राजेन्द्र लिङदेनलाई काठमाडौंले स्विकार्ला?
नेपाली राजनीतिका चतुर खेलाडी कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीले संयुक्त नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा दोस्रो पुस्ताका राजेन्द्रप्रसाद लिङदेन अध्यक्ष निर्वाचित भएका छन्।
२०४६ सालको जनआन्दोलनले ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेपछि पूर्व पञ्चहरूले राप्रपा गठन गरे। कम्युनिष्टहरूको प्रभाव क्षेत्र मानिएको झापामा राप्रपाको जिल्ला सचिव बने २५ वर्षीय राजेन्द्र लिङदेन।
२०४७ सालमा जिल्ला सचिव बनेका उनी २०४९ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको संस्थापक अध्यक्ष बने। राजनीति र इतिहासमा स्नातक गरेका लिङदेन आफू २०३६ सालदेखि नै राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध रहेको बताउँछन्।
१९ मंसीर बिहान सम्पन्न राप्रपाको एकता महाधिवेशनबाट उनी अनुभवी राजनीतिकर्मी थापालाई पराजित गरेर केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन्।
२६ पुस २०६३ मा थापाले राप्रपा विभाजन गरेर राप्रपा नेपाल गठन गरेका थिए। तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनलाई समर्थन गर्न गठित राप्रपा नेपालको केन्द्रीय समितिमा थापाले नै लिङदेनलाई ‘डेब्यु’ गराएका थिए।
२०६६ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य बनेका लिङदेनलाई थापाले महामन्त्रीमा पनि मनोनीत गरे। उनी २०७४ सालको आम चुनावमा राप्रपाबाट निर्वाचित एक मात्र प्रतिनिधि सभा सदस्य हुन्।
२२ भदौ २०२२ मा पाँचथरमा जन्मिएका लिङदेन राष्ट्रिय राजनीतिको चर्चामा आएको केही वर्ष मात्रै भएको छ। २०७४ मा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई झापा ३ मा पराजित गरेपछि मात्रै लिङदेनको चर्चा शुरू भएको हो।
त्यति वेला पूर्व गृहमन्त्री सिटौलालाई लिङदेनले साढे १३ हजार मतान्तरले हराएका थिए। झापा ३ मा राप्रपाले समानुपातिकतर्फ जम्मा १६ हजार १६८ मत पाएको थियो। लिङदेनले भने ४४ हजार ६१४ मत ल्याए।
झापा ३ मा समानुपातिकमा १९ हजार ८२९ मत पाएको नेकपा (एमाले) र ७ हजार ४८६ भोट पाएको नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार उठाएका थिएनन्। वाम गठबन्धन बनाएर चुनाव लडेको एमालेसँग लिङदेनले तालमेल गरेका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जितेको झापा ५ मा राप्रपाले उम्मेदवार उठाएको थिएन। त्यो क्षेत्रमा राप्रपाले समानुपातिकतर्फ ९ हजार मत पाएको थियो।
२०७० को संविधानसभा चुनावमा भने लिङदेनलाई कांग्रेसका सिटौलाले पराजित गरेका थिए। त्यति वेला पनि एमालेका वसन्तकुमार बानियाँ र माओवादीकी धर्मशिला चापागाईंलाई उछिन्दै लिङदेन दोस्रो स्थानमा आएका थिए।
२०६१ सालमा ज्ञानेन्द्र शाहले ‘कू’ गरेपछि लिङदेन जिल्ला विकास समिति झापाको सभापति बने। राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राप्रपामा सैद्धान्तिक मतभिन्नता छैन। तर, नेतृत्व नयाँ पुस्तामा जानुपर्छ भन्ने आवाज भने उठ्दै आएको थियो। त्यही मतलाई लिङदेनले ‘क्यास’ गरेको देखिन्छ।
पार्टी र सरकारमा बस्दा थापासँग अन्तुष्टहरूलाई लिङदेनले समेट्दै लगे। राप्रपाका तीन निवर्तमान अध्यक्षमध्ये लोहनीले लिङदेनलाई समर्थन गरे। अर्का अध्यक्ष पशुपतिशमशेर राणा थापा पक्षमा खुलेका थिए।
हुन पनि लिङदेनको प्यानलबाट उम्मेदवारी दिएका धवलशमशेर राणा मात्रै निर्वाचित भए। लिङदेन प्यानलबाट उपाध्यक्षमा उठेका दिलविकास राजभण्डारी र रामचन्द्र राय, लीला श्रेष्ठ, महामन्त्रीमा उठेका रेखा थापा र श्याम तिमिल्सिना पराजित भए। उपाध्यक्षमा अत्यधिक मत सहित निर्वाचित विक्रम पाण्डेलाई दुवै पक्षले साझा उम्मेदवार मानेका थिए।
आफ्नो प्यानलका बहुमत पदाधिकारी जिताउन सफल कमल थापाले बिहानै सामाजिक सञ्जाल मार्फत नवनिर्वाचित अध्यक्षलाई बधाई दिएका छन्। तर, उनी लिङदेनलाई अध्यक्ष मानेर राप्रपामा बस्छन् कि बस्दैनन् भन्ने स्पष्ट छैन। गीता छोएर पार्टी नफुटाउने कसम खाएका थापालाई यो परिणामले द्विविधामा पुर्याएको छ।
थापा मात्रै होइन, हिन्दू राष्ट्र, राजतन्त्र र केन्द्रीकृत व्यवस्थाको पक्षपाती राप्रपा पनि जनजाति समुदायबाट अध्यक्ष आएपछि द्विविधामा पुगेको छ। २०६२/६३ को परिवर्तनको विरोधमा रहेका राजावादीले स्विकार्छन् कि स्विकार्दैनन् भन्नेमा निर्भर छ लिङदेनको भविष्य।