शेयर बजार लगानीकर्ताले चार महीनामै गुमाए ११ खर्ब
शेयर बजारमा लगानीकर्ताको सम्पत्ति चार महीना नपुग्दै रु. ११ खर्ब ४९ अर्बले घटेको छ।
गत भदौ पहिलो साता शेयर बजारमा उच्च रौनक थियो। कम्पनीहरूको मूल्य बढ्दै गएपछि २ भदौमा शेयर बजारमा लगानीकर्ताको कुल सम्पत्तिको मूल्य (बजार पूँजीकरण) रु. ४४ खर्ब ६८ अर्ब पुगेको थियो। तर, यो घटेर २६ मंसीरमा आइपुग्दा रु. ३३ खर्ब १९ अर्बमा ओर्लिएको छ।
२६ मंसीरमा मात्रै शेयर बजार परिसूचक नेप्से ८८.७० अंकले ओर्लिदा लगानीकर्ताको सम्पत्तिको मूल्य रु. १ खर्ब २५ अर्बले घटेको छ। ब्यांकिङ प्रणालीमा तरलता अभाव चुलिदैँ गएपछि शेयर बजार भदौबाट लगातार ओरालो लाग्दै गएको छ। नियामक नेपाल राष्ट्र ब्यांक तथा नेपाल धितोपत्र बोर्डको नीतिगत निरुत्साहनले पनि बजारमा लगानीकर्ताको आत्मविश्वास धर्मराएको छ।
२ भदौमा नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दु ३१९९ अंकमा पुगेको थियो। त्यो विन्दुका तुलनामा आइतबारसम्म आइपुग्दा नेप्से परिसूचक २३६१ अंकमा झरेको छ। यो नेप्सेको उच्च विन्दु भएको वेला भन्दा एक चौथाईभन्दा बढीको गिरावट हो।
बजारमा प्रशस्त तरलता भएका वेला एकै दिन शेयर बजारमा रु. २१ अर्बभन्दा धेरै रकमको शेयर किनबेच भएकोमा अहिले यस्तो किनबेच दैनिक रु. ३ अर्बमा खस्किएको छ। आइतबार शेयर बजारमा रु. ३ अर्ब ३८ करोडको कारोबार भयो।
शेयर बजारका लगानीकर्ताको निराशा चरम विन्दुमा पुग्दा बजारमा उत्साह भर्ने नीतिगत प्रयास भएको छैन। खासगरी, नेपाल राष्ट्र ब्यांकले शेयर बजारलाई निरुत्साहन हुने गरी नीतिहरु अघि सार्दै आएको छ।
सरकारी अधिकारीले शेयर बजारमा आएको उछाललाई नरुचाएको उनीहरूका सार्वजनिक अभिव्यक्तिले देखाउने गरेको छ। राजनीतिक नेतृत्व पनि शेयर बजार पनि सकारात्मक छैनन्। आइतबार मात्रै सत्तारुढ घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शेयर बजार साम्राज्यवादको विस्तारित रुप भएकाले यसलाई यससँग लड्न पार्टीले तरिका खोज्ने बताएका छन्।
शेयर बजारमा कतिसम्म निराशा छ भने, आइतबार १८४ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा ५ वटा कम्पनीको मूल्य मात्रै बढेको छ।
शेयर बजारमा २० प्रतिशतभन्दा धेरैको गिरावटलाई बियरिस ट्रेन्ड मानिन्छ। अहिले करीब २६ प्रतिशतले ओर्लिइसकेकाले बियरिस ट्रेन्डतिर बजार जानसक्ने जोखिम छ। त्यसो हुँदा, लगानीकर्ताको अर्बौं रुपैयाँको लगानी जोखिममा पर्नेछ।