साइमिनको फरक सिनेमा सूत्र
साइमिन लियाङ कथा र फिल्मको परम्परागत संरचनामा विश्वास गर्दैनन्। उनका लागि कथा-पटकथाको कुनै महत्त्व छैन।
१२ देश, १२ निर्देशक : संसारभर एकैपटक लाखौं दर्शकलाई एउटै कुरा भन्न सक्ने, एउटै भावनामा बाँध्न सक्ने, हँसाउन-रुवाउन सक्ने अद्भुत क्षमता भएको कला हो- सिनेमा। जुनसुकै सिनेमा तब मात्र त्यो स्तरमा पुग्न सक्छ, जब त्यो अब्बल निर्देशकको हातमा पर्छ। माकुराले जाल बुने जस्तो पात्र, घटना र कथा बुनेर दर्शकलाई अर्कै संसारमा पुर्याइदिन्छन्, निर्देशकहरू।
वर्तमान विश्वमा सक्रिय १२ फरक देशका १२ चलचित्र निर्देशकबारे यो स्तम्भमा चर्चा गरिनेछ। बाह्रै जनाले फरक भाषा र शैलीको प्रतिनिधित्व गर्छन्। कसैले धेरै फिल्म बनाएका छन् त कोही थोरै फिल्म बनाएर पनि पारखीका मनमा बस्न सफल छन्। केही निर्देशक यस्ता छन्, जसबारे खासै चर्चा हुँदैन, तर ‘सिनेफाइल’ हरू यिनको कलामा मुग्ध हुन्छन्। आजको शृंखलामा ताइवानी निर्देशक साइ-मिन लियाङबारे चर्चा गरिनेछ।
कहिलेकाहीँ कुनै मानिसलाई भेट्दा उसको खास विशेषता थाहा हुँदैन। छुटेपछि बल्ल उसको क्षमता बोध हुन थाल्छ। मैले यस्तो अनुभव धेरैपटक गरेको छु।
ताइवानी फिल्म निर्देशक साइ-मिन लियाङ मेरो यो सूचीमा पर्छन्। मैले उनको ‘ह्वाट टाइम इज इट दियर’ हेरेको थिएँ। तर, उनी कुन शैलीका फिल्ममेकर हुन् र उनको विशेषता के हो भन्ने विस्तृत ज्ञान थिएन। २०२० को बर्लिन फिल्म फेस्टिभलमा यिनको फिल्म ‘रिजी’ (डेज) हेरियो। यो फिल्मको पत्रकार सम्मेलनमा पुगियो। यिनलाई प्रश्न गरियो, फोटो खिचियो। यिनका कुरा सुनेपछि र अरू फिल्म हेरेपछि बल्ल यिनको विशेषता बोध भयो।
ताइवान एसियाली फिल्मका लागि एउटा केन्द्र हो। चीन, हङकङ र ताइवानका निर्देशकले संसारका महान् फिल्ममेकरको सूचीमा स्थान बनाएका छन्। ‘लाइफ अफ पाइ’ बनाउने आङ ली मात्रै होइन, संसारको सबभन्दा सुन्दर फिल्मको सूचीमा प्रायः माथि रहने ‘इन द मुड फर लभ’का निर्देशक वङ कर वाइ पनि यसका उदाहरण हुन्।
साइमिन मलेसियाली मूलका हुन्। तर, वर्षौंदेखि ताइवानमा छन्, त्यहीं फिल्म बनाइरहेका छन्। साइ-मिन लियाङका फिल्म कथाका लागि होइन, शैलीका लागि हेर्नुपर्छ। कोरियाका किम कि दुक हुन् वा इरानका अब्बास किरुस्तामी, मास्टर फिल्ममेकरको आफ्नो ‘सिग्नेचर’स्टाइल हुन्छ। हलिउडका मार्टिन स्कोरसेजी र स्टिवन स्पिलवर्ग हुन् वा बलिउडका विशाल भारद्वाज वा अनुराग कश्यप, कथा वाचनको एउटा परम्परा यिनले बनाएका छन्। तर, साइमिन लियाङ कथा र फिल्मको परम्परागत संरचनामा विश्वास गर्दैनन्। उनका लागि कथाको कुनै महत्व छैन।
