कांग्रेसमा सकिएकै हो रामचन्द्र पौडेलको भूमिका?
पार्टी सभापति बन्ने योजनामा आफ्नै समूहका नेताहरू बाधक बनेपछि निर्वाचन प्रक्रियाबाट अलग बसेका रामचन्द्र पौडेलको कांग्रेसभित्र भूमिका टुंगिएको विश्लेषण हुन थालेको छ।
७७ वर्षीय रामचन्द्र पौडेल नेपाली कांग्रेसभित्र निष्ठा, इमान र लोकतन्त्रको वकालत गर्ने नेता मानिन्छन्। तर, १४औं महाधिवेशनमा आइपुग्दा आन्तरिक परिस्थिति उनलाई पार्टी राजनीतिबाटै अलग गराउने दिशामा अघि बढेको छ।
पौडेल समकालीन कांग्रेस नेताहरूमा सबैभन्दा सिनियरमध्ये पर्छन्, उमेर र राजनीति दुवै हिसाबले। एकपटक भए पनि सभापति बन्ने आकांक्षा बोकेका उनी आफ्नै टीमका नेताले सहयोग नगरेपछि सभापतिको दौडबाट अलग्गिएका छन्। २५ मंसीरमा पौडेलले विज्ञप्ति प्रकाशित गरेर १४औं महाधिवेशनमा आफूलाई अलग राखेको घोषणा गरे।
यो घोषणामा आफ्नै समूहप्रति उनको गहिरो असन्तुष्टिसमेत झल्किन्छ। “मैले कांग्रेसलाई जुन रूपमा बुझ्दै आएको थिएँ, त्यसमा विचलन आएको अनुभव गर्नुपरेको छ,” पौडेलले भनेका छन्, “पार्टी सत्ताको भर्याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बीपी, गणेशमान र किशुनजीले जुन आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेछ।”
पहिले पनि पौडेल १७ पटकसम्म प्रधानमन्त्रीको चुनाव लडेर पराजित भए। पार्टीको १३औं महाधिवेशनमा पनि शेरबहादुर देउवासँग हारे। सभापति बनेर कांग्रेसको इतिहासमा दर्ज हुने उनको योजनामा अहिले फेरि ‘ब्रेक’ लागेको छ।
विगतमा पनि कांग्रेसभित्र मूल्यमान्यता र आदर्शको राजनीति गर्ने नेताहरू अधिवेशनपछि मूलधारको राजनीतिबाट अलग्गिनुपरेका दृष्टान्त छन्। गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सीके प्रसाई, महेन्द्रनारायण निधि, भीमबहादुर तामाङ, महेश्वरप्रसाद सिंहजस्ता पूर्ववर्तीहरूले भोगेको नियतिमा १४औं महाधिवेशनबाट पौडेलको पनि नाम थपिएको हो।
विगतमा कांग्रेसबाट राजनीति गरेका जयप्रकाश गुप्ता अब पौडेल कांग्रेसको मूल राजनीतिबाट बाहिरिएको बताउँछन्। “विगतमा कतिपय मूर्धन्य नेताहरू जीवनको अन्तिम समयमा नेपाली कांग्रेसलाई नेतृत्व दिन सक्ने अवस्थामा बाहिरिनुपरेको नियति रामचन्द्र पौडेलले पनि भोग्नु पर्यो,” उनी भन्छन्, “अब उहाँ कांग्रेस नेताका रूपमा सम्मानित त रहनुहोला तर पार्टीभित्रको राजनीतिमा भूमिका रहने देखिन्न।”
टिम मिलाएर आफू संस्थापन इतर समूहबाट साझा उम्मेदवार बन्न सक्ने विश्वासमा थिए, पौडेल। तर, अन्तिम समयसम्म संस्थापन इतर पक्षकै प्रकाशमान सिंह र डा. शेखर कोइरालाले सभापतिको दाबी नछाडेपछि पौडेल पछि हट्न बाध्य भए। गुप्ताका भनाइमा कांग्रेसमा त्याग र वरीयताका हिसाबले जिम्मेवारी दिने परम्परा अन्त्य भएको र त्यसैको मारमा पौडेल परेका हुन्।
कोइराला र सिंहसँगै पौडेलले पनि सभापतिमा उम्मेदवारी दर्ता गराएर पार्टीभित्रको आफ्नो छविका कारण यी दुईको भन्दा बढी मत ल्याउने सम्भावना हुन्थ्यो। तर संस्थापन इतरबाटै यसरी फुटेर उठ्दा विजयी हुने सम्भावना हुँदैनथ्यो। त्यसको प्रत्यक्ष फाइदा संस्थापनतर्फका शेरबहादुर देउवालाई नै हुन्थ्यो। त्यसैले देउवालाई विजयी गराउन भूमिका निर्वाह गरेको आरोपबाट बच्न पनि उनले चुनाव नलड्ने निर्णय गरे।
“संस्थापनइतर आपसमा विभाजित भइसकेपछि शेरबहादुर देउवाको जित्ने सम्भावना देखेर रामचन्द्रले त्यो दोष आफ्नो टाउकोमा लिन चाहनुभएन जस्तो देखिन्छ,” गुप्ता भन्छन्।
समर्थन कसलाई?
