‘मिसन जर्नालिज्म’ कि ‘मिसन अफ जर्नालिज्म’?
३० वर्षे पञ्चायतकालीन ‘मिसन पत्रकारिता’ लोकतन्त्र प्राप्तिका लागि एउटा अभियान थियो। तर, ३१ वर्षे बहुदलकालीन मिसन पत्रकारितामा दलगत, गुटगत र व्यक्तिगत प्रोपगन्डा गरेर कस्तो पत्रकारिता गरिएको हो?
‘मिसन पत्रकारिता’ शब्दावली पञ्चायतकालदेखि चल्तीमा छ। अङ्ग्रेजी शब्द ‘मिसन’ र नेपाली ‘पत्रकारिता’ को संयोजनबाट बनेको यस वर्णसङ्कर शब्दले राजनीतिक अभीष्ट सिद्धिका लागि गरिने पत्रकारिता भन्ने अर्थ दिन्छ। वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतको पुस्तक पत्रकारिताका आयाममा ‘मिसन जर्नालिज्म’ को नेपाली रूपान्तर ‘निर्दिष्ट लक्ष्यमुखी पत्रकारिता’ लेखिएको छ।
तर, यो शब्दावलीलाई अङ्ग्रेजी शब्दकोशले चिन्दैन। अङ्ग्रेजीमै खोज्नुपरे ‘मिसन अफ जर्नालिज्म’ भन्नुपर्छ। सन् १९६० दशकको सेरोफेरोमा ‘मिसन जर्नालिज्म’ शब्दावली नेपाल बाहेक अन्यत्र प्रचलनमा देखिंदैन।
संसारभरि नै राजनीतिक उद्देश्य प्राप्तिका लागि अखबार, रेडियो, टेलिभिजन लगायत सञ्चार माध्यमको प्रयोग हुन्छ। अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, भारत सबैतिर लोकतन्त्र प्राप्तिका लागि अखबारको उपयोग भएको पाइन्छ। फ्रान्सका सम्राट् नेपोलियन बोनापार्टले ‘एक हजार हतियारधारी सेनाभन्दा चार वटा विरोधी अखबार शक्तिशाली हुन्छ’ त्यसै भनेका होइनन्।
भारतमा सन् १९२० को दशकदेखि गान्धी, नेहरू लगायत नेताहरूले अङ्ग्रेजहरूलाई भारतबाट हटाउन पत्रपत्रिका प्रकाशन गरी सर्वसाधारण माझ जनचेतना जगाउने प्रयास गरेका थिए। गान्धीको आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण भएकाले अङ्ग्रेजका कर्तुतहरूको पर्दाफास गरी स्वतन्त्रता आन्दोलन प्रति जनमत बनाउन अखबार सबैभन्दा प्रभावकारी अस्त्र थियो। त्यस ताका राजनीतिक अभीष्टका लागि अखबारको प्रयोगलाई कुनै बेनामे कविका निम्न पङ्क्तिले पुष्टि गर्छन्-
खैंचो न तीर कमान, न उठालो कोही तलबार।
अगर करना है फतह जालिमौंको, तो निकालो अखबार।
(धनुषवाण नचलाई, तरबार नउठाई देशद्रोहीहरूलाई तह लगाउनु छ भने अखबार प्रकाशन गर्नुपर्छ।)
नेपालमा २००७ सालको क्रान्तिका वेला अखबारको खासै प्रयोग हुन सकेन। तर, ‘नेपाल प्रजातन्त्र रेडियो’ बाट राणा विरोधी जनचेतना जगाउने प्रयास भयो। यद्यपि, त्यस वेला रेडियो सुन्न सक्ने जनसङ्ख्या नगण्य थियो।
२०४६ सालमा बहुदलीय व्यवस्थाको पुनर्बहाली भएपछि पनि नेपालमा पत्रकारिताको उपयोग गरेर नयाँ नयाँ प्रकारका राजनीतिक मिसन शुरू भए।
नेपालमा मिसन पत्रकारिता
