हारेर पनि शेखर कोइरालाले आर्जेको शक्ति
सभापति पदमा पराजयका बावजूद नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट शेखर कोइरालाको राजनीतिक उदयले उनी संस्थापन इतर र कोइराला विरासत दुवैका मूल खाँबो बनेका छन्।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा निर्वाचन निम्ति मनोनयन दर्ताको अघिल्लो दिनसम्म सभापतिका प्रत्याशी शेखर कोइरालाको पक्षमा संस्थापन इतरबाट सहमति जुट्न नसकेपछि प्रकाशमान सिंह पनि मैदानमा उत्रिए। शेखर र प्रकाशमानबीच व्यक्तित्वको टकराव रहे पनि उनीहरूले निर्वाचनमा उठाएका मूल मुद्दा एउटै थियो, कांग्रेसको नेतृत्व परिवर्तन र विधिको शासन। यस्तै, पार्टी सभापति शेरबहादुर देउवासँग विद्रोह गर्दै सभापतिको प्रत्याशी बनेका विमलेन्द्र निधिको मुद्दा पनि उही थियो, नेतृत्व परिवर्तन। लाग्थ्यो, प्रत्याशी अलग भए पनि मुद्दा एकै भएका कारण ऐनमौकामा यी तीन मिल्नेछन् र पार्टीलाई कर्पोरेट हाउस झैं चलाउँदै आएका देउवाको युग अन्त्य गरिदिनेछन्।
नभन्दै सभापतिको चुनावको परिणाम सोचे जस्तै आयो। देउवाले सर्वाधिक भोट त ल्याए, तर विधान बमोजिम जितका लागि ५० प्रतिशत कटाउन सकेनन्। शेखर, प्रकाशमान र विमलेन्द्रको कुल भोट परिवर्तनको पक्षमा देखियो। तर, राजनीति सीधा रेखामा बग्दैन। सतहमा जे देखिएको थियो, भित्री प्रवाह ठीक उल्टो थियो। सत्ताका खाइखेलाडी प्रकाशमान र विमलेन्द्रले देउवालाई समर्थन मात्र गरेनन्, मतदानस्थल पुगेर उनका निम्ति भोट समेत मागे।
कहिल्यै लाभको पदमा नबसेका, सत्तासँग कुनै लेनदेन नगरेका, आफ्नै परिवारको कोपभाजनमा परेका र सबभन्दा महत्त्वपूर्ण चाहिं नेतृत्व परिवर्तनको रट लगाउँदै आएका प्रकाशमान र विमलेन्द्रबाट चुनावी चक्रव्यूहको अन्तिम घेरामा धोका पाएका शेखरले पाएको यो मत परिवर्तन र विधिको शासन पक्षधर तमाम कांग्रेसजनको मूल पूँजी हो।
संस्थापन इतर समूहमा प्रकाशमानभन्दा अघि शेखरलाई उनका भाइ शशांकले टक्कर दिंदै आएका थिए। तर, राजनीतिमा नगण्य प्रभावका कारण शशांक अन्तिममा निर्वाचनमा होमिएनन्। तर, निर्वाचन निम्ति समूहगत प्यानल निर्माणदेखि पुन:निर्वाचनसम्म उनी मौन बसिदिए। शशांक देउवा प्यानलमा थिए वा दाजु शेखरतिर, यो कुरा स्वयं शंशाकलाई थाहा होला।
उता देउवा विरुद्ध खुद्रा मसिना कुरामा धावा बोल्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवामाथि अन्तिम प्रहारको मौका आइपर्दा रणमैदान छाडिदिए। उनले संस्थापन इतर समूहका मुख्य प्रतिस्पर्धी शेखरका निम्ति मतको याचना गर्नु त परै जाओस्, मतदानसम्म गरेनन्। संस्थापन इतरबाट साझा उम्मेदवार बन्न नदिएका कारण पौडेलले हदैसम्म चित्त दुखाए। कनिष्ठ उम्मेदवारद्वय शेखर र प्रकाशमानलाई मैदान छाडेर बाहिरिनुलाई धेरैले 'रामचन्द्रको वनवास' का रूपमा अर्थ्याए। देउवाका सदाबहार प्रतिपक्षी उनका निम्ति देउवालाई नै समर्थन गर्नु मृत्युपत्रमा हस्ताक्षरतुल्य थियो। उता आफूलाई आँसु चुहाउन बाध्य पार्ने शेखर र प्रकाशमानलाई समर्थन गर्न उनको चित्तले दिएन। महाधिवेशन परिघटनामा पौडेलको 'चिकेन हार्टेडनेस' प्रष्ट देखियो।
चुनावमा शेखरले जित हात पार्न सकेनन्, उनी देउवा (२७३३) भन्दा झण्डै नौ सय मतले पछाडि परे। तर, उनका निम्ति खसेको १८५५ अर्थात् ४० प्रतिशत भोट उनको पौरखको कमाइ हो। कहिल्यै लाभको पदमा नबसेका, सत्तासँग कुनै लेनदेन नगरेका, आफ्नै परिवारको कोपभाजनमा परेका र सबभन्दा महत्त्वपूर्ण चाहिं नेतृत्व परिवर्तनको रट लगाउँदै आएका प्रकाशमान र विमलेन्द्रबाट चुनावी चक्रव्यूहको अन्तिम घेरामा धोका पाएका शेखरले पाएको यो मत परिवर्तन र विधिको शासन पक्षधर तमाम कांग्रेसजनको मूल पूँजी हो। आशा गरौं, यसलाई भविष्यमा शेखर वा अन्य कोही स्वप्नदर्शी नेताले कांग्रेसजनमै लगानी गरेर बढाइदिनेछन्।
