जिते नेता, हारे पत्रकार!
पत्रकार बन्ने र राजनीतिमा पनि जम्ने दोहोरो चरित्रका कारण सूचनाको शुद्धता कायम हुन नसक्दा समाजले क्षति व्यहोर्दै आएको छ, जुन विषयमा हाम्रो ध्यान पुग्न सकेको छैन।
पत्रकारबीच हाँसोठट्टा गर्दा यदाकदा सुनिने कथन हो, ‘पत्रकारले अरूको मात्र कमजोरी देख्छ, आफ्नै चाहिं देख्दैन।’ तर, यो टिप्पणीले वास्तविकता पनि बोकेको छ। हामीकहाँ धेरैजसो पत्रकार र सञ्चारगृहले अरूका थुप्रै कमजोरी औंल्याउँछन्, तर आफू र आफ्ना भ्रातृ समुदायको कमजोरीबारे प्रायजसो आँखा चिम्लिन्छन्। एकाध अपवाद बेग्लै कुरा हो।
पत्रकार भएको नाममा कतिपयले नैतिक रूपमा उपभोग गर्न नमिल्ने स्वतन्त्रता पनि खुलेआम उपयोग गरिरहेका छन्। यस्तो लाग्छ, पत्रकार भनेका समाजका अन्य वर्गभन्दा विशिष्ट हुन् र उनीहरूले सबै कुरामा उन्मुक्ति पाउनुपर्छ।
खासमा पत्रकार सूचना व्यवसायी (इन्फरमेशन प्रोफेसनल्स्) हो। सूचनाको शुद्धता नै पत्रकारको पेशागत आधार हो। उसको पेशागत आदर्श र जिम्मेवारी पनि सूचनाको शुद्धतामै अडेको छ। पत्रकारको मनमा जन्मिने आर्थिक तथा राजनीतिक स्वार्थले नागरिक समक्ष शुद्ध रूपमा प्रवाह हुनुपर्ने सूचनालाई बिटुलो बनाइदिन्छ। बिटुलो सूचनाले दुष्प्रचारको रूप धारण गर्छ, जसले समाजलाई धेरै अर्थमा क्षति गर्छ।
सूचनाको शुद्धता कायम गर्न नसक्दा हुने बहुआयामिक क्षतिलाई ध्यानमा राखेर पत्रकार कुनै पनि राजनीतिक दलमा आबद्ध हुन हुँदैन भन्ने मान्यता विश्वभर स्थापित छ। यही मान्यतालाई मूल सन्देश बनाएर नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घले गत ५ मंसीरमा विज्ञप्ति जारी गर्यो।
चुनावमा उठेर असफल भएपछि पत्रकारितामा फर्केका उदाहरण हामीसामु प्रशस्त छन् । यसले पत्रकारिता क्षेत्रलाई बदनाम मात्र गरेको छैन, प्रदूषित पनि तुल्याएको छ। पत्रकारितामा राजनीतिक कार्यकर्ताको उठबसले विशुद्ध सूचनाको यात्रामा काँडेतार लगाइदिएको छ।
राजनीतिक दलको महाधिवेशनमा पत्रकारहरू धमाधम प्रतिनिधि बनेको समाचार आइरहेको पृष्ठभूमिमा पत्रकार महासङ्घले पत्रकारहरूलाई राजनीतिक दलमा आबद्ध नहुन अपील गर्यो। महासङ्घले गरेको यस्तो अपीलले नेपाली पत्रकार समुदायको एउटा तप्का दलीय राजनीतिबाट सङ्क्रमित छ भन्ने तथ्यलाई उजागर गर्छ, जुन आपत्तिजनक विषय हो।