फिल्म विधामाथि निर्देशकको खास पकड र हस्तक्षेप भनेको के हो भन्ने बुझ्नका लागि साइ-मिनका सिनेमासँग साक्षात्कार गर्नुपर्छ। अहिले त यिनी पटकथाबिनाको फिल्म बनाउँछन्। ‘पटकथा बिना फिल्म बनाउन थालेपछि बल्ल मलाई आफू खासमा फिल्ममेकर भएको महशुस भएको छ। जब तपाईं पटकथा, दृश्य, संवाद र स्टोरी बोर्डमा बाँधिनुहुन्छ, तपाईंको फिल्ममेकिङ प्राविधिक कुरा बन्न जान्छ, त्यसमा कला हराउँछ,’ उनी भन्छन्।
अंग्रेजीमा एउटा भनाइ छ, ‘यु सुड नो द रुल, टु ब्रेक द रुल।’ अर्थात्, नियम तोड्नका लागि पनि नियम जान्नु आवश्यक छ। कलाका सन्दर्भमा यो भनाइ निकै प्रयोग गरिन्छ। क्रियटिभ आर्टमा केही नियम र सूत्र हुन्छन्, जसलाई जान्न आवश्यक मानिन्छ, ता कि त्यसलाई ठीक तरिकाले तोड्ने शैलीको विकास गर्न सकियोस्। तोकिएको, सिकाइएको दायरामा रहेर गरिने सिर्जनामा नवीनता हुँदैन। प्रयोग गर्न चाहनेले चलेका सूत्रलाई तोड्छन्।
‘रिजी’ साइमिनको त्यही प्रयोग हो। यसमा न कुनै पटकथा थियो, न कुनै ड्रामा। ‘मलाई यसका दुई पात्रको भेट हुन्छ कि हुन्न भन्ने पनि सुटिङमा जाँदासम्म थाहा थिएन,’ उनले बर्लिनमा फिल्मको प्रेस सोपछि पत्रकार सम्मेलनमा भनेका थिए, ‘मेरो फिल्मको एउटा मूल एक्टरलाई मैले उसलाई खिचिरहेको छ भन्ने त थाहा थियो तर केका लागि खिचिरहेको हो ? म खासमा कस्तो फिल्ममेकर हो भन्ने पनि थाहा थिएन।’
उनले अन्तर्वार्ताहरुमा भनेका छन्- ‘कुनै योजना, पटकथा, क्रु बिना फिल्म बनाउनु मुक्त फिल्ममेकिङ हो। यसमा आर्ट डिपार्टमेन्ट हुँदैन। प्राविधिकको ठूलो संख्या हुँदैन।’ सुटिङमा धेरै मान्छे भएर तयारी गर्दा त्यो कृतिम हुन जाने उनको अनुभव छ।
२०१३ मा पुरस्कृत फिल्म ‘स्टेरी डग्स’ बनाएपछि उनले कथानक फिल्म नबनाउने घोषणा गरे। उनले वृत्तचित्र, छोटा फिल्म र ‘एक्टेन्डेड ननफिक्सन’ मात्रै बनाउने भए। मतलब उनी पक्का प्रयोग मात्र गर्न चाहन्थे। फिल्म मेकिङका सीमा भत्काएर नयाँ-नयाँ शैलीको प्रयोग गर्न थाले। उनले एउटा सिरिज सुरु गरे- दि वाकर। यसमा उनले यात्रीहरूलाई मात्रै खिच्ने भए।
यसको पहिलो भागमा गेरु वस्त्रधारी भिक्षुहरुको यात्रा थियो। जुन यात्राको कुनै गन्तव्य छैन, कुनै हतार छैन। जसमा कुनै विजेता छान्नु छैन। सही अर्थमा एउटा स्वतन्त्र हिँडाइ। शान्तसँग एउटै लयमा चलेको चाल। यसलाई समीक्षकहरू साइमिनको ‘स्लो वाक’ भन्छन्। यसैले साइमिनलाई स्लो-सिनेमाको मास्टर पनि भनिन्छ। इन्डिवायरले ‘रिजी’को समीक्षामा उनलाई ‘गड अफ स्लो सिनेमा’ भनेको छ।
बर्लिनमा मैले उनलाई प्रश्न सोधें- ‘तपाईंको फिल्म त साह्रै मन्द गतिको भयो नि?’
उनले जवाफ दिए- ‘हतार कसलाई छ?’
मैले फेरि भनें, ‘दर्शक हतारमा हुन सक्छन् नि? कथा छिट्टै टुंगोमा पुगोस् भन्ने हुन सक्छ कि दर्शकलाई?’
