भारतमा पनि देखियो ओमिक्रोन, दुई जनामा सङ्क्रमण पुष्टि
कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि देखिएको छ।
भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार दुई जनामा ओमिक्रोन भेरिन्टको सङ्क्रमण देखिएको जनाएको छ। भारतमा पहिलो पटक ओमिक्रोनको सङ्क्रमण देखिएको हो।
भारतीय सञ्चार माध्यमका अनुसार, कर्नाटकमा सङ्क्रमण पुष्टि भएको छ। ओमिक्रोन भेरियन्टको सङ्क्रमण देखिएकामध्ये एक जना ६६ वर्षीय र अर्को ४६ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सचिव राजेश भूषणले जानकारी दिएका छन्।
उनीहरूका विषयमा धेरै जानकारी सार्वजनिक गरिएको छैन। दुवै जनाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको स्वास्थ्यसचिव भूषणले बताए।
दुई जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएपछि कर्नाटकमा स्वास्थ्य सतर्कता बढाइएको छ। कर्नाटकसँग जोडिएका राज्यमा पनि स्वास्थ्य मापदण्डमा कडाइ गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार, यसअघि १२ देशमा ओमिक्रोनको सङ्क्रमण देखिएको थियो।