यद्यपि, पत्रकार राजनीतिमा समाहित हुनु मात्रै आपत्तिको विषय कदापि होइन। मानिसले जीवनमा आफ्नो कार्यक्षेत्र बदल्न सक्छ। पत्रकारले पनि कार्यक्षेत्र फेर्न सक्छ। ऊ पत्रकारिता कर्म छाडेर पूरापूर राजनीतिमा होमिन्छ भने त्यसमा आपत्ति जनाउने कुनै ठाउँ रहँदैन। तर, ऐन–मौकामा राजनीतिक दौडमा पनि सामेल हुने र दौडमा पछि परेमा पत्रकारितामै फर्कने कुरा चाहिं घोर आपत्तिको विषय हो।
चुनावमा उठेर असफल भएपछि पत्रकारितामा फर्केका उदाहरण हामीसामु प्रशस्त छन्। यसले पत्रकारिता क्षेत्रलाई बदनाम मात्र गरेको छैन, प्रदूषित पनि तुल्याएको छ। पत्रकारितामा राजनीतिक कार्यकर्ताको उठबसले विशुद्ध सूचनाको यात्रामा काँडेतार लगाइदिएको छ।
यद्यपि, पत्रकारिता र राजनीतिक वृत्तबीच विद्यमान दृश्य वा अदृश्य नाता–सम्बन्ध नयाँ विषय होइन। राजनीतिक शक्ति र पत्रकारले नेपथ्यमा रहेर एकअर्कालाई सहयोग गर्ने प्रवृत्तिलाई जनाउन ‘क्लाइन्ट पोलिटिक्स’ वा ‘क्लाइन्टलिज्म’ भन्ने शब्दावली प्रयोग भएको पाइन्छ।
‘क्लाइन्ट पोलिटिक्स’ ले राजनीतिक शक्तिको स्वार्थ बमोजिम समाचार तयार पार्ने परिपाटी बसाउने (‘न्यूज फिक्सिङ’ गर्ने) भएकाले यसले सही सूचनाको स्वतन्त्र प्रवाहमा गतिरोध ल्याउँछ। यसप्रति गहिरो चिन्ता व्यक्त गर्दै विद्वत्जनबाट ‘क्लाइन्ट पोलिटिक्स’ ले पार्ने असरबारे शोधमूलक लेखहरू लेखिएका र छापिएका छन्।
चुनावको पूर्वसन्ध्यामा बन्द कोठामा पत्रकारले राजनीतिक नेतृत्वबाट आशीर्वाद थाप्ने परम्परा ‘खुला रहस्य’ नै बनेको छ। यसले पत्रकार राजनीतिक दलको पोल्टामा छ भन्ने तथ्यलाई प्रकारान्तरले पुष्टि गर्छ। पत्रकार र राजनीतिक शक्तिबीच विद्यमान अवाञ्छित साँठगाँठबाट समाजले कुनै न कुनै रूपमा मूल्य चुकाउनुपर्छ।
स्वाभाविक छ, राजनीतिक वृत्तले पत्रकारलाई हातमा लिन चाहन्छ। पत्रकारलाई आफ्नो मुठीमा राख्दा उसलाई थुप्रै फाइदा छ। आफ्नो विषयमा सक्दो प्रशस्तिगान र प्रचार गराउने, आफू विरुद्धका सूचना वा समाचार लुकाउने वा रोक्ने, विपक्षी दल, गुट र नेताबारे दुष्प्रचार गर्ने आदिमा राजनीतिक शक्तिबाट पत्रकार प्रयोग हुने गरेका छन्। पत्रकारको पेशागत सङ्गठनको चुनाव ताका हुने राजनीतिक सलबलाहट र राजनीतिक समीकरणका अभ्यासहरूको रहस्य पनि यही हो।
चुनावको पूर्वसन्ध्यामा बन्द कोठामा पत्रकारले राजनीतिक नेतृत्वबाट आशीर्वाद थाप्ने परम्परा ‘खुला रहस्य’ नै बनेको छ। यसले पत्रकार राजनीतिक दलको पोल्टामा छ भन्ने तथ्यलाई प्रकारान्तरले पुष्टि गर्छ। पत्रकार र राजनीतिक शक्तिबीच विद्यमान अवाञ्छित साँठगाँठबाट समाजले कुनै न कुनै रूपमा मूल्य चुकाउनुपर्छ।
