालिका कति होलान्?” भट्टराई भन्छन्।
प्रतिरक्षा प्रणालीको सन्तुलनमा ‘जिन’ को बनोट र वातावरणीय प्रभावले पनि अर्थ राख्छ। बच्चा जन्मिँदै जिनमा गडबडी भए ‘इम्युन’ कमी हुने रोग लाग्न सक्छ। यस्तो समूहलाई ‘इन्बर्न इरर अफ इम्युनिटी’ (आईईआई) नामकरण गरिएको छ। यद्यपि, यस्ता समस्या फरक-फरक उमेर समूहमा देखा पर्न सक्छन्। हालसम्म पाँच सयभन्दा बढी प्रकारका ‘आईईआई’ रोग पत्ता लागिसकेका छन्।
हालसालै भट्टराईकहाँ पुगेका सिन्धुलीका एक बालकलाई भित्री अङ्ग (कलेजोदेखि हड्डी)सम्म पुग्ने गरी पिलो आएर सताएको थियो। भट्टराईले उनलाई ‘एस्परजिल्लस’ नामको फङ्गल (ढुसीवाला) निमोनिया भएको पत्ता लगाए। उनका दाजुको पनि त्यस्तै समस्याले ज्यान गएको रहेछ। ती बालक भने वेलैमा आएकाले बचाउन सकिएको भट्टराईको भनाइ छ।
उनका अनुसार, बालबालिकालाई पिलो, खटिरा, घाउ, गाँठा बारम्बार आइरहे तिनमा इम्युन गडबडीले हुने रोगको सम्भावनाबारे सोचिनुपर्छ। दुई वा बढी पटक भित्री अङ्गहरूमा पिप जम्ने या अन्य इन्फेक्सन देखिंदा पनि रोग प्रतिरोधी क्षमतामा कमी आएको हुन सक्छ। “बालबालिकालाई बारम्बार नसाबाट औषधि दिनुपर्ने अवस्था आए र राम्रो खानपान हुँदा पनि वृद्धि विकास रोकिए यस्तो रोगको शङ्का गर्नुपर्छ,” उनी भन्छन्।
अर्कातिर चिकित्सक स्वयं यस्ता रोगको सम्भावनातर्फ सचेत नहुँदा बिरामीको स्वास्थ्य त जोखिममा परेकै छ, समय र पैसा समेत बर्बाद भइरहेको छ। भट्टराईले अर्को दृष्टान्त सुनाए- काठमाडौंकी १४ वर्षीया बालिकाको छाला र परेलामा धब्बा देखिन थाल्यो। विभिन्न अस्पताल धाएकी उनलाई जहाँ पुगे पनि चिकित्सकले हचुवामा ‘स्टेरोइड’ चलाइदिए। यसले गर्दा बालिका उठबस गर्नै नसक्ने भइन्। अन्तिममा भट्टराईकहाँ आएकी उनलाई ‘डर्माटोमायोसाइटिस’ (छाला र मांसपेशीको बाथरोग) भएको पत्ता लाग्यो। अहिले उनी ठीक भइसकिन्।
“बालरोग विशेषज्ञले नै बालबालिकामा देखिने बाथजन्य र इम्युन असन्तुलनसँग सम्बद्ध रोगबारे नसोचिदिंदा उपचार सम्भव भएका बिरामी पनि कष्ट सहन बाध्य छन्”
“बालरोग विशेषज्ञले नै बालबालिकामा देखिने बाथजन्य र इम्युन असन्तुलनसँग सम्बद्ध रोगबारे नसोचिदिंदा उपचार सम्भव भएका बिरामी पनि कष्ट सहन बाध्य छन्,” भट्टराई भन्छन्।
गलत अभ्यासको मार
विकसित देशमा आफ्नो विशेषज्ञता क्षेत्रभन्दा बाहिरको बिरामी आए चिकित्सकले सम्बद्ध विशेषज्ञ समक्ष रिफर गर्ने चलन छ। तर, नेपालमा आफूले अध्ययन नगरेको विषयका बिरामी आउँदा पनि हचुवाका भरमा औषधि चलाइदिने प्रवृत्ति छ। यसको मार इम्युन असन्तुलनका बिरामीमा प्रत्यक्ष देखिएको छ। “वरिष्ठ डाक्टरहरूले नै नेपालमा इम्युन असन्तुलनका बिरामी छैनन् भनेको सुनिन्छ,” भट्टराई भन्छन्, “यस्तो सोचाइले गर्दा धेरै बालबालिकाले सही उपचार पाएका छैनन्।”
