कोरेइदाको काइदाको सिने-संसार
कोरेइदाका फिल्म तिखा प्रश्न लिएर दर्शकसम्म पुग्छन्। र, दर्शकको मनमस्तिष्कमा ती प्रश्न छोडेर सकिन्छन्। उनको यही खूबीले कोरेइदालाई यो समयको एक महत्त्वपूर्ण निर्देशक बनाइदिएको हो।
१२ देश, १२ निर्देशक : संसारभर एकैपटक लाखौं दर्शकलाई एउटै कुरा भन्न सक्ने, एउटै भावनामा बाँध्न सक्ने, हँसाउन-रुवाउन सक्ने अद्भुत क्षमता भएको कला हो- सिनेमा। जुनसुकै सिनेमा तब मात्र त्यो स्तरमा पुग्न सक्छ, जब त्यो अब्बल निर्देशकको हातमा पर्छ। माकुराले जाल बुने जस्तो पात्र, घटना र कथा बुनेर दर्शकलाई अर्कै संसारमा पुर्याइदिन्छन्, निर्देशकहरू।
वर्तमान विश्वमा सक्रिय १२ फरक देशका १२ चलचित्र निर्देशकबारे यो स्तम्भमा चर्चा गरिनेछ। बाह्रै जनाले फरक भाषा र शैलीको प्रतिनिधित्व गर्छन्। कसैले धेरै फिल्म बनाएका छन् त कोही थोरै फिल्म बनाएर पनि पारखीका मनमा बस्न सफल छन्। केही निर्देशक यस्ता छन्, जसबारे खासै चर्चा हुँदैन, तर ‘सिनेफाइल’ हरू यिनको कलामा मुग्ध हुन्छन्। आजको पालो जापानी फिल्म निर्देशक हिरोकाजु कोरेइदाको।
सन् १९९८ मा हिरोकाजु कोरेइदाले संसारलाई एउटा प्रश्न सोधे- तपाईंको जीवनको सबैभन्दा महत्त्वपूर्ण क्षण कुन हो? यस्तो क्षण जोसँग तपाईंको जीवनको सर्वाधिक सुन्दर अनुभूति गाँसिएको छ? त्यो कुन वेला थियो जहाँबाट तपाईंको जीवन अहिलेको जस्तो हुन गयो, त्यो क्षणमा फरक बाटो समातेको भए जीवन अर्कै हुन सक्थ्यो?
भनिन्छ, जीवन अरू केही होइन, तपाईंले लिने राम्रा र नराम्रा निर्णयको परिणाम हो। कोरेइदाको प्रश्न थियो- तपाईंले कुनै एक स्मृतिलाई मृत्युपछि पनि आफूसँगै लैजान सक्ने हुनुभयो भने कुन चाहिंलाई छान्नुहुन्छ? (यही वेला तपाईं पनि आफ्नो त्यस्तो स्मृति छान्न सक्नुहुन्छ। त्यस्तो कुनै एउटा पाउनुभएन भने पनि नआत्तिनुहोला, त्यो क्षण आउनै बाँकी हुनसक्छ। वा, त्यस्तो निर्णय/क्षणले तपाईंले थाहै नपाई आफ्नो काम गरेको पनि हुन सक्छ।)
यो प्रश्न थियो नै काइदाको। यसले मथिङ्गललाई एकफेर १८० डिग्रीमा घुमाएर जीवनको शुरूआतका स्मृतिसम्म पुर्याउँछ। जीवनमा दुःखका क्षण सम्झिन शायद सजिलो छ, खुशीका क्षण सम्झिन छैन। निरपेक्ष खुशी भन्ने कुनै चिज छैन संसारमा।
हरेक खुशीसँग त्यसका कारण, पूर्व कथा र अन्य भावप्रवाहहरू हुन्छन्। अन्तिम गन्तव्य नै मृत्यु भएको जीवनमा खुशी चर्को घाममा निस्केको यात्रीले भेट्ने शीतल छहारी जस्तो छ, जसमा सुस्ताउन त मिल्छ, तर त्यसमै भुले लक्ष्यमा पुगिंदैन।
यो समयका एक उम्दा ‘फिल्ममेकर’, हाल ५९ वर्षका जापानी हिरोकाजु कोरेइदाले फिल्म आफ्टर लाइफमा आफ्ना पात्रलाई यो प्रश्न गरेका थिए। दुई साताको अन्तरमा मृत्यु भएका केही मानिस एउटा ‘स्टेशन’ मा अड्किएका छन्। यो एक किसिमको विश्राम वाटिका हो जहाँबाट अनन्तको यात्रा शुरू हुन्छ।