नेपालको सन्दर्भमा ‘मिसन पत्रकारिता’ को उद्देश्य राजनीतिक लक्ष्य हासिल गर्नु हो। तसर्थ, यस शब्दावलीलाई अङ्ग्रेजीमा ‘पोलिटिकल मिसन अफ जर्नालिज्म’ भन्नुपर्ने हुन्छ। उद्देश्य प्राप्ति भएपछि त्यस्तो मिसन स्वतः अन्त्य हुन्छ। नेपालमा भने त्यसो भएन। २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनर्बहाली भएपछि पनि नेपालमा पत्रकारिताको उपयोग गरेर नयाँ नयाँ प्रकारका राजनीतिक मिसन शुरू भए।
नेपालको ‘मिसन पत्रकारिता’ लाई चार चरणमा विश्लेषण गर्न सकिन्छः
पहिलो: पञ्चायतकालीन पत्रकारिता अर्थात् लोकतन्त्रका लागि मिसन पत्रकारिता। बहुदलीय व्यवस्थामाथि प्रतिबन्ध लगाएर निर्दलीय पञ्चायती व्यवस्था लागू हुने बित्तिकै पत्रकार दुई खेमामा विभाजित भए- पञ्चायत पक्षधर र बहुदलीय व्यवस्था पक्षधर। बहुदल पक्षधर पत्रकारहरूले लोकतन्त्र प्राप्तिलाई पत्रकारिताको मिसन बनाए, जसलाई मिसन पत्रकारिता भनियो।
मिसन पत्रकारिताको उद्देश्य लोकतन्त्र प्राप्ति थियो, जसका लागि पत्रकारहरूले कुटाइ खाए, निर्वासन सहे, जेल बसे। ती दुवै पक्षमा खुलेर नलाग्ने मध्यमार्गी पत्रकार पनि थिए, जसले विकासका लागि पत्रकारिता भन्ने अभियान चलाए। यो परोक्ष हिसाबले पञ्चायतकै समर्थन थियो, किनभने पञ्चायतको नारा विकास थियो र उसले २०२८ सालमा ‘विकासका लागि सञ्चार’ नीति घोषणा गरेको थियो।
पञ्चायतकालमै दक्षिणपन्थी र वामपन्थी लेखक/पत्रकार थिए, तर पञ्चायत दुवै पक्षको साझा शत्रु भएकाले दुईबीच खासै मतभेद थिएन। बहुदल लागेपछि पत्रकारहरू स्पष्ट दुई राजनीतिक विचार समूहमा विभाजित भए।
दोस्रोः दल केन्द्रित मिसन पत्रकारिता। सिद्धान्ततः बहुदल आएपछि मिसन पत्रकारिता समाप्त हुनुपर्थ्यो। पत्रकारिता राजनीतिक वकालत रोकेर व्यावसायिक ढङ्गले अघि बढ्नुपर्थ्यो। तर, बहुदलीय व्यवस्था पुनर्बहालीपछि पनि मिसन पत्रकारिता रोकिएन। पञ्चायतकालमै दक्षिणपन्थी र वामपन्थी लेखक/पत्रकार थिए, तर पञ्चायत दुवै पक्षको साझा शत्रु भएकाले दुईबीच खासै मतभेद थिएन। बहुदल लागेपछि पत्रकारहरू स्पष्ट दुई राजनीतिक विचार समूहमा विभाजित भए।
कांग्रेस निकट पत्रकारहरूले प्रेस युनियन गठन गरे भने एमाले निकट पत्रकारहरूले प्रेस चौतारी। लोकतन्त्रको पुनर्बहाली र माओवादीसँग शान्ति सम्झौता हुने वेलासम्म पत्रकार खुलेरै सम्बन्धित राजनीतिक दलको उत्थान र प्रवर्द्धनमा लागे, जसलाई दल केन्द्रित मिसन पत्रकारिता भन्न सकिन्छ।
तेस्रोः गुटगत मिसन पत्रकारिता। २०४६ सालदेखि २०६२-६३ सम्म पत्रकारहरू मूलतः राजनीतिक दल केन्द्रित थिए, जस्तैः नेपाली कांग्रेसको अजेन्डा बोक्ने प्रेस युनियन, एमालेको अजेन्डा बोक्ने प्रेस चौतारी र माओवादीको अजेन्डा बोक्ने क्रान्तिकारी। तर, बिस्तारै पत्रकारहरू पार्टीको गुट वा खेमा केन्द्रित हुँदै थिए, एउटा खेमाको प्रचारप्रसार गर्ने र अर्को पक्षलाई खुइल्याउने शैली विकास भइरहेको थियो।