पराजयका बावजूद शेखर संस्थापन इतर र कोइराला विरासत दुवैका मूल खाँबो बनेका छन्। तेह्रौं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित बीपीपुत्र शशांकको महामन्त्रीकाल निष्प्रभावी त रह्यो नै, चौधौं महाधिवेशनमा खेलेको भूमिकाले उनलाई राजनीतिमा असान्दर्भिक प्रमाणित गरिदिएको छ। गिरिजाप्रसाद कोइराला पुत्री सुजाताको विगत, वर्तमान र आगतबारे टिप्पणी गर्नु त झनै सान्दर्भिक देखिंदैन।
प्रकाशमान र विमलेन्द्रलाई विरासतसँग जोड्नु पनि अहिले एक प्रकारले धृष्टता हुन्छ। त्याग, निष्ठा र विचारको राजनीतिका पर्याय स्वर्गीय गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरूले सत्तासँग जुन खालको विनिमय गरेका छन्, त्यसको मूल्य उनीहरूले आउने दिनमा पक्कै चुकाउनुपर्नेछ। देउवालाई सभापतिमा जिताउन भन्दा पनि राजनीतिक रूपमा आफूले 'कनिष्ठ' ठान्दै आएका शेखरलाई रोक्नु उनीहरूको मुख्य अभीष्ट देखियो।
कांग्रेसका बाँकी दुई नेतापुत्र प्रकाशमान र विमलेन्द्रलाई विरासतसँग जोड्नु पनि अहिले एक प्रकारले धृष्टता हुन्छ। त्याग, निष्ठा र विचारको राजनीतिका पर्याय स्वर्गीय गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरूले सत्तासँग जुन खालको विनिमय गरेका छन्, त्यसको मूल्य उनीहरूले आउने दिनमा पक्कै चुकाउनुपर्नेछ। देउवालाई सभापतिमा जिताउन भन्दा पनि राजनीतिक रूपमा आफूले 'कनिष्ठ' ठान्दै आएका शेखरलाई रोक्नु उनीहरूको मुख्य अभीष्ट देखियो। किनकि, यदि शेखरको आगमन नरुचाएका भए दोस्रो चरणका लागि उनीहरू मौन पनि बसिदिन सक्थे। तर, शेखरको सम्भावित आगमनबाट त्रस्त उनीहरूले देउवाका निम्ति समर्थन मात्र जनाएनन्, भोटको याचना गर्दै मतदानस्थलमा देउवासँग कुम मिलाउँदै उभिए। यति गर्दा पनि शेखरले उनीहरूको डेढ सयभन्दा बढी मत आफ्नो पोल्टामा पार्न सफल भए।
पहिलो चरणको निर्वाचन परिणामले प्रकाशमान र विमलेन्द्रलाई वास्तविक हैसियत देखाइदिएको छ। हुन त प्रकाशमानको हैसियत बागमती प्रदेश निर्वाचनमा नदेखिएको होइन। बाह्रौं महाधिवेशनबाट खुला तर्फबाट महामन्त्रीमा निर्वाचित उनी यतिन्जेल राष्ट्रिय र अझ अन्तर्राष्ट्रिय नेतामा स्थापित भइसक्नुपर्ने हो। तर, यथार्थ चाहिं, उनी स्थानीय नेताभन्दा उकालो लाग्न सकेका छैनन्। उता, गृहजिल्लामा आगन्तुक प्रतिस्पर्धीसँग पराजित विमलेन्द्रको वास्तविक हैसियत त प्रदेश २ का जिल्ला र क्षेत्रीय निर्वाचनले देखाइसकेका छन्।
सुन्नमा आए अनुसार, देउवाले प्रकाशमानलाई उपप्रधानमन्त्री र दुवैलाई आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने वचन दिएका छन्। यदि कारण यही हो भने, यसअघि नै उपप्रधानमन्त्री भइसकेका प्रकाशमानलाई यस्तो पदसँग निष्ठा विनिमय गर्नुको कारण के हो? रह्यो कुरा सभापतिको उम्मेदवारको, पन्ध्रौं महाधिवेशनसम्म देशको राजनीतिको दिशा र दशा अर्कै भइसकेको हुनेछ। मैदानमा नयाँ नयाँ युवा पङ्क्ति र मतदाताहरू देखिनेछन्। उनीहरूले सत्ता लेनदेनका पर्याय बनेका देउवाका उत्तराधिकारीलाई किमार्थ पत्याउनेछैनन्। पार्टीको अधिवेशन त परै जाओस्, आम मतदाता समेत यिनीहरूप्रति निर्मम हुनेछन्। कथनी र करनीमा तालमेल नभएका स्वार्थी र कपटी नेताको विकल्प जनताले खोज्नेछन्। किनकि, माहुरी र झिङ्गा दुवै चिनीमा बस्छन्। माहुरी चिनीबाट उडेर फेरि फूलमा बस्न जान्छ, तर झिङ्गा सीधै नालातिर लाग्छ।