यस्ता तथ्याङ्क दिनेछ जनगणनाले
बाह्रौं जनगणनाले सम्बद्ध परिवारले प्रयोग गर्ने मोबाइल फोन, टिभी, वाशिङ मेसिन, रेफ्रिजेरेटरदेखि वडा तहका सेवा–सुविधा तथा विपद्ले निम्त्याएको क्षतिसम्मको विवरण जुटाएको छ।
जनगणनाको १२औं संस्करण ९ मंसीरमा सकिएको छ। ‘मेरो गणना मेरो सहभागिता’ नारा सहित २५ कात्तिकबाट शुरू भएको गणनामा करीब ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटिएका थिए। केन्द्रीय तथ्याङ्क विभागले गणनामा छुटेकाहरूलाई १५ मंसीरभित्र ११७८ नम्बरमा सम्पर्क गरेर विवरण टिपाउन अनुरोध गरेको छ।
विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठ तीन महीनाभित्र जनगणनाको प्रारम्भिक नतीजा सार्वजनिक गरिने बताउँछन्। उनका अनुसार, मंसीर महीनाभित्र जिल्लाको विवरण केन्द्रमा आइपुग्नेछ। त्यसपछि ‘डाटा इन्ट्री’ शुरू गरिनेछ। श्रेष्ठ भन्छन्, “दुई वर्षभित्र गणनाको सम्पूर्ण तथ्याङ्क सार्वजनिक हुनेछ।”
यस्ता विवरणको तथ्याङ्क आउने
यो जनगणनाका लागि कुल ८० प्रश्न तयार पारिएका थिए। तीमध्ये २५ वटा ३० भदौदेखि १८ असोजसम्म चलेको घरपरिवार गणनामा सोधिएका थिए। बाँकीमध्येका प्रश्न पनि सबै घरका लागि उपयुक्त नभएकाले आवश्यकता हेरेर सोधिएको महानिर्देशक श्रेष्ठ बताउँछन्। “जस्तो ५ वर्षमुनिको बच्चा नभएको घरमा त्यससँग सम्बन्धित प्रश्न सोधिराख्नु आवश्यकै भएन,” उनले भने।
मुलुक संघीय अभ्यासमा गएपछिको पहिलो जनगणना भएकाले पनि नयाँ संरचनाभित्रका सम्पूर्ण विवरण थाहा पाउन यसको विशेष महत्त्व छ। यसमा समेटिएको पारिवारिक खण्ड मार्फत देशभरका परिवारको सबै खाले विवरण प्राप्त हुने विभागले जनाएको छ। घरको स्वामित्व, बनावट, संरचनासम्मको तथ्याङ्क आउने भएकाले यस मार्फत घरका प्रकार, तिनको सङ्ख्या, माटो–ढुङ्गा वा इँटा–सिमेन्ट केबाट बनेको हो भन्ने विवरण समेत जुट्नेछ।
मुलुक संघीय अभ्यासमा गएपछिको पहिलो जनगणना भएकाले पनि नयाँ संरचनाभित्रका सम्पूर्ण विवरण थाहा पाउन यसको विशेष महत्त्व छ।
विभागका अनुसार, खानेपानीको स्रोत, खाना पकाउन प्रयोग हुने इन्धन, उज्यालोका लागि प्रयोग गरिने बिजुली, सोलार, बायोग्यास, मट्टीतेल आदिको विवरण पनि आउनेछ। चर्पी प्रयोग र त्यसको प्रकार समेत जनगणनामा समेटिएको छ। त्यसै गरी, रेडियो, टीभी, मोबाइल वा टेलिफोन, ल्यापटप, कम्प्युटर, इन्टरनेट, मोटरसाइकल, गाडी, रेफ्रिजेरेटर, वाशिङ मेसिन, एअर कन्डिसनर लगायत सामग्री प्रयोगकर्ताको तथ्याङ्क जुट्नेछ।
महिलाका नाममा भएको घरजग्गाको विवरण पारिवारिक खण्डभित्र समेटिएको छ। यस खण्डबाट कृषि बाहेक दर्ता नगरिएका र तलबी कामदार नभएका घरेलु व्यवसायको सङ्ख्या खुल्नेछ।
विदेश गएका परिवार सदस्य, तिनको लिङ्ग, उमेर, गएको वर्ष, जानुको कारण, गएको देश लगायत विवरण पनि लिइने विभागले जनाएको छ।
त्यसै गरी, एक वर्षभित्र निधन भएका परिवार सदस्य, तिनको उमेर, मृत्युको कारण लगायत समेत पारिवारिक खण्डमा समेटिएको छ। व्यक्तिगत खण्डमा चाहिं परिवारका सबै सदस्यको नाम उल्लेख हुन्छ। यसबाट घरमूलीको नाम, उमेर समूह, लिङ्ग आदिको जानकारी पाइनेछ। त्यसपछि बच्चाको जन्मदर्ता गरे/नगरेको, सम्बद्ध व्यक्तिको मातृभाषा, उसले प्रयोग गर्ने दोस्रो भाषा, धर्म, वैवाहिक स्थिति र विवाह भएको उमेर जस्ता विवरण जुट्नेछ। जन्मस्थान, जिल्ला, देश, अक्सर बसोबास गर्ने स्थान पनि यसमा समेटिनेछ।
