पोखराको अल्ट्रालाइट र पाराग्लाइडिङ कहाँ सार्ने?
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पाराग्लाइडिङ र अल्ट्रालाइट बन्द गर्नुपर्नेछ। तर, सरोकारवाला स्थानान्तरणका विषयमा एकमत हुन नसक्दा व्यवसायी अन्योलमा छन्।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक वर्षभित्र सञ्चालन हुने गरी निर्माणको काम भइरहेको छ। करीब ८८ प्रतिशत काम सकिएको विमानस्थलबाट त्यसअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान गर्ने जनाएको छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने खुशीसँगै पोखराको साहसिक खेल पर्यटनका रूपमा चर्चित पाराग्लाइडिङ र अल्ट्रालाइटको भविष्य भने अन्योलमा परेकाे छ।
पाराग्लाइडिङ उडान हुँदै आएको पोखराको सराङकोट क्षेत्र एअर स्पेश (हवाई उडान परिधि)भित्र पर्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एअर स्पेश लम्बाइ झण्डै २६ किलोमिटर र चौडाइ ६ किलोमिटर रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार, पाराग्लाइडिङ गतिविधि हुँदै आएको क्षेत्रको दूरी यहीभित्र पर्छ। त्यस कारण अहिलेकै स्थानबाट पाराग्लाइडिङ र पोखराको आकाशमा अल्ट्रालाइट सञ्चालन गर्न नसकिने प्राधिकरणकाे निष्कर्ष छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्ण पोखराबाट पाराग्लाइडिङ स्थानान्तरणको विकल्प नरहेको बताउँछन्। “हवाई सुरक्षाको मापदण्डले नै एअर स्पेशभित्र अन्य गतिविधि गर्न बन्देज लगाएको छ,” उनी भन्छन्, “त्यस कारण पोखराका हवाई खेल गतिविधि एअर स्पेश बाहिरको दूरीमा सार्नुको विकल्प छैन।” उनी पर्यटन व्यवसायीहरूलाई नजिकको गन्तव्य पहिचान गरेर सार्न सुझाव दिइएको बताउँछन्।
सरकारले हवाई मापदण्ड, सुरक्षा लगायत कारण पाराग्लाइडिङ र अल्ट्रालाइट स्थानान्तरण गर्नैपर्ने बताए पनि व्यवसायीहरू भने यसमा असहमत छन्। उनीहरू हवाई उडानलाई बाधा नपुग्ने गरी यथास्थानमै सञ्चालन गर्न पाउनुपर्ने बताउँछन्।
सरकारले हवाई मापदण्ड, सुरक्षा लगायत कारण पाराग्लाइडिङ र अल्ट्रालाइट स्थानान्तरण गर्नैपर्ने बताए पनि व्यवसायीहरू भने यसमा असहमत छन्। उनीहरू हवाई उडानलाई बाधा नपुग्ने गरी यथास्थानमै सञ्चालन गर्न पाउनुपर्ने बताउँछन्।
पोखराका पाराग्लाइडिङ व्यवसायी एवं नेपाल हवाई खेलकूद संस्थाका महासचिव बलराम आचार्य सरकारी निकायसँग यसबारे पटक पटक छलफल भए पनि यकिन निर्णय हुन नसकेको बताउँछन्। “प्राधिकरणको टीमसँग भएको छलफलमा यही अवस्थामा अल्ट्रालाइट र पाराग्लाइडिङ सञ्चालन गर्न नसकिने निष्कर्ष निस्केको छ,” उनी भन्छन्, “तर, अब कसरी अगाडि बढाउने भन्ने निर्णय चाहिं भएको छैन।” समय व्यवस्थापन गरेर दिनमा, विशेष गरी बिहान वा अपराह्नको २ घण्टा जति आफूहरूलाई दिनुपर्ने माग राखेको आचार्य बताउँछन्।
स्थानान्तरणको विकल्प छैन
पोखराका पर्यटन व्यवसायीहरूले अन्तर्राष्ट्रिय उडान शुरू भएसँगै अल्ट्रालाइट र पाराग्लाइडिङ उडानको निश्चित समय तोकिदिनुपर्ने माग राख्दै आएका छन्। पोखराबाट नजिकको ठाउँमा स्थानान्तरण हुँदा भइरहेको व्यवसाय चौपट हुने उनीहरूको बुझाइ छ। दिनमा थोरै समय अन्तर्राष्ट्रिय उडान नगर्ने र सो समय पाराग्लाइडिङ वा अल्ट्रालाइटलाई उपलब्ध हुने विश्वास रहेकाले विकल्पको समेत खोजी नगरिएको व्यवसायीहरूले बताउँदै आएका छन्।
तर, व्यवसायीले भने जस्तै समय व्यवस्थापन गरेर अन्तर्राष्ट्रिय विमानस्थल चलाउन भने सहज हुनेछैन। पहिलो, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को मापदण्डले एअर स्पेशभित्र विमानलाई प्रभावित पार्ने गतिविधि सञ्चालन गर्न पाइँदैन। दोस्रो, यसो गर्नु सुरक्षाका हिसाबले पनि उपयुक्त हुँदैन।
जानकारहरू पनि विमानस्थललाई असर पार्ने र हवाई उड्डयनको मापदण्डले नदिने गतिविधि सञ्चालन गर्न नहुने बताउँछन्। यसै त सुरक्षा लगायत विषयमा चासो राख्दै आठ वर्षदेखि यूरोपियन युनियनले नेपाली हवाई कम्पनीलाई कालोसूचीमा राखेको छ। यसले गर्दा यूरोपको आकाशमा नेपाली विमान उड्न पाएका छैनन्।
व्यवसायीले भने जस्तै समय व्यवस्थापन गरेर अन्तर्राष्ट्रिय विमानस्थल चलाउन भने सहज हुनेछैन। पहिलो, आईकाओको मापदण्ड अनुसार एअर स्पेशभित्र विमानलाई प्रभावित पार्ने गतिविधि सञ्चालन गर्न पाइँदैन। दोस्रो, यसो गर्नु सुरक्षाका हिसाबले पनि उपयुक्त हुँदैन।
त्यसमा झन् आईकाओको मापदण्ड बाहिरका गतिविधि सञ्चालन गर्दा थप समस्या निम्तिने पूर्वाधारविद् डा. सूर्यराज आचार्य बताउँछन्। “विमानस्थल निश्चित मापदण्ड पालना गर्दै सञ्चालन हुने क्षेत्र हो,” उनी भन्छन्, “अन्तर्राष्ट्रिय मापदण्ड र सुरक्षा दुवै हिसाबले एअर स्पेशभित्र अन्य गतिविधि सञ्चालन हुनु हुँदैन।” सम्पूर्ण मापदण्ड पालना गर्दै सञ्चालन गर्छौं भन्नुको साटो समय मिलाएर अन्य गतिविधि गर्न पाउनुपर्छ भन्ने तर्क राख्नु नै गलत भएको आचार्यको भनाइ छ।
पोखरालाई नै असर
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक १० लाख यात्रुलाई सेवा दिने लक्ष्य राखेको छ। नयाँ विमानस्थल सञ्चालनमा आएसँगै पोखरा विमानस्थलका सबै गतिविधि पनि यही स्थानान्तरण हुनेछन्। यसले पोखराको पर्यटन विकास मात्रै नभएर समग्र मुलुककै अर्थतन्त्रमा योगदान पुर्याउने कुरामा दुई मत छैन। अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक गतिविधि चलायमान बनाउने हुँदा सामाजिक र पर्यटकीय विकासमा पनि यसको भूमिका जोडिने नै छ।
त्यसका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा प्रयोग गर्ने जनाइएको छ। २.५ किलोमिटर लामो र ४५ मिटर चौडाइ भएको धावनमार्गले एअरबस ए ३२०, बोइङ ७३७–७००, बोइङ ७५७–२०० सिरिजका विमान उडान–अवतरण गराउने क्षमता राख्छ।
पोखरा विमानस्थलबाट दक्षिण र पूर्वी एशियाका मुलुकमा नियमित उडान हुनेछ। विमानस्थलको कोडिङ भइसकेपछि जुनसुकै वेला पनि अन्तर्राष्ट्रिय विमानहरूले आकस्मिक अवतरणका लागि यसलाई प्रयोग गर्न सक्छन्।
यो विमानस्थल आईकाओ, अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आएटा) र अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले तोकेको ‘फोर डी स्ट्यान्डर्ड’ मा निर्माण भइरहेको छ।
प्राविधिक रूपमा एअर स्पेशभित्र विमान बाहेकका अन्य चिजहरू रहनु हुँदैन। अर्को कुरा लामो दूरी पार गरेर आउने जहाज विविध कारणले तोकिएकै समयमा आउँछन् भन्ने निश्चित हुँदैन। मौसमको गडबडीदेखि अन्य प्राविधिक कारणले हवाई उडान तोकिएकै समयमा शुरू भएर तोकिएकै समयमा गन्तव्यमा पुग्ने यकिन हुँदैन।
प्राविधिक रूपमा एअर स्पेशभित्र विमान बाहेकका अन्य चिजहरू रहनु हुँदैन। अर्को कुरा लामो दूरी पार गरेर आउने जहाज विविध कारणले तोकिएकै समयमा आउँछन् भन्ने निश्चित हुँदैन।
यस कारण दिनको केही समय पाराग्लाडिङ वा अल्ट्रालाइटलाई दिन सकिने तर्क नै अमिल्दो भएको पूर्वाधारविद् डा. आचार्य बताउँछन्। “अन्तर्राष्ट्रिय विमानस्थल जस्तो क्षेत्र समय तोकेर सञ्चालन गर्ने प्राविधिक रूपमा नमिल्ने तर्क हो,” उनी प्रश्न गर्छन्, “पाराग्लाइडिङ छ्यापछ्याप्ती भएको समयमा हाम्रो आकाशमाथि उडिरहेको अन्तर्राष्ट्रिय विमानलाई आकस्मिक अवतरण गराउनुपर्यो भने के गर्ने?” यस्ता अमिल्दा तर्कले मुलुकको अन्तर्राष्ट्रिय छविमै असर पर्ने भएकोले पाराग्लाडिङ र अल्ट्रालाइट स्थानान्तरण गर्नैपर्ने आचार्यको भनाइ छ।
त्यसो त, पूर्वाधारविद् आचार्य पर्यटकीय शहरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु नै गलत भएको धारणा राख्छन्। “आज पाराग्लाङडिङको समस्या देखियो, भोलि ध्वनि प्रदूषणको समस्या आउनेछ,” उनी भन्छन्, “योजनाविहीन तरीकाले भएको कामको परिणाम यस्तै हुन्छ।” पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको साटो बुटवल–पोखरा फास्ट ट्रयाक बनाएको भए आर्थिक, प्राविधिक, पर्यटकीय सबै हिसाबले उपयुक्त हुने उनको भनाइ छ।
आर्थिक विकेन्द्रीकरणको अवसर
पोखरा मुलुककै चर्चित र बाह्य पर्यटकको पनि रोजाइको केन्द्र हो। पदयात्राका लागि अन्नपूर्ण क्षेत्र मुलुककै अग्रस्थानमा आउँछ। पाराग्लाइडिङ, अल्ट्रालाइट जस्ता साहसिक खेलको त पोखरा ‘ब्रान्ड’ नै भइहाल्यो। पाराग्लाइडिङ र अल्ट्रालाइट मार्फत आकाशमा उडेर आठ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण प्रथम, धवलागिरि र मनास्लु हिमालको अवलोकन गर्न पाउनु पोखराको विशेषता हो।
विदेशी र स्वदेशी पर्यटक सहित पोखरामा बर्सेनि एक लाख ५० हजारभन्दा बढीले पाराग्लाइडिङ गर्ने व्यवसायीहरूको तथ्याङ्क छ। पोखरामा ६० वटा पाराग्लाइडिङ कम्पनी, तीन अल्ट्रालाइट र एक एअर बेलुन कम्पनी दर्ता छन्। सञ्चालनमा आएको केही दिनमै कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि एअर बेलुन कम्पनी चाहिं पुनः सञ्चालनमा आउन सकेको छैन। पुरानै अवस्थामा नभए पनि पाराग्लाडिङ र अल्ट्रालाइटको व्यवसाय विस्तारै तङ्ग्रिन थालेको व्यवसायीहरू बताउँछन्। यी व्यवसायमा ३६० जना पाइलट सहित १ हजार २०० जतिले प्रत्यक्ष रोजगारी पाएका छन्।
यसरी स्थापित भइसकेको क्षेत्रबाट पर्यटकीय गतिविधिहरू स्थानान्तरण गर्दा व्यवसायमा ठूलो नोक्सानी व्यहोर्नुपर्नेमा व्यवासायीहरू सशङ्कित छन्। पोखरा पर्यटन परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ एक ठाउँमा स्थापित व्यवसायलाई अन्यत्र लैजाँदा समस्या हुने बताउँछन्। “साहसिक पर्यटन रुचाउनेले पोखरा भनेकै पाराग्लाइडिङ र अल्ट्रालाइट बुझ्ने गरेका छन्,” उनी भन्छन्, “त्यसैले यी खेल गतिविधि स्थानान्तरण गर्दा पोखरा मात्रै नभएर मुलुककै पर्यटनमा असर गर्न सक्छ।” नयाँ ठाउँमा जाँदा शून्यदेखि ‘ब्रान्डिङ’ गर्नुपर्ने र यसको असर समग्र पर्यटन क्षेत्रले व्यहोर्ने उनको भनाइ छ।
जानकारहरू पोखराका साहसिक खेल गतिविधि नजिकैको गन्तव्यमा सार्नु आर्थिक दृष्टिकोणले उपयुक्त हुने बताउँछन्। पूर्व अर्थसचिव रामेश्वर खनाल प्राविधिक रूपमा पोखराबाट सार्नैपर्ने भए एक–डेढ घण्टाको दूरीमा स्थानान्तरण गरिनुपर्ने धारणा राख्छन्। “बाग्लुङ, पर्वत, लमजुङ, म्याग्दी, गोरखा लगायत पोखरा नजिकको स्थानमा उपयुक्त हुनसक्छ,” उनी भन्छन्, “त्यो हुँदा छिमकका जिल्लाका साथै पोखराको पर्यटन र आर्थिक गतिविधि चलायमान हुन्छ।” स्थानान्तरण गर्दा पोखराबाट देखिने दृश्य र आवतजावतको लागि पूर्वाधारको उचित विकास चाहिं गर्नुपर्ने खनालको भनाइ छ।
विकल्प गोरखा वा स्याङ्जा !
पोखराबाट स्थानान्तरण गर्ने विषयमा नागरिक उड्डयन प्राधिकरण स्पष्ट रहे पनि उपयुक्त विकल्प भने दिन सकेको छैन। प्राधिकरणका प्रवक्ता कर्ण स्थानान्तरणका विषयमा प्राविधिक र स्थानीय तहसँग छलफल भइरहेको बताउँछन्। “आसपासका जिल्लामा स्थानान्तरण गर्न स्थानीय तहसँग छलफल भइरहेको छ,” उनी भन्छन्, “गोरखाको पालुङटार वा स्याङ्जाको भीरकोट सबैभन्दा उपयुक्त हुन सक्छ।” यसबारे प्राधिकरणले सबैका सुझावका आधारमा छिटै निर्णय लिने उनको भनाइ छ।
पोखराबाट पालुङटारको दूरी ८० किलोमिटर छ भने भीरकोट ५४ किलोमिटरको दूरीमा पर्छ। जानकारहरू यो दुवै दूरी त्यति टाढा नभए पनि आउने–जाने सडक लगायत पूर्वाधार भने चुस्त हुनुपर्ने बताउँछन्।
पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेल अल्ट्रालाइट र पाराग्लाइडिङ सञ्चालनका लागि पालुङटार विमानस्थल उपयुक्त भएको बताउँछन्। “प्राविधिक र भौगोलिक दुवै रूपमा यो उपयुक्त देखिन्छ, खेर गएको विमानस्थलको उपयोग पनि हुन्छ,” इन्जिनियर समेत रहेका कँडेल भन्छन्, “पोखराबाट देखिने सबै हिमशृङ्खला पालुङटारबाट पनि देखिन्छ।” पाराग्लाइडिङ र अल्ट्रालाइटका गतिविधि यहाँ सार्ने विषयमा पोखराका पर्यटन व्यवसायीसँग छलफल भइरहेको उनको भनाइ छ।
स्याङ्जाको भीरकोटमा भने अहिले पनि पाराग्लाडिङ सञ्चालन भइरहेको छ। भीरकोटको मैदानमा दुई पटक अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता समेत आयोजना भइसकेको छ। यहाँबाट पाराग्लाइडिङमा ३० किलोमिटर आसपासको दूरी तय गर्न सकिने प्राविधिक अध्ययन पनि भइसकेको छ।
भीरकोट नगरपालिकाका मेयर छायाराम खनाल हवाई उडानको क्षेत्र नपर्ने र जुन मैदानबाट उडेको हो त्यहीं अवतरण गर्न सक्ने भएकोले भीरकोटमा पाराग्लाइडिङ उपयुक्त भएको बताउँछन्। “पोखराका व्यवसायी पनि अन्यत्रभन्दा यहाँ सार्न सकारात्मक हुनुहुन्छ,” उनी भन्छन्, “पूर्वाधार बनाउनुपर्ने र सञ्चालन पनि भइरहेकाले पोखराको विकल्प यहाँ मात्रै हुन्छ।” मेयर खनाल पोखराका व्यवसायी तयार भए आवश्यक सबै पूर्वाधारमा नगरपालिका सहयोग गर्न तयार भएको बताउँछन्।