राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेन विजयी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङदेन निर्वाचित भएका छन्।
कमल थापालाई पराजित गर्दै लिङदेन विजयी भएका छन्। आज बिहान सकिएको मतगणना अनुसार, लिङदेनले १ हजार ८४४ मत पाएका छन्।
त्यस्तै, थापाले १ हजार ६१७ मत पाएका छन्। निर्वाचन समितिका अनुसार, ४१३ मत बदर भएको छ।
राप्रपामा चार उपाध्यक्ष, तीन महामन्त्री सहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो। अन्य पदमा विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो।
आज बिहान सार्वजनिक गरेको मत परिणाम अनुसार, उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान विजयी भएका छन्। पाण्डेले २ हजार ५२१, तामाङले १ हजार ९४४ र प्रधानले १ हजार ८१४ मत पाएका छन्।
त्यस्तै, उपाध्यमा पराजित दिलविकास राजभण्डारीले १ हजार १९४, रामचन्द्र राय यादवले ९६७, जगतप्रसाद गौचनले ८९० मत पाएका छन्।
महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएकी छन्। उनले १ हजार ५८९ मत पाइन्। त्यस्तै, उपाध्यक्षमा पराजित लीलादेवी श्रेष्ठले १ हजार ५४ र दुर्गा श्रेष्ठले ८०५ मत पाए।
महामन्त्रीमा धवलशम्शेर राणा र भुवन कुमार पाठक विजयी भएका छन्। राणाले २ हजार २२१ र पाठकले १ हजार ७०५ मत पाए।
महिला महामन्त्रीमा कुन्तीकुमारी शाही विजयी भएकी छन्। उनले २ हजार ८ मत पाइन्। महामन्त्रीमा पराजित रेखा थापाले १ हजार ६४० मत पाइन्।