उक्त विश्रामस्थलमा यात्रीहरूलाई आफ्नो जीवनलाई फर्की हेरेर एउटा स्मृति छान्ने अवसर दिइन्छ। र, उनीहरूले छानेका स्मृतिहरू जोडेर एउटा नयाँ माला तयार पारिन्छ। त्यो माला मनमा सिउरिएर मानिसहरू लामो यात्रामा निस्किन्छन्। कविता जस्तो यो फिल्मले कोरेइदालाई संसारभर चिनाइदियो।
सन् २०२० को बर्लिन फिल्म फेस्टिभलमा मैले यो फिल्म हेरें, बनेको २० वर्षपछि। उक्त शोको विशेषता के थियो भने ‘फिल्म स्क्रिनिङ’ पछि यसबारे बोल्न स्वयं कोरेइदा उपस्थित थिए। बर्लिनले आफ्नो ७०औं संस्करणमा यसअघि ‘गोल्डन वियर’ जितेका सात निर्देशकलाई बोलाएको थियो, उनीहरूका फिल्म प्रदर्शन र गफगाफका लागि। तिनैमध्ये एक कोरेइदा थिए। र, उनलाई प्रश्न गर्ने पात्र थिए- आङ ली।
यो शो कति भव्य थियो भन्ने अनुमान तपाईं आफैं लगाउनुहोस्। लाइफ अफ पाईका निर्देशक आङ ली मलाई इट ड्रिंक म्यान वुमन हेरेदेखि नै असाध्य मन परेका हुन्। उनीबारे अर्को कुनै लेखमा, यसमा कोरेइदातिरै जाऔं।
मृत्युको पल्लोपट्टि के होला? यो प्रश्नले मानिसलाई युगौंदेखि लखेटिरहेको छ। र, यही प्रश्नले ठूलठूला पुराण र साहित्य जन्माइदिएको छ। मिथ र लोककथाहरूको उत्पादन तथा प्रसार भइरहेको छ। आफ्टर लाइफको शोपछि कोरेइदाले यही विषयमा बोले। उनको भनाइ थियो- ‘मानिसको जीवनलाई उत्सुकता र जान्ने चाहनाले डोर्याउँछ।’ एशियाली समाजमा परिवारको महत्त्वबारे पनि उनीहरूबीच गफ चल्यो।
यिनै कोरेइदाको अर्को फिल्म छ- लाइक फादर, लाइक सन।
समाजमा दुइटा वर्ग छन्। एउटा सम्पन्न, सबै कुराले भरिपूर्ण। अर्को विपन्न, जतिसुकै मिहिनेत गर्दा पनि अभावमा बाँचिरहेको। यी दुई परिवारमा एकै समयमा जन्मिने बच्चाको जीवन पनि पक्कै फरक हुन्छ। फरक के-के कुरामा होला त? जान्नका लागि तपाईं कोरेइदाको लाइक फादर लाइक सन हेर्नुहोस्।
इतिहास र अर्थशास्त्रका जानकारहरू भन्छन्- वस्तु विनिमय र सञ्चयको चलन शुरू भएपछि परिवारको जन्म भयो। सम्पत्ति सञ्चयसँगै उत्तराधिकारीको खोजी भयो। जम्मा गरेको सम्पत्ति आफूपछि आफ्नै वंशले भोग गरोस् भन्ने सिद्धान्तमा समाज हिंडेपछि सम्बन्धमा ‘शुद्धता’ को आवश्यकता पर्यो। र, यसले नै मानिसलाई विभिन्न जटिलता र झमेलामा पार्ने काम गर्यो।
परिवार कोरेइदाको पनि रुचिको विषय हो। लाइक फादर, लाइक सनमा नै उनले परिवारको गठन र विघटनका कुरा उठाएका छन्। धन र उत्तराधिकारको प्रश्नले कसरी परिवारका मान्यता र आदर्शलाई प्रभावित पार्छन् भन्नेमा पनि उनी वेलावेला प्रवेश गर्छन्। यसका लागि चाहिं उनको क्यान्स विजेता फिल्म शपलिफ्टर्स पनि हेर्नुपर्छ।
यो फिल्ममा कोरेइदा समाजमा परिवारलाई जोडिराख्ने रसायन के हो भन्ने खोजी गर्छन्। उनी प्रश्न उठाउँछन्- किन बच्चाहरू बाबुआमाबाट अलग हुन्छन्? बाबुआमाले आफ्नै बच्चालाई किन त्याग्छन्? बाबुआमा र छोराछोरी भएर मात्रै परिवार बन्छ कि अन्य तत्त्व पनि आवश्यक हुन्छ? परिवारमा सदस्यहरूको आपसी सम्बन्धलाई केले मजबूत बनाउँछ?