अहिलेको अवस्थामा बहुआङ्गिक र बहुप्रणालीगत समस्या निम्तिन सक्ने यस्ता बिरामीको पहिचान गर्न निजी अस्पताल प्रभावकारी नहुने उनको अनुभव छ। गम्भीर र दीर्घरोगी बालबालिका ठूलो सङ्ख्यामा पुग्ने भएकाले सरकारी अस्पताललाई नै यस्ता रोगको निदान र उपचारमा प्रभावकारी बनाइनुपर्ने उनी बताउँछन्। “नियामक संस्थाले यस्ता रोगको पहिचान र उपचारलाई प्राथमिकतामा राख्नुपर्छ,” उनले भने, “इम्युन असन्तुलनको गम्भीर रोगलाई विशेष किसिमले हेर्नुपर्छ। यिनमा टाइफाइड जस्तो सात दिन औषधि खुवाएर हुँदैन।”
वंशाणुगत रोगविशेषज्ञ डा. नीलम ठाकुर अब जेनेटिक र इम्युनोलोजी नै चिकित्साशास्त्रको भविष्य रहेको बताउँछिन्। वंशाणुगत र इम्युन असन्तुलन सम्बन्धी रोग परस्पर सम्बद्ध भए पनि विशेषज्ञता हासिल गर्न फरक फरक विषय अध्ययन गर्नुपर्छ। “अन्य देशमा वंशाणुगत रोगका क्षेत्रमा धेरै विकास भइसकेको छ,” उनले भनिन्, “नयाँ एन्टिबायोटिकभन्दा इम्युनोलोजिकल तत्त्वबाट औषधि बन्न थालेका छन्।”
खोप सहित महत्त्वपूर्ण औषधि समेत इम्युनबाट बन्ने भएकाले चिकित्सा वैज्ञानिक यिनै विषयमा अनुसन्धान गरिरहेका छन्। तर, नेपालमा यस्ता रोगको पहिचानमै समस्या रहेकामा ठाकुर पनि सहमत छिन्। “वंशाणुगतमा जस्तै इम्युन असन्तुलनसँग सम्बद्ध रोगका विषयमा नेपालमा चेतना फैलाउन जरुरी छ,” उनले भनिन्। यस्तो चेतना बिरामी मात्र नभएर चिकित्सकसम्म पनि पुग्न आवश्यक देखिएको छ।
पहिला क्यान्सर रोग पहिचान नभएर मानिसको ज्यान गए जस्तै अहिले इम्युन असन्तुलनले पीडित बालबालिकाको अवस्था रहेको डा. भट्टराईको दाबी छ। “स्वास्थ्य प्रणालीको नेतृत्व गर्ने सबैलाई गलत भइरहेको थाहा छ, तर सुधार्न लागिपर्ने मानिस भेट्न मुश्किल छ,” उनले भने, “कुनै न कुनै दिन त राज्यको चेत पक्कै खुल्ला।”
एक मात्र विशेषज्ञ चिकित्सक
चितवनको मेघौलीस्थित प्रभात माविबाट एसएलसी पास गरेका भट्टराई आफ्नो ब्याच (२०५४) मा जिल्लाकै उत्कृष्ट थिए। काठमाडौंको नेशनल स्कूल अफ साइन्सबाट प्लस-टु सकेका उनले मदन पुरस्कार गुठीबाट एमबीबीएस पढ्न छात्रवृत्ति पाए। कलकत्ता युनिभर्सिटीबाट एमबीबीएस सकेपछि भट्टराईले चण्डीगढस्थित पोस्ट ग्राजुएट इन्स्टिच्यूट अफ मेडिकल एजुकेशन एन्ड रिसर्च (पीजीआई) मा मास्टर डिग्री (एमडी) गर्न पनि छात्रवृत्ति पाए।
‘एमडी पेडियाट्रिक्स’ सम्म आफ्नो रुचिले पढेका उनलाई डीएम गर्न पीजीआईको माहोलले उत्प्रेरित गरेको थियो। पीजीआई चण्डीगढमा नौ वटा विषयमा डीएम पढाइ हुन्थ्यो। “जुन विश्वविद्यालयमा डीएम पनि पढाइ हुन्छ, त्यहाँ एमडी पढ्दै गर्दा अझै धेरै पढ्न बाँकी छ भन्ने लाग्दो रहेछ,” उनी भन्छन्।
डीएममा उनले ‘पेडियाट्रिक क्लिनिकल इम्युनोलोजी एवं र्युमाटोलोजी’ रोजे। वर्षको एउटा सीट खुल्ने भएकाले प्रतिस्पर्धा कडा थियो। सन् २०१७ जुलाई ब्याचको प्रवेश परीक्षामा प्रथम भएका उनी भारतमा उक्त विषयमा डीएम अध्ययन गर्ने नवौं चिकित्सक थिए। त्यसै गरी विदेशबाट यस सम्बन्धी छोटो कोर्स गरेर आउनेहरू भारतभर ३८ जना मात्र थिए। नेपालमा भट्टराई मात्र ‘पेडियाट्रिक क्लिनिकल इम्युनोलोजी एवं र्युमाटोलोजीका विशेषज्ञ हुन्। “यहाँ सचेतना, सुविधायुक्त ल्याब, ट्रान्सप्लान्ट केन्द्र सबै कुराको कमी छ,” उनले भने, “तर गाह्रो छ भन्दैमा प्रयास छाड्दिनँ।”
*शीर्षक परिवर्तन गरिएकाे।