त्यस वेला खुलेका रेडियो वा टेलिभिजन समेत कुन पार्टीको कुन खेमाको भनी श्रोताले अनुमान गर्नसक्ने भइसकेका थिए। अधिकांश साप्ताहिक पत्रपत्रिका त आफ्नो गुटका नेताको स्तुतिगान र अर्को गुटको सत्तोसराप गर्न थालिसकेका थिए। बिस्तारै गुटगत मिसन पत्रकारिता अनलाइन पोर्टलहरूमा समेत विस्तारित हुनथाल्यो।
चौथो, व्यक्तिकेन्द्रित मिसन पत्रकारिता। २०७२ सालमा संविधान जारी भएपछि नेपालमा एकातिर शान्ति, स्थिरता र विकासको अपेक्षा गरिंदै थियो, अर्कातिर पत्रकारिताको व्यावसायिक विकास हुने आशा पनि थियो। त्यस वेला दिनहुँ दर्जनौंको सङ्ख्यामा अनलाइन पोर्टल दर्ता भइरहेका थिए। प्रेस काउन्सिल नेपालमा लगभग तीन हजार सूचीकृत अनलाइन छन्।
मन्त्री, सांसद, नेता-कार्यकर्ताका मात्र हैन, नगरपालिका, गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा बालुवा-गिट्टी ठेकेदार, निर्माण व्यवसायी आदिका आ-आफ्नै अनलाइन पोर्टल छन्। आफू राम्रो देखिन, आफ्नो बढुवा गर्न, कतै पुरस्कृत हुन आफैंले चलाएका भूमिगत अनलाइन पोर्टलको बिगबिगी छ।
मन्त्री, सांसद, नेता-कार्यकर्ताका मात्र हैन, नगरपालिका, गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा बालुवा-गिट्टी ठेकेदार, निर्माण व्यवसायी आदिका आ-आफ्नै अनलाइन पोर्टल छन्। आफू राम्रो देखिन, आफ्नो बढुवा गर्न, कतै पुरस्कृत हुन आफैंले चलाएका भूमिगत अनलाइन पोर्टलको बिगबिगी छ। यो व्यक्तिकेन्द्रित पत्रकारिताको उत्कर्ष कोभिड-१९ को महामारीसँगै अझ छताछुल्ल देखियो।
सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण प्रायजसो पाठकले पूरै समाचार नपढ्ने भएकाले समाचारको शीर्षकमै आफू प्रति सकारात्मक हुने गरी समाचार लेखाउने चलन शुरू भयो। जस्तै, फलानो व्यक्ति (नेता वा मन्त्री वा कार्यकर्ता)को पहलमा यस्तो भयो। यसले व्यक्तिकेन्द्रित मिसन पत्रकारिताको झलक दिन्छ।
यसरी बहुदलीय व्यवस्था प्राप्तिका लागि केन्द्रित नेपाली पत्रकारिता आज व्यक्तिकेन्द्रित तहमा ओर्लिएको छ। यसबीच पत्रकारिताले सबैभन्दा बढी नेताहरूलाई चर्चित बनायो। व्यापारी र बिचौलियाहरूलाई समाजसेवीको लेपन लगाइदियो। सञ्चार माध्यममा उनीहरूको लगातारको कभरेजले अल्पसङ्ख्यक र सीमान्तकृत समुदायको आवाज झनै दबियो। नेताले संविधान र लोकतन्त्रकै विरुद्धमा कदम चाले पनि त्यो गलत हो भन्नसक्ने पत्रकार भेटिएनन्।
पत्रकारको चेतना र विवेकको लगाम नेताको हातमा पुग्यो। पत्रकारहरू शक्तिमा रहेकाहरूको निगरानी गर्ने होइन, उनीहरूकै चाकरी गर्ने, सेवासुविधा लिने, राम्रो जागीर वा अवसर खोज्ने भए। खास राजनीतिक उद्देश्य प्राप्तिका लागि मिसन पत्रकारिता शुरू भए पनि अहिले यो स्वार्थपूर्तिका गतिविधिलाई लेपन लगाउने हतियार बनेको छ।
खास राजनीतिक उद्देश्य प्राप्तिका लागि मिसन पत्रकारिता शुरू भए पनि अहिले यो स्वार्थपूर्तिका गतिविधिलाई लेपन लगाउने हतियार बनेको छ।