‘दर्शकको चिन्ता गरेर पनि कसैले फिल्म बनाउँछ?’ उनले भने, ‘मलाई त्यसरी फिल्म बनाउनु छैन। मेरा दर्शक भनेका प्रशस्त समय भएका, मेरो कलालाई बुझ्न चाहने मान्छे हुन्। जसमा त्यो धैर्य छैन, त्यसले फिल्म हेर्न सक्दैन। फिल्म हेर्न र बुझ्नलाई दर्शकमा एउटा सेन्स चाहिन्छ, धैर्य चाहिन्छ।’
यिनले दर्शकलाई साह्रै ‘अन्डरमाइन्ड’ गरे। नेपाली वा भारतीय फिल्ममेकरले दर्शकलाई हरेक साता भगवान् भनेर हात जोडेको मैले सम्झिएँ।
यिनको फिल्ममा झण्डै १० मिनेटसम्म क्यामेरा नचली बस्न सक्छ। ‘रिजी’मा एउटा त्यस्तै दृश्य छ- काँचको झ्यालभित्र एक जना मानिस कुर्सीमा बसेको छ। छेउको टेबुलमा पानीको ग्लास छ। न उसले त्यो पानी पिउँछ, न कुनै हलचल गर्छ। बाहिर पानी परिरहेको छ। मानिस एकोहोरो पानी हेरिरहेको छ। पानी हेरिरहेको हो कि झरीको संगीत सुनिरहेको हो, दर्शकले आफैं छुट्ट्याऊन् भन्ने निर्देशकको चाहना छ। ऊ खाली हेरिरहन्छ, यसमा कुनै ‘एक्सन’ छैन।
कुनै इमोसन छैन। न क्यामेराको ‘मुभमेन्ट’ छ न ‘अब्जेक्ट’को। यस्तो लाग्छ, निर्देशक दर्शकको परीक्षा लिन चाहन्छन्। प्रेस शोमा धेरै दर्शक यसमा असफल भएको मैले देखें। कोही निदाउन थाले भने केही पत्रकार सो छोडेर हिँडे। यसमा साइमिनलाई मतलब छैन।
‘मैले दर्शकलाई दृश्य बुझ्न र आफ्नो हिसाबले व्याख्या गर्नलाई त्यो समय दिएको हुँ,’ उनले आफ्नो शैलीबारे बताए, ‘दर्शकलाई पनि फिल्ममेकिङमा सहभागी गराउन म उनीहरुलाई समय दिन्छु।’ तर, परम्परागत सिनेमाका दर्शक त्यो समयका लागि तयार भएजस्तो लाग्दैन। फिल्ममेकरले नै सबै अर्थ र भावसहित दर्शकलाई कथा भन्ने शैलीसँग दर्शकको परिचय छ।
फिल्ममेकरले आफूले केही पनि नभनी, यतिसम्म कि विना संवाद, विना सबटाइटल, दर्शकलाई नै सबै अर्थ खोज्ने जिम्मा लगाउने चलन हाम्रोमा छैन। फिल्मको व्यापार र लगानीको हिसाब नगर्ने फिल्ममेकरका लागि प्रयोगको यो शैली सार्थक लाग्ला, अन्यका लागि यो अव्यावहारिक वा निजात्मक सिनेमाको ‘कल्पना’मात्रै हुन सक्छ।
फिल्मका मुख्य अभिनेता ली काङ सेङ ढाड दुख्ने समस्याबाट ग्रस्त छन् (तपाईंले उनको फिल्म ‘रिभर’ हेर्नुभएको छ भने यो कुरा बुझ्न अझै सहज हुन्छ। ‘रिभर’का मुख्य पात्र, जसको घाँटी दुख्ने समस्या हुन्छ, सेङ तिनै अभिनेता हुन्) । सेङ यसको उपचारका लागि धेरै ठाउँमा धाउँछन्। उनको यो पीडा र उपचारलाई साइमिनले डकुमेन्ट गर्ने उद्देश्यले खिचिरहेका थिए।
‘सुरुमा मलाई यो फिल्म बन्ला भन्ने पनि थिएन,’ उनले फिल्ममेकिङबारे बताए, ‘थाइल्यान्डमा थेरापीका लागि पुग्दा मैले लाओसबाट बैंककमा आएका आप्रवासी ओनाङ हाङगाङ्सीलाई भेटें। मैले उसको पनि एक्लोपनालाई खिच्न थालें। अनि बल्ल यी दुईलाई जोड्दा फिल्म बन्छ कि जस्तो लाग्यो।’