यस्तै शैक्षिक विवरण सम्बन्धी खण्डबाट शैक्षिक संस्था, शिक्षाको तह, अध्ययन गरेको संकाय पत्ता लाग्नेछ। प्रजनन सम्बन्धी प्रश्न बच्चाको सङ्ख्या, अपाङ्गता, जन्मान्तर, १८ वर्षमुनिका बालबालिका, उनीहरूको अभिभावकत्व जस्ता विवरण आउने गरी तयार पारिएका छन्।
खानेपानीको स्रोत, खाना पकाउन प्रयोग हुने इन्धन, उज्यालोका लागि प्रयोग गरिने बिजुली, सोलार, बायोग्यास, मट्टीतेल आदिको विवरण पनि आउनेछ। चर्पी प्रयोग र त्यसको प्रकार समेत जनगणनामा समेटिएको छ।
आर्थिक क्रियाकलाप सम्बन्धी खण्डबाट सम्बद्ध व्यक्तिको आम्दानीको मुख्य स्रोत, काम गर्ने संस्थाको नाम र सेवाको किसिम थाहा हुनेछ।
विभागका अनुसार, यो जनगणनामा सामुदायिक प्रश्नावलीलाई विशेष महत्त्व दिइएको छ। यसबाट आधारभूत आर्थिक, सामाजिक सेवा-सुविधा, पूर्वाधार र विपद् अवस्थाको जानकारी जुटाइएको छ। सामुदायिक प्रश्नावलीले वडाको सेवा-सुविधाको स्तर, पूर्वाधारको अवस्था, जोखिम तथा विपद् व्यवस्थापनको विषय समेत सम्बोधन गर्ने महानिर्देशक श्रेष्ठ बताउँछन्। उनी भन्छन्, “वडाभरको जनसङ्ख्या, घरपरिवार, आवासीय र अन्य प्रयोजनका घरको सङ्ख्या पनि यसबाट निर्धारण हुनेछ।”
सामुदायिक प्रश्नावली खण्डले वडाभरिका टोलको सङ्ख्या, वडा कार्यालयबाट सबैभन्दा टाढाको बस्ती, जग्गा नापको एकाइ, निर्यात हुने कृषिजन्य उपज आदिको तथ्याङ्क दिनेछ। वडाको मुख्य आम्दानी, बसोबास गर्ने जातजाति र उनीहरूको मातृभाषा थाहा हुनेछ।
बस्ने स्थानबाट आधा घण्टाको दूरीमा १२ कक्षासम्मको विद्यालय, पुस्तकालय, मेडिकल डाक्टर, प्रहरी चौकी, बाल उद्यान वा खेल मैदान र पाँच किमी दूरीभित्र दमकलको उपलब्धता भए/नभएको निगरानी पनि यो जनगणनाबाट हुनेछ।
त्यस्तै, सम्बद्ध वडामा बसाइँसराइ गरेर आउनेको सङ्ख्या, सिनेमा घर, नाचघर, शपिङ मल लगायत आर्थिक पूर्वाधारको जानकारी हुने विभागले जनाएको छ। बाढी, पहिरो, भूक्षय, डुबान, शीतलहर, डढेलो, आगलागी, हिमपहिरो जस्ता प्राकृतिक विपद्को जानकारी पनि यसमा समेटिनेछ। एक वर्षभित्र प्राकृतिक प्रकोपबाट ज्यान गएका, अन्य क्षति भोगेका, पशु वा बालीनाली गुमाएकाहरूको सङ्ख्या र क्षतिको परिमाण थाहा हुनेछ।
सामुदायिक प्रश्नावली खण्डले वडाभरिका टोलको सङ्ख्या, वडा कार्यालयबाट सबैभन्दा टाढाको बस्ती, जग्गा नापको एकाइ, निर्यात हुने कृषिजन्य उपज आदिको तथ्याङ्क दिनेछ। वडाको मुख्य आम्दानी, बसोबास गर्ने जातजाति र उनीहरूको मातृभाषा थाहा हुनेछ।
सामुदायिक प्रश्नावलीमा जङ्गली जनावरबाट भएको क्षतिको विवरण समेत जुट्नेछ। त्यस्तै, वडामा रहेका लोपोन्मुख जातिको अवस्था थाहा हुनेछ। विभागले मेचे, राजी, कुशवाडिया, हायू, किसान, राउटे, कुसुन्डा, वनकरिया, सुरेल र लाप्चे जातिलाई लोपोन्मुख सूचीमा राखेको छ।
यो जनगणनामा घरबारविहीनको तथ्याङ्क पनि सङ्कलन गरिएको छ। यद्यपि, नयाँ नक्सामा रहेका लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना गरिएको छैन।
सामुदायिक प्रश्नावली मार्फत सीमान्तकृत जातजातिको अवस्था, अस्पताल, प्रारम्भिक बालविकास केन्द्रदेखि विश्वविद्यालय, विद्युत्को पहुँच, स्वास्थ्य चौकी, ब्यांक तथा वित्तीय संस्थामा पहुँचबारेको विवरण पनि जुट्नेछ। त्यसै गरी, सार्वजनिक शौचालय, सामुदायिक भवन, बालगृह, सभाहल लगायतको विवरण थाहा हुनेछ।