‘मिसन अफ जर्नालिज्म’
‘मिसन’ को नेपाली रूपान्तरण लक्ष्य वा ध्येय हुन्छ। खासमा लोकतन्त्रको रक्षा, आवाज विहीनहरूको प्रतिनिधित्व र सत्ता र शक्तिमा रहेकाहरूमाथि लगातार निगरानी पत्रकारिताको मिसन (अर्थात् लक्ष्य) हुनुपर्ने हो। पत्रकार एवं रट्गर विश्वविद्यालयका पत्रकारिता प्राध्यापक जोन पाभ्लिकको विचारमा पत्रकारिताको मिसनमा १० कुरा समेटिएको हुनुपर्छः (क) सत्यको खोजी, (ख) स्थलगत रिपोर्टिङ, (ग) चाखलाग्दो र गुणस्तरीय प्रस्तुति, (घ) प्रेस स्वतन्त्रता (सरकारसँग कुनै किसिमको मोलाहिजा नगरी समाचार लेख्ने)।
(ङ) स्वतन्त्रता (सत्य र निष्ठाका लागि कुनै स्रोत वा संस्थासँग सम्झैता नगर्ने), (च) पछिल्लो प्रविधिको प्रयोग गर्ने, (छ) तथ्यपरक समाचारको प्रस्तुति, (ज) समावेशी विषयवस्तु (सबै पक्ष र दृष्टिकोण समेट्ने), (झ) समाचारलाई ऐतिहासिक वा सांस्कृतिक वा अन्य हिसाबले सान्दर्भिक बनाउने, र (ञ) आचारसंहिता पालन गर्ने।
त्यस्तै, ‘सङ्कटको वेला पत्रकारिताको ‘मिसन’ के हुनुपर्छ’ शीर्षक लेखमा द गार्डियन पत्रिकाका प्रमुख सम्पादक क्याथरिन भाइनर लेख्छिन्- ‘समाचारमा तथ्यहरूको पुष्ट्याइँ सहितको प्रस्तुति। किनभने, सङ्कटको वेला अपसूचनाहरूले चलखेल गर्ने मौका पाउँछन्।’ उनले उक्त लेखमा भनेकी छन्- सम्पादकीय स्वतन्त्रताको रक्षा तथा आर्थिक र राजनीतिक अवरोध विना पत्रकारिता गतिविधिहरूको निर्बाध प्रयोगका लागि द गार्डियन पत्रिकाले पाँच सिद्धान्त अपनाएको छ-
(क) आलोचना मात्रै नगर्ने, दृष्टिकोण पनि पस्किने, (ख) पाठक र अन्य सरोकारवालासँग सहकार्य गरेर समाचारलाई अझ परिणाममुखी बनाउने, (ग) समाचारकक्षलाई समावेशी र सुविधायुक्त बनाएर विविध पक्षका विषयवस्तु उचित मात्रामा समेट्ने, (घ) आफ्ना हरेक गतिविधिलाई अर्थपूर्ण र रचनात्मक बनाउने, (ङ) रिपोर्टिङ गर्दा शक्तिमान र शक्तिहीन दुवैका लागि एउटै मापदण्ड प्रयोग गर्ने।
माथिका दुई थरी व्याख्यालाई आधार मान्दा पत्रकारिताको व्यावसायिक धर्म पालना नै पत्रकारिताको मिसन हुनुपर्छ। अमेरिकी पत्रकार बिल कोभाच र टम रोसेस्न्टिअलले सन् १९९९ मा देशव्यापी सर्वेक्षण गरेर पत्रकारका लागि नौ वटा उत्तरदायित्व प्रस्ताव गरे, जसलाई व्यावसायिक पत्रकारिताको मिसन भन्न सकिन्छः (१) पत्रकारिताको पहिलो सरोकार सत्यसँग छ। (२) यसको पहिलो दायित्व नागरिकहरू प्रति छ।
नेपालमा हिजोआज चलेको ‘मिसन पत्रकारिता’ को उद्देश्य आफूले चाहेको राजनीतिक शक्ति सत्तामा पुगोस् र त्यसकै तजबिजमा नाफामूलक काम गर्न पाइयोस् भन्ने हो।
(३) यसको मूल मर्म भनेको सूचनाको प्रमाणीकरण हो। (४) पत्रकारले समाचारमा समेटिने विषयवस्तुबाट आफूलाई अलग राख्नुपर्छ। (५) पत्रकारले शक्तिमा रहेकाहरूको स्वतन्त्र अनुगमनकर्ताका रूपमा काम गर्नुपर्छ। (६) पत्रकारिताले सार्वजनिