टौदहमा पहिलो पटक झुल्किएको स्मिउ
टौदहमा देखिएको पोथी स्मिउ साइबेरियाबाट यूरोप वा दक्षिणपूर्वी एशियातर्फ लागेको आफ्नो झुन्डबाट छुटेपछि कमन टिल, कमन पोचार्ड, फेरुगिनस डकसँग मिसिएर यता आइपुगेको हुन सक्छ।
पुस ४ गते बिहान वन्यजन्तु अध्येता अस्मित सुब्बासँग टौदह पुगियो। अघिल्लो बेलुकी उनै सुब्बाबाट तौदहमा दुर्लभ पन्छी ‘स्मिउ’ आइपुगेको जानकारी पाएपछि म यसै हतारिरहेको थिएँ। मेरो घर त्यहाँबाट साढे ३ किमि जति मात्र टाढा हो।
बिहान पुग्दा टौदह हुस्सुले छोपिएको थियो। पानीमा विचरण गरिरहेका हाँस पनि ठम्याउन गाह्रो पर्यो। पौने घण्टापछि हुस्सु अलि हटे जस्तो भयो, हामी बाइनाकुलरबाट स्मिउको खोजीमा लाग्यौं। तर, जति खोज्दा पनि देखिएन।
भक्तपुरका मित्र कमलराज गोसाईं पनि त्यही चरा हेर्न भनी आएका रहेछन्, तर नभेटेर खिन्न रहेछन्। हामी भोलि फेरि आउने गरी फर्कने निधोमा पुग्यौं। त्यत्तिकैमा अर्का मित्र शंकर तिवारी भेट भए। चरा अध्ययनमा नाम कमाएका उनले त पहिले नै त्यो पन्छी देखेर फोटो समेत खिचिसकेका रहेछन्। हामी उनैलाई पछ्याउँदै गयौं। दशरथ श्रेष्ठ बिजुक्छे पनि बडेमानको क्यामेरा लिएर त्यहीं आइपुगे। अनि हामीले देख्यौं– पोथी स्मिउ। कमन टिल, कमन पोचार्ड र फेरुगिनस डकको सानो झुन्डमा थियो त्यो।
टाढाबाट त्यो पन्छी कमन पोचार्ड जस्तै देखिंदो रहेछ। त्यसैले निकै पटक देखे पनि भेउ पाउन सकिएनछ। चराहरूको बथान अलि टाढै भएकाले निकै बेर कुर्दा पनि राम्रो तस्वीर लिन सकिएन। हामी अन्तै लाग्यौं। बिजुक्छे त्यहीं अडिए। घर पुगेपछि थाहा भयो, एकाध घण्टा कुरेपछि उनले तस्वीर मात्र होइन, भिडियो समेत खिच्न भ्याएछन्। भिडियो सामाजिक सञ्जालमा अपलोड भइसकेको थियो।
टौदहमा यस वर्ष स्मिउको पहिलो तस्वीर खिच्ने चाहिं माइकल ग्रुन्वेल हुन्। उनले २५ मंसीरमा खिचेका ४ वटा तस्वीर इबर्डमा देखिन्छ। पुसयता वाइल्डलाइफ फोटोग्राफरहरू धमाधम टौदह पुगिरहेका छन्।
नेपालमा स्मिउ
क्यारोल इन्स्किप, हेमसागर बराल लगायतले लेखेकोे ‘रेयर बर्डस् इन नेपाल’ लेख नेप्लिज जर्नल अफ जुलोजीमा सन् २०२० मा प्रकाशित भएको छ। उक्त लेखमा स्मिउ काठमाडौं उपत्यकामा देखिएको विवरण छैन। काठमाडौं बाहिर भने निकै पटक देखिएको रहेछ।
लेख अनुसार, फ्यान्क एम. बेलीले नेपालमा स्मिउको नमूना कञ्चनपुरको बिलाउरीबाट सर्वप्रथम २२ जनवरी १९३७ मा सङ्कलन गरेका थिए। यसपछि यसलाई थुप्रै अध्येताले सप्तकोशी नदीमा पटक पटक (१५–१६ जनवरी १९८१, १० जनवरी–११ फेब्रुअरी १९९७, २२ जनवरी २००२ र २८ फेब्रुअरी २००२)मा देखेका थिए। चितवनमा पनि १ फेब्रुअरी १९८३ र ५ जनवरी १९९९ मा यो पन्छी देखिएको थियो। यस्तै, रमेश चौधरी र टीकाराम पुरीले फेवातालमा २०१२ फेब्रुअरी तथा सोम जीसीले कर्णाली नदीमा १९ मार्च २०१९ मा देखेको उल्लेख छ।
उक्त लेख अनुसार, काठमाडौंमा २०२१ भन्दा पहिले कहिल्यै स्मिउ भेटिएको थिएन। तर, एक गुमनाम वाइल्डलाइफ फोटोग्राफरबाट पहिले पनि टौदहमा स्मिउको तस्वीर खिचिएको जिकिर गरिएको छ। तस्वीर एकखाले तथ्याङ्क भए पनि अप्रकाशित रहँदासम्म त्यसको सामाजिक महत्त्व ग्रहण हुँदैन।
नेपालका पन्छी सम्बन्धी पुस्तकमा स्मिउको एउटै तस्वीर देखिंदैन, तर हेमसागर बराल लगायतले सन् २०१६ मा लेखेको ‘बर्डस् अफ नेपाल’ पुस्तकमा सानो स्केच समाविष्ट छ। सन् २०१४ मा प्रकाशित ‘बर्डस् अफ इन्डिया : पाकिस्तान, नेपाल, बाङ्लादेश एन्ड श्रीलंका’ र ‘बर्डस् अफ द इन्डियन सबकन्टिनेन्ट : अ फिल्ड गाइड’ (सन् २०१२) पुस्तकमा यसको सङ्क्षिप्त विवरण भेटिन्छ।