आफ्नो पछिल्लो फिल्म दी ट्रुथ (इरानी निर्देशक अब्बास किरुस्तामीले फ्रान्स-जर्मनी पुगेर बनाएको सर्टिफाइड कपी जस्तै यसमा पनि फ्रान्सेली अभिनेत्री जुलियट बिनोसे मुख्य भूमिकामा छिन्) मा पनि कोरेइदा परिवारकै विषय उठाउँछन्। उनले यसअघि नोबडी नोजमा पनि परिवारकै कुरा गरेका थिए।
आर्थिक विषमताका कारण एशियाली समाजमा वर्गको अस्तित्व झन् झन् बलियो भइरहेको देखिन्छ। एउटा वर्ग सम्पन्नताको सिंढीमा निरन्तर उक्लिरहेको छ, अर्को वर्गलाई गरीबीको सर्पले सुलुत्तै निलेर तलतल झारिरहेको छ। ओस्कर जितेको कोरियाली फिल्म प्यारासाइटमा बोङ जोङ हुले यो विभेदलाई सुन्दर तरीकाले वर्णन गरेका थिए।
कोरेइदाका प्रायः फिल्ममा वर्गको कथा उपस्थित हुन्छ। आफ्टर लाइफमा आफ्नो जीवनलाई फर्किहेर्ने पात्र हुन्, शपलिफ्टर्समा बच्चा जन्माउने र हुर्काउनेहरू हुन् वा लाइक फादर, लाइक सनका दुई परिवार, यिनमा उनी सूक्ष्म तरीकाले वर्ग र फरक आर्थिक हैसियतले मानिसको स्वभावमा ल्याउने परिवर्तनको चित्रण गर्छन्।
कुनै परिवारभित्रको सत्य कसरी लुकेको हुन्छ? के परिवारका सबै सदस्यले सबै सत्य उजागर गर्न सक्छन्? आमा र छोरी, बाबु र छोराबीच पनि सत्य लुकिरहेको हुन्छ? यो विषयलाई उनी २०१९ को दी ट्रुथमा आत्मकथा विमोचन हुनै लागेकी हिरोइनको पात्र मार्फत उजागर गर्ने कोशिश गर्छन्।
सत्य सबैका लागि एउटै हुन्छ कि फरक फरक हुन्छ? के शाश्वत सत्य भन्ने कुरा साँच्चिकै छ? यी पनि निकै लामो समयदेखिका प्रश्न हुन्। ‘दी ट्रुथ’ मा कोरेइदा यिनै प्रश्नमा पुग्छन्। ‘शपलिफ्टर्स’ मा पनि उनले परिवारको यही रहस्यमाथि खेलेका थिए।
एउटा संयुक्त परिवारको कथा जसरी शुरू हुने यो फिल्मको अन्त्यमा उनी परिवारका नाममा जापानी समाजमा रहेका विकृतिसम्म पुग्छन्। प्राकृतिक नभए पनि आवश्यकताले कसरी मानिसलाई कृत्रिम परिवार निर्माण गर्न प्रेरित गर्छ भन्ने समेत उनी देखाउँछन्।
अकिरा कुरोसावा र ओजुदेखि नै जापानी फिल्महरूले विश्व बजारमा मौलिक स्थान बनाएका हुन्। त्यसपछिको पुस्तामा पनि विभिन्न निर्देशकले छाप छोडेका छन्। यीमध्ये कोरेइदा मलाई विशिष्ट लागेका निर्देशक हुन्। यसको कारण चाहिं अति सामान्य लाग्ने कुरालाई पनि विशिष्ट शैलीमा उठाएर स्थापित गर्ने उनको शैली अनि परिवारका आदर्श र व्यवहारका विविध पक्षमा उनले उठाउने प्रश्न।