२७ मंसीर बिहान बोहराटार पुगेका सभापतिका उम्मेदवार डा. कोइरालालाई पौडेलले ‘जितको शुभकामना’ दिएर पठाए। सभापतिका पाँच उम्मेदवारमध्ये कसैलाई पनि आफ्नो समर्थन रहेको खुलाएनन्। डा. कोइरालाले भने २६ मंसीर साँझको पत्रकार सम्मेलनमा आफ्नो समूहलाई पौडेल र डा. शशांक कोइरालाको आर्शिवाद रहेको दाबी गरेका थिए।
चुनावी प्रक्रियाबाट बाहिरिएको जानकारी दिन जारी विज्ञप्तिमा पनि उनले कसलाई सघाउने भन्ने खुलाएका छैनन्। विज्ञप्तिमा यति मात्र भनेका छन् “साथीहरूले विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनुहुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दछु ।”
उनी पक्षका धेरै नेता–कार्यकर्ता भने कोइरालाको पक्षमा खुलेर लागेका छन्। भोलि देउवा विजयी भए त्यसको दोष पौडेलको मौनतालाई पनि लाग्ने भएकाले उनी अन्तिममा कोइरालाकै पक्षमा खुल्ने निकटतम कार्यकर्ताहरू बताउँछन्।
पौडेलका कारण देउवा बलियो!
अहिले देउवा प्रधानमन्त्रीको कुर्सीमा हुँदैनथे भने सभापतिमा उनको यति बलियो दाबेदारी नहुन सक्थ्यो। तर, देउवालाई त्यो ठाउँमा पुर्याउन पौडेलकै भूमिका छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उनको विकल्पमा देउवालाई जबर्जस्ती प्रधानमन्त्रीमा अघि सार्ने काम पौडेल र उनकै समूहले गरेको हो। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य देउवालाई प्रधानमन्त्री बनाएकोमा पौडेल र उनको समूह पश्चात्तापमा रहेको बताउँछन्। “अहिले संस्थापन इतर समूह देउवालाई प्रधानमन्त्री बनाएकोमा पश्चात्ताप गर्दै छ। गल्ती भयो भनेर प्रायश्चित् गर्नेबाहेक अर्को विकल्प छैन,” उनी भन्छन् “देउवालाई सत्तामा पुर्याउने रामचन्द्र पौडेल नै हो। उहाँले गलत गरिएछ भन्नुभएको छ।”
आचार्यका भनाइमा पौडेल भविष्य विचारेर योजना बनाउन सक्ने नेता होइनन्, जो धेरै तिडकम गर्न पनि जान्दैनन्। “ओलीको विरोध गर्नुपर्छ, म हिरो हुन्छु भनेर लाग्नुभयो, तर त्यसको परिणामले जिरोमा पुर्याउँछ भनेर सोच्नुभएन,” उनले भने।
१३औं महाधिवेशनपछि आलोचनाका पात्र मात्र भएका देउवाले १४औं महाधिवेशनका वेला सरकारमा भएकै कारण बलियो उपस्थिति देखाउन सकेका हुन्। गुप्ता भन्छन्, “नेपाली कांग्रेसको अधिवेशनमा सत्ता र शक्तिको भरपूर प्रयोग भयो। जो मन्त्री छन् र शक्तिमा छन्, तिनीहरूको वर्चस्व देशव्यापी रूपमा देखियो।”