नेपालमा दृश्य वा अदृश्य रूपमा अमुक दलका लागि काम गर्ने पत्रकारको सङ्ख्या कम छैन। कतिपय पत्रकारले राजनीतिक दलको सदस्यता लिएका छन्, जो पत्रकारिता कर्ममा कम र दलका गतिविधिमा बढी सक्रिय भेटिन्छन्। कति पत्रकारले पत्रकारिता पेशामा बहाल रहेकै अवस्थामा कुनै राजनीतिक दलका नेताको प्रेस सल्लाहकारका रूपमा काम गरेका छन्, जुन पेशागत आदर्शका दृष्टिले मर्यादाहीन व्यवहार हो।
कसैको प्रेस सल्लाहकार बन्ने हो भने सम्बन्धित पत्रकारले त्यस अवधिका लागि पत्रकारिता पेशा त्याग्नुपर्छ। पत्रकारिता गर्नु र कसैको प्रेस सल्लाहकार हुनु नितान्त फरक कुरा हुन्। यी र यस्ता राजनीतिसँग जोडिएका पत्रकारिताको आयामलाई नेपालको पत्रकार आचारसंहिताले समेटेको देखिंदैन।
अमेरिकी पत्रकारहरूको पुरानो संस्था ‘सोसाइटी अफ् प्रोफेसनल जर्नालिस्ट्स’ (एसपीजे)को आचारसंहितामा पत्रकारको राजनीतिक संलग्नता र गैरपेशागत क्रियाकलापले पेशागत आदर्श, निष्पक्षता र विश्वनीयतालाई क्षति गर्ने भएकाले त्यस्ता क्रियाकलापमा लाग्न नहुने उल्लेख छ। यसले पत्रकारको दोहोरो भूमिका तिरस्कार गरेको छ।
द न्यूयोर्क टाइम्सले आफ्ना पत्रकारका लागि तयार पारेको आचारसंहिता सम्बन्धी हाते किताब (सन् २००४) मा भनिएको छ- ‘पत्रकारलाई मतदान गर्ने अधिकार छ, त्यसभन्दा बढी कुनै पनि राजनीतिक क्रियाकलापमा सहभागी हुन पाउने ठाउँ छैन। राजनीतिक मैदान पत्रकारका लागि होइन।’
हरेक सचेत नागरिकले जानेकै कुरा हो, कोही पनि आफ्नो पेशागत आचरणबाट विचलित हुनु हुँदैन। त्यसमा पनि पत्रकारको जिम्मेवारी झन् गहन छ। पल–पल बदलिँदै गएको दुनियाँबारे जिम्मेवार भएर सूचना प्रवाह गर्ने र समाजको सकारात्मक परिवर्तनका लागि नयाँ दृष्टिकोण दिने जिम्मेवारी पाएको पत्रकारले सूचनाको शुद्धता कायम गर्न नसक्दा समाजमा अनेक दुष्परिणाम देखा पर्छन्।
नेपालमा भने आनन्दै छ। पेशागत चरित्र र जिम्मेवारीको कुरामा न सम्बन्धित क्षेत्रले न त समाजले नै बहस र प्रश्न गरेको छ। सूचना व्यवसायीहरू राजनीतिक कित्तामा उभिंदा समेत त्यसलाई स्वाभाविक मानिन्छ। सूचना व्यवसायीहरू राजनीतिक मैदानमा पनि उत्रिने र सूचनाको कारोबार पनि गर्ने गरिरहँदा समाजले प्राप्त गर्ने सूचना अशुद्ध हुने क्रम स्वभावतः बढ्छ। त्यसले समाजमा पार्ने असरबारे कमैलाई चिन्ता छ। हामीकहाँ सरोकारको कुरा यत्ति छ– जिते नेता, हारे पत्रकार!
(मिडिया र सांस्कृतिक विषयमा लेख्ने दुरा पत्रकारिता प्राध्यापन गर्छन्।)