आफूले बडो प्रेमले हुर्काएको सन्तान ८-१० वर्षको भइसक्दा बल्ल आफ्नो होइन भन्ने थाहा भयो भने के गर्ने? अस्पतालको गल्तीले एक करोडपतिको सन्तान झुपडीमा र झुपडीको किसानको सन्तान महलमा पुग्यो भने के होला? समाजमा जुन कुल-संस्कारको कुरा बारम्बार गरिन्छ, त्यो जीनमै आउने विषय हो कि व्यवहारले सिकाउने?
मसिनो स्वरमा बिस्तारै बोल्ने कोरेइदाबारे आङ लीले त्यो शोमा भनेका थिए- ‘कोरेइदा थोरै बोल्छन्, लजालु छन्। तर, उनका फिल्म लजालु छैनन्। तिनले चर्को स्वरमा बोल्छन्।’ मलाई पनि लाग्छ, कोरेइदाका फिल्म तिखा प्रश्न लिएर दर्शकसम्म पुग्छन्। र, दर्शकको मनमस्तिष्कमा ती प्रश्न छोडेर सकिन्छन्। उनको यही खूबीले कोरेइदालाई यो समयको एक महत्त्वपूर्ण निर्देशक बनाइदिएको हो।
कोरेइदाका यी बाहेक स्टिल वाकिङ, आफ्टर दी स्ट्रोम लगायत फिल्म चर्चित छन्। उनको आफ्टर लाइफले कान्समा जुरी अवार्ड जितेको थियो भने शपलिफ्टर्सले मुख्य अवार्ड पाम डिअर। यो फिल्मलाई जापानले ओस्करमा अन्तर्राष्ट्रिय फिल्मको प्रतिस्पर्धाका लागि छनोट गरेको थियो। ओस्करमा मेक्सिकन फिल्ममेकर अल्फान्सो कुरोंको रोमाले त्यस वर्ष यो अवार्ड पाएको थियो।
टेलिभिजनमा सहायक निर्देशक र ‘डकुमेन्ट्री मेकर’ का रूपमा करिअर शुरू गरेका कोरेइदाले सन् २०१९ को दी ट्रुथ फ्रान्सेली भाषामा बनाए। यसको सेटिङदेखि कथा र पात्र सबै जापान बाहिरका छन्। थुप्रै एशियाली फिल्ममेकरले आफ्नो देशमा फिल्ममेकिङको एउटा तह पार गरेपछि यूरोप वा हलिउडतिर पाइला चाल्ने गरेका छन्। कोरेइदाले पनि अहिले विश्व सिनेमालाई त्यसरी नै हेर्न थालेका छन्। तर, उनको पहिचान जापानी समाजलाई हेर्ने तीक्ष्ण नजरले नै बनाएको हो।
फिल्ममेकिङको शैली र विषयको चर्चा गर्दा प्रायः समीक्षकले उनलाई यासुजिरो ओजुसँग तुलना गर्छन्। जापानी समाजभित्र लुकेका विषय उठाउने, बिस्तारै कथा शुरू गरेर स्तब्धतायुक्त निचोडसम्म पुग्ने उनको शैलीलाई ओजुकै विस्तृतिका रूपमा व्याख्या गर्ने गरिन्छ। तर, कोरेइदा आफूलाई ओजुको शैली मन परे पनि उनलाई पूर्णतः बुझ्न नसकेको बताउने गर्छन्।
नयाँ स्वरूपमा कोरेइदा
यो नयाँ स्वरूपका दुई अर्थ छन्– फिल्म शैलीको नयाँ स्वरूप र त्यसको माध्यम। डिजिटल प्लेटफर्म र ओटीटीले संसारभर फिल्ममेकिङलाई मात्र होइन, दर्शकको स्वादमा पनि हस्तक्षेप गरिरहेका छन्। र, यसमा अग्रणी छ- नेटफ्लिक्स।
