प्रदेश सभापतिमा देउवा पक्षका चार, पौडेल पक्षका दुई : कहाँ कसको जित?
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ६ वटा प्रदेशमा नयाँ नेतृत्व चयन भएको छ।
प्रदेश २ मा प्रतिनिधि विवादका कारण प्रदेश अधिवेशन स्थगित गरिएको छ । देश संघीयतामा गएपछि पहिलो पटक कांग्रेसको प्रदेश संरचना निर्वाचित भएको हो।
प्रदेश १ मा उद्धव थापा, बागमतीमा इन्द्रबहादुर बानियाँ, गण्डकीमा शुक्रराज शर्मा, लुम्बिनीमा अमरसिंह पुन, कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिममा वीरबहादुर बलायर प्रदेश सभापतिमा निर्वाचित भएका छन्।
अधिवेशन सम्पन्न ६ प्रदेशमा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षकै दबदबा देखिएको छ। चार प्रदेशमा देउवा पक्ष नेतृत्वमा आएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष दुई प्रदेशमा मात्रै नेतृत्वमा आएको छ।
नवनिर्वाचित प्रदेश सभापतिमा प्रदेश १ का थापा, बागमतीका बानियाँ, कर्णालीका शाही र सुदूरपश्चिमका बलायर कांग्रेस सभापति देउवा पक्षका हुन्। त्यस्तै, गण्डकीका शर्मा र लुम्बिनीका पुन वरिष्ठ नेता पौडेल पक्षका हुन्।
प्रदेश १ मा पौडेल पक्षका गुरुराज घिमिरेलाई २ मतले हराउँदै थापा सभापतिमा निर्वाचित भएका छन्। एक उपसभापति बाहेक सबै पदाधिकारी थापाकै प्यानलका निर्वाचित भएका हुन्।
त्यस्तै, बागमतीमा जगदीश्वर नरसिंह केसीलाई पराजित गर्दै बानियाँ प्रदेश सभापति बनेका छन्। बागमतीमा अन्य पदाधिकारी र सदस्यको मतगणना जारी छ।
पहिलो चरणमा सभापतिका लागि तीन जना प्रतिस्पर्धामा उत्रिएका थिए। कुनैको पनि ५१ प्रतिशत नपुगेपछि बढी मत ल्याउने बानियाँ र केसीबीच प्रतिस्पर्धा भएको हो। पहिलो चरणबाट बाहिरिएका भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका थिए। उनी पूर्व महामन्त्री कृष्णप्रसाद सिटाैला पक्षका हुन्।
गण्डकीमा देउवा पक्षका अर्जुन जोशीलाई पराजित गर्दै पौडेल पक्षका शर्मा प्रदेश सभापति बनेका छन्। पदाधिकारीमा मिश्रित परिणाम आएको छ।
लुम्बिनीमा पनि पौडेल पक्षका पुनले देउवा पक्षका भरतकुमार शाहलाई पराजित गरेका हुन्। एक उपसभापति बाहेक सबै पदाधिकारी पुनकै प्यानलका निर्वाचित भएका छन्।
कर्णाली प्रदेशमा देउवा पक्षका शाही निर्वाचित भएका छन्। उनले पौडेल पक्षका भूपेन्द्रजंग शाहीलाई ९१ मतले पराजित गरेका हुन्। सबै पदाधिकारी पनि देउवा पक्षकै आएका छन्।
यस्तै, सुदूरपश्चिममा पनि देउवा पक्षकै सबै पदाधिकारी प्रदेश कार्यसमितिमा आएका छन्। देउवा पक्षका बलायरले पौडेल पक्षका नारायणदत्त मिश्रलाई पराजित गरेका हुन्।
प्रदेश २ मा भने विवादका कारण अधिवेशन हुन सकेको छैन। प्रदेश सभापतिका लागि श्रीकृष्ण यादव र रामसरोज यादवले उम्मेदवारी घोषणा गरेका छन्। उपसभापति विमलेन्द्र निधिको पक्षबाट श्रीकृष्ण र देउवा पक्षबाट रामसरोजले उम्मेदवारी घोषणा गरेका हुन्।
प्रतिनिधि विवादका कारण प्रदेश २ को अधिवेशन अनिश्चितकालका लागि स्थगन गरिएको छ। प्रदेश २ का सर्लाही, महोत्तरी र रौतहटमा विवाद कायमै छ।