कसरी व्यवस्थापन गरिएला पोखरा विमानस्थल?
छेउमै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए लगत्तै देशकै व्यस्तमध्ये पर्ने पोखरा विमानस्थल सुनसान हुनेछ। उक्त विमानस्थलको जग्गा र भौतिक संरचना कसरी उपयोग गर्ने, सरोकारवाला निकायहरू अनिर्णीत छन्।
निर्माण कम्पनीले तोकिएकै म्यादमा काम सके अबको आठ महीनापछि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल तयार हुनेछ। २२ अर्ब रुपैयाँको लगानीमा आगामी असार २६ को मिति ताकेर निर्माणलाई तीव्रता दिएको चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले ८५ प्रतिशत काम पूरा गरिसकेको छ।
अघिल्लो सम्झौता अनुसार, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक वर्षअघि नै बनिसक्नुपर्थ्याे । तर, कोरोना महामारी लगायत कारणले काम रोकिएपछि एक वर्ष थपिएको हो।
थपिएको समयमा काम सकिए विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न अब लगभग एक वर्ष जति लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको बुझाइ छ। आन्तरिक उडान भने त्यसअघि नै सञ्चालन गर्ने तयारी छ।
यससँगै चासो बढेको छ- नयाँ विमानस्थल सञ्चालनमा आएपछि पोखराको पुरानो विमानस्थल चाहिं के हुन्छ? त्यसैले पोखरा विमानस्थल कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालय त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने गृहकार्यमा जुटेका छन्।
विमानस्थल स्थानान्तरण तथा सञ्चालन तयारी गर्न गठित कार्यदलका संयोजक समेत रहेका पोखरा विमानस्थल प्रमुख विक्रमराज गौतम छलफल निष्कर्ष नजिक पुगेको बताउँछन्। “हामीले निर्णय गर्न नसके पनि यसबारे प्राधिकरणमा सुझाव पठाएका छौं,” उनी भन्छन्, “प्राधिकरणबाट जे निर्णय आउँछ, त्यो हामीले कार्यान्वयन गर्ने हो।” पुरानो विमानस्थल उड्डयन सम्बन्धी काममै प्रयोग हुन सक्ने गौतमको भनाइ छ।
विगतका दृष्टान्तले खुला स्थान देख्नासाथ भ्यू टावर बनाउने, प्लटिङ गरी बेच्ने, शपिङ सेन्टर जस्ता कङ्क्रिटका संरचना बनाउनमै हाम्रा जनप्रतिनिधि र नीति निर्माताको ध्यान जाने गरेको देखाउँछन्।
पर्यटन मन्त्रालयका सहसचिव टोकराज पाण्डे पनि पोखरा विमानस्थलको प्रयोगबारे निर्णय भइनसकेको बताउँछन्। “सरोकारवालासँग केही छलफल चले पनि निष्कर्षमा पुगिसकेका छैनौं,” उनी भन्छन्, “शायद छिटै यसबारे निर्णय होला।” विमानस्थललाई मन्त्रालय मातहतकै कुनै काममा लगाउन सकिने पाण्डेको बुझाइ छ।
सम्बद्ध मन्त्रालय र विमानस्थल सञ्चालन तथा अनुगमनको जिम्मेवारी पाएको नागरिक उड्डयन प्राधिकरणले चाहिं स्थानीय बासिन्दा, जनप्रतिनिधि र पोखराका उद्योगी–व्यवसायीसँग यसबारे छलफल गरेका छैनन्।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला विमानस्थलबारे आफूहरूसँग कुनै छलफल नभएको बताउँछन्। “पुरानो विमानस्थलको उपयोगबारे उद्योगी, व्यवसायी वा स्थानीय बासिन्दासँग छलफल भएको मलाई जानकारी छैन,” उनी भन्छन्, “सरकारी निर्णय नै मान्य भए पनि सरोकारवालासँग पर्याप्त छलफल भने गर्नुपर्छ।” पोखरा विमानस्थललाई यही स्वरूपमा राख्न वा खुला स्थानमा रूपान्तरण गर्न उनको माग छ।
‘भौतिक विकास सोच्नै हुँदैन’
देशभर ५४ विमानस्थल छन्। यीमध्ये ठप्प जस्तै रहेका १९ विमानस्थल प्रायः गौचरनमा परिणत भएका छन्। तारबार समेत छैन। बन्द विमानस्थलका जग्गा लगायत अन्य भौतिक सामग्रीको हरहिसाबमा नेपाल नागरिक उड्डयन प्राधिकरण अद्यावधिक छैन।