नेटफ्लिक्सले जसरी मनी हाइस्ट र स्क्विड गेम जस्ता सिरिज ल्यायो, त्यसले दर्शकलाई अहिलेसम्म सिनेमाले नदिएको उत्सुकता र मनोरञ्जन दिएको छ, त्यो पनि घरमै बसीबसी। नेटफ्लिक्सको बजार कति बढिरहेको छ भने सन् २०२१ मा मात्रै उसले कोरियामा नयाँ फिल्म र टीभी शो (सिरिज) का लागि ५ सय मिलियन डलर लगानी गर्दै छ। कोरिया यसको सबभन्दा छिटो बढिरहेको बजार पनि हो।
कोरियासँगै नेटफ्लिक्सले एशियाको अर्को ठूलो बजार जापानलाई पनि प्राथमिकतामा राखेको छ। गत साता जापानमा नेटफ्लिक्सले गरेको ‘नेटफ्लिक्स जापान फेस्टिभल २०२१’ मा एउटा घोषणा गरियो। अमेरिकी पत्रिका भेराइटीका अनुसार, यो फेस्टिभलमा पठाएको एउटा भिडियो म्यासेजमा कोरेइदाले नेटफ्ल्क्सिका लागि एउटा बिग बजेट फिल्म र एउटा सिरिजको घोषणा गरेका छन्।
उनले पठाएको सन्देशमा यो फिल्म निकै ठूलो बजेटको र उनका यसअघिका फिल्मभन्दा भिन्न शैलीको हुने जनाइएको छ। समाचारहरूमा लेखिए अनुसार, यो जापानी एक्सन फिल्म जनराको भव्यतम रूपमा आउनेछ। कोरेइदाले अहिले आफूले नेटफ्लिक्ससँग मिलेर यो प्रोजेक्टमा काम गरिरहेको बताएका छन्।
सिरिजमा उनी ‘शो-रनर’ हुनेछन्। यसका केही एपिसोड उनले नै निर्देशन गर्नेछन् भने केही अन्य जापानी निर्देशकले।
कोरेइदाले हालैको अन्तर्वार्तामा भनेका छन्, ‘यथार्थवादी फिल्मले हलमा शो कम पाउँछन्। यसका दर्शक कम हुन्छन्। तर, यस्तै खालका फिल्मलाई ‘स्ट्रिमिङ प्लेटफर्म’मा लैजाँदा ठूलो दर्शक पाउने गरेका छन्। यो चलचित्र बनाउनेहरूका लागि लागि नयाँ अवसर हो।’ नेटफ्लिक्सका जोकर र रोमा जस्ता फिल्मले ओस्कर जितेबाट पनि यस्ता मञ्चको फैलावट झन् बढेको देखिन्छ।
दुई दशकमा पहिलो पटक क्यान्सको मुख्य अवार्ड जितेको शपलिफ्टर्स निर्देशक कोरेइदाको नयाँ फिल्म बेबी, बक्स, ब्रोकर यसपालि क्यान्समा देखाइने सम्भावना रहेको भेराइटीले उल्लेख गरेको छ। रोचक चाहिं के छ भने यो फिल्म उनले कोरियन भाषामा बनाएका छन् र प्यारासाइटका कलाकार सोङ कोङ होले अभिनय गरेका छन्।
यो फिल्म ‘धर्मसन्तान’ ग्रहण गर्ने विषयमा बनेको छ। कोरेइदा परिवारकै सेरोफेरोको कथा लिएर फ्रान्स हुँदै कोरिया आएका छन्। नेटफ्लिक्सको ‘बिग बजेट’ मा पनि उनी परिवारकै कथा ल्याउँछन् कि अन्य केही, हेरौं।