यो आप्रवासी पात्रको एउटा सिक्वेन्स छ, खाना बनाएर खाने। लगभग यो पूरा प्रक्रियालाई ‘रियल टाइम’मा उनले सुट गरेका छन्। यसमा अर्को एउटा दृश्य छ- थेरापीको। जसमा छालालाई पोलेर उपचार गरिन्छ। दुखेको ढाड र घाँटीमा लपक्कै तारहरू लगाइएका छन्। यी तारमा केही घोच्ने सियो जोडिएका छन् त कुनैमा पोल्ने चिजहरु। शरीरबाट धुँवा उडिरहेको यो निरीह मानिसलाई हेर्दा लाग्छ, पीडाको उपचार पीडा नै हो। एउटा पीडालाई अर्को पीडाले मेटाउने मानवीय शैली र परम्परालाई उनको यो दृश्यले टपक्कै टिप्छ।
फिल्ममेकिङको दुनियाँमा साइमिनलाई ‘मिनिमलिस्ट’का रुपमा पनि चिनिन्छ। उनी कमभन्दा कम पैसा, कम समय र कम मानिस प्रयोग गरेर फिल्म बनाउँछन्। तर, फिल्म बनाउनलाई पोस्ट प्रोडक्सनमा पैसा चाहियो। यसका लागि उनलाई ताइवानका फिल्म इन्टिच्युट र सरकारी संस्थाहरुले सघाउँछन्।
नेपालजस्तो सानो बजार र अर्गानिक कथाहरु भएको ठाउँका लागि फिल्ममेकिङको ‘मिनिमलिस्ट’ शैली उपयुक्त हुनसक्छ। जहाँ प्रयोगधर्मी निर्देशकले धेरै विधामा काम गर्छ। यसबाट उसको आफ्नो शैलीको पनि निर्माण हुन्छ र सिर्जनामा उसको आफ्नो हस्तक्षेप कायम हुन्छ।
साइमिनले आफ्ना फिल्ममा सबटाइटल राख्न पनि छोडिसकेका छन्। ‘रिजी’ मा त उनको स्पष्टीकरण नै आउँछ- ‘जानी जानीकनै यसमा सबटाइटल नराखिएको हो’ भन्ने। यसमा पनि उनको आफ्नै तर्क छ , ‘फिल्म यदि दृश्यको माध्यम हो भने दर्शकले संवाद बुझ्नु जरुरी छैन। संवाद बुझिएन भने दर्शकले दृश्यमै बढी ध्यान दिन्छन्। उनीहरु झन् ‘अब्जेक्टिभ अब्जर्भर’ हुन्छन्। संवादले दृश्यबाट दर्शकको ध्यान हटाउँछ।’
उनी मानिसका मनोभाव, पीडा र सन्तुष्टिलाई निकै गहिराइमा गएर हेर्न खोज्छन्। उनी मानिसलाई एउटा व्यक्ति वा चरित्रका रूपमा होइन कि एउटा भावका रूपमा हेर्छन्। त्यसैले उनको पात्र दस मिनेटसम्म सिसा बाहिर हेरिरहन सक्छ। न कुनै पटकथा छ, न कुनै स्टोरी बोर्ड, न संवाद न रिहर्सल। न उनी कुनै कथा सुनाउँछन्, न कुनै कुरा दर्शकलाई बुझाउने चेष्टा नै गर्छन्।
दर्शकलाई बिनाकुनै भावको दर्शकमात्र बनाउन चाहन्छन्। खाली कागजमा घण्टौं घोरिने कुनै विचित्रको चित्रकला पारखीजस्तो उनी दर्शकलाई आफ्नो दृश्य र आफूबीचको खाली ठाउँमा उभ्याइरहन्छन्। यसैले उनका फिल्म एकदमै ‘पर्सनल’ र ‘इन्टिमेट’ पनि छन्। यसमा दृश्यको, श्लील र अश्लील तथा नैतिक र अनैतिकको कुनै पर्खाल छैन। उनका लागि व्यक्ति वा पात्र खाली एउटा वस्तु हो।
साइ-मिन लियाङजस्ता निर्देशकलाई हामी कर्मशियल फिल्मका निर्देशकहरुको लहरमा राख्न सक्दैनौं। यिनले जेजसरी फिल्म बनाउने प्रयोग गरिरहेका छन्, त्यो सबैले गर्नैपर्ने कुरा पनि होइन। उनको जति ज्ञान र आत्मविश्वास यो विधालाई लिएर छ, त्यसका लागि पनि बेग्लै धैर्य र लगानी आवश्यक हुन्छ। यिनले जसरी फिल्ममेकिङको विनिर्माण गरिरहेका छन्, त्यसमा भने सिक्ने कुरा धेरै छन्।