महाप्रबन्धक राजकुमार क्षेत्री जग्गाको विवरण भए पनि सबै कुराको हिसाब हरेक वर्ष नराखिने बताउँछन्। उनी भन्छन्, “बन्द विमानस्थलका अन्य आवश्यक पूर्वाधार र कर्मचारी चाहिं नजिकको विमानस्थलमा स्थानान्तरण गरिएको जानकारी छ।” विमानस्थलका जग्गा कब्जा भएको, अतिक्रमणमा परेको वा बिचौलियाको हातमा नपुगेको उनको दाबी छ।
क्षेत्री पोखराको पुरानो विमानस्थललाई अन्य बन्द विमानस्थल जस्तो उपयोगहीन हुन नदिने बताउँछन्। “शहरको बीचमा रहेको विमानस्थलको जग्गा खेर जाँदैन,” उनी भन्छन्, “अध्ययनपछि त्यसलाई सार्वजनिक हितमै प्रयोग गर्न सकिन्छ।”
पोखरा विमानस्थल मुलुककै व्यस्तमध्ये पर्छ। गत वर्षको तथ्याङ्क अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि व्यस्त मानिने पोखराबाट दैनिक सरदर ३१ उडान हुन्छन्। यसलाई मुक्तिनाथ, जोमसोम तथा अन्नपूर्ण ट्रेकिङ रुटको ‘गेटवे’ का रूपमा पनि चिनिन्छ। पोखरालाई केन्द्र बनाएर भैरहवा, नेपालगञ्ज, सिमरा लगायत स्थानमा क्षेत्रीय उडान समेत भइरहेको छ।
तर, केही महीनापछि नै सुनसान हुने अवस्थामा रहेको यो विमानस्थलका संरचनाको उपयोगिताबारे निर्णय नहुँदा अन्य स्थानका सरकारी सम्पत्ति जस्तै दुरुपयोग नहोला भन्न सकिन्न। विगतका दृष्टान्तले खुला स्थान देख्नासाथ भ्यू टावर बनाउने, प्लटिङ गरी बेच्ने, शपिङ सेन्टर जस्ता कङ्क्रिटका संरचना बनाउनमै हाम्रा जनप्रतिनिधि र नीति निर्माताको ध्यान जाने गरेको देखाउँछन्। त्यस्ता स्थानलाई खुलै छाडेर शहरबासीलाई ‘सास फेर्ने’ ठाउँ दिनतर्फ उनीहरूको अग्रसरता देखिंदैन।
पूर्वाधारविद् सूर्यराज आचार्य पोखरा विमानस्थल क्षेत्रलाई खुला राखेर शहरको सौन्दर्य बढाउने अवसर आएको बताउँछन्। “त्यो क्षेत्रमा भौतिक विकासका बारेमा सोच्नै हुँदैन,” उनी भन्छन्, “व्यावसायिक प्रयोगभन्दा बाहिर रहेर खुला सार्वजनिक पार्क बनाउनु नै उपयुक्त हुन्छ, शहर भनेको घरैघर मात्र होइन, खुला स्थान र व्यवस्थित उद्यान पनि हो।”
पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङ सर्वपक्षीय छलफलबाट आउने निष्कर्षका आधारमा पुरानो विमानस्थल उपयोग गरिनुपर्ने बताउँछिन्। भन्छिन्, “सरकारी सम्पत्ति भए पनि यसको उपयोग स्थानीय बासिन्दा र यहाँका व्यवसायीको हितमा गरिनुपर्छ।” खुला स्थानको महत्त्वबारे आफूहरू जानकार रहेकाले भौतिक संरचना निर्माण गर्न भने नदिइने उनले बताइन्।
पूर्वाधारविद् सूर्यराज आचार्य पोखरा विमानस्थल क्षेत्रलाई खुला राखेर शहरको सौन्दर्य बढाउने अवसर आएको बताउँछन्। “त्यो क्षेत्रमा भौतिक विकासका बारेमा सोच्नै हुँदैन,” उनी भन्छन्, “व्यावसायिक प्रयोगभन्दा बाहिर रहेर खुला सार्वजनिक पार्क बनाउनु नै उपयुक्त हुन्छ, शहर भनेको घरैघर मात्र होइन, खुला स्थान र व्यवस्थित उद्यान पनि हो।” खुला स्थान पारिवारिक, सामाजिक घुलन र आत्मीयताका लागि पनि महत्त्वपूर्ण रहेको आचार्यको भनाइ छ।
प्राधिकरणका महाप्रबन्धक क्षेत्री चाहिं पोखरा जस्तो शहरको बीचमा रहेको विमानस्थलको प्रयोग पर्यटकीय क्षेत्रमै गरिने बताउँछन्। “मैले मात्रै भन्नुभन्दा पनि सबैको सल्लाह र छलफल गरेर निष्कर्षमा पुग्छौं,” उनी भन्छन्, “यसलाई अन्यभन्दा उड्डयन वा पर्यटकीय गन्तव्यकै रूपमा प्रयोग गर्ने हाम्रो साेच छ।” क्षेत्रीय विमानस्थलमा चाप बढ्दै गए यसलाई पुनः आन्तरिक उडानमा प्रयोग गर्न सकिने पनि उनको बुझाइ छ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कोइराला पनि पोखरा विमानस्थललाई पर्यटकीय गन्तव्यकै रूपमा अगाडि बढाउनुपर्ने धारणा राख्छन्। “संस्थागत रूपमा निर्णय गरिसकेका छैनौं,” उनी भन्छन्, “तर, यसको उपयोग खुला स्थान वा आन्तरिक विमानस्थलकै रूपमा गरिनुपर्छ।” पोखरामा खुला स्थान मासिंदै गएकाले पनि यसको थप महत्त्व बढेको कोइरालाको भनाइ छ।