स्मिउको रूपरङ्ग
स्मिउ आहाराका निम्ति पानीमा डुबेर पनि विचरण गर्छ। यस कारण यो ‘डाइभिङ डक’ पनि हो। यसको वैज्ञानिक नाम मर्गेलस एल्बेलस हो। मर्गेलस जातिमा अन्य प्रजाति छैन। यद्यपि कमन गोल्डेन आई, लङ–टेल डक, कमन मर्गान्गर आदि यसका निकट प्रजाति हुन्। यीमध्ये नेपालमा कमन गोल्डेन आई मात्र आइपुग्छ। अन्य पश्चिम यूरोप र अमेरिकामा पाइन्छन्।
३८ देखि ४४ सेन्टिमिटरसम्म लम्बाइ हुने स्मिउका भाले र पोथी अन्य पन्छी जस्तै फरक रङ्गका हुन्छन्। भाले निक्खर सेतो आवरणमा आँखादेखि ठुँडोसम्म दुवैतिर निक्खर कालो देखिंदो रहेछ। गर्धनमुनिबाट केही सेन्टिमिटर फरकमा दुई वटा काला धर्सा छातीतर्फ चुस्स गएको देखिन्छ। टाउकामा सेतो जुरो र आँखा पछाडि कालो धर्सा कन्चटतिर बढेर दुवैतिर कालो जुल्ठो जस्तो आकृति टाउको पछाडिसम्म देखिन्छ। पखेटामा कालो भाग पनि हुन्छ।
पोथी स्मिउको ठुँडोदेखि माथि आँखामुनि घाँटीको आधा हिस्सा बाहेक खैरो हुन्छ। घाँटी र च्यापु पछाडिसम्म सेतो हुन्छ। शरीर हल्का खैरो र खरानी रङ्गको देखिएको छ। यसको रूपरङ्ग निकै हदसम्म पोथी कमन गोल्डेन आईसँग मिल्छ। तर, स्मिउको आँखा कालो हुन्छ। यसो त कमन पोचार्ड जस्तो पनि देखिन्छ। भाले कमन पोचार्डको आँखा गुलाबी र टाउको अलि गोलाकार हुन्छ। पोथी कमन पोचार्डको आँखा कालै हुन्छ।
दुर्लभ प्रजाति
विश्व प्रकृति संरक्षण संघ (आईयूसीएन)ले विश्वभरिका अस्तित्व सङ्कटमा परेका जैविक प्रजातिको विवरण सहितको जानकारी प्रकाशन गर्ने गरेको छ। जसमा ती प्रजातिलाई विवरण लोप भएको, अति सङ्कटापन्न, सङ्कटापन्न, लोपोन्मुख, खतरा नजिक, कम ध्यान दिइएको, तथ्याङ्क नभेटिएको र जानकारी नलिइएको गरी आठ श्रेणीमा छुट्याइएको छ।
आईयूसीएनले स्मिउलाई ‘कम ध्यान दिइएको’ श्रेणीमा राखेको छ। यसको अर्थ यो खतराको नजिक पुगिसकेको छैन। यद्यपि यो अन्य आम प्रजाति जस्तो भने होइन। यसको सङ्ख्या संसारभर सीमित नै छ। यूरोपमा १८–३५ हजार सङ्ख्यामा स्मिउ रहेको बर्डलाइफ इन्टरनेशनलबाट सन् २०१५ प्रकाशित एक अभिलेखमा उल्लेख छ। यो बढीजसो साइबेरियातिर रहने पन्छी हो।
स्मिउ साइबेरियाबाट हिउँदमा यूरोप अनि पूर्वी र दक्षिणपूर्वी एशियामा बसाइँ सर्छ। दक्षिणएशियामा भने विरलै आइपुग्छ। टौदहमा देखिएको स्मिउ अन्य प्रजातिका हाँससँग मिसिएर आएको हो। पोहोर साल पनि एउटै मात्र टाइगा बिनगुज खोया हाँस र चखेवाको झुन्डमा मिसिएर कोशीटप्पु पुगेको थियो।
टौदहमा देखिएको पोथी स्मिउ निम्न दुई कारणबाट त्यहाँ आइपुगेको हुनुपर्छ। पहिलो– यसले साइबेरियाबाट यूरोप वा दक्षिणपूर्व एशियातर्फ लागेको आफ्नो झुन्डमा मिसिन पाएन, शारीरिक कठिनाइ वा अन्य केही कारणले। त्यसपछि मध्य नेपाल आउने कमन टिल, कमन पोचार्ड, फेरुगिनस डकसँग मिसिएर यता आइपुग्यो।
दोस्रो– यो भारततिर उडान भरिरहेको झुन्डमा रहँदा शारीरिक समस्या, भोक वा चिलको आक्रमणका कारण बाटो बिराएर यता आइपुगेको हुनुपर्छ। यसो हो भने स्मिउ यहाँ केही दिन विश्राम लिई थप उडानका निम्ति शक्ति सञ्चय गरिरहेको छ। स्मिउले चाँडै टौदह छाडे वा हिउँदभरि यतै रहे, यो के कारणले यता आइपुग्यो भन्नेबारे अलि भरपर्दो अनुमान गर्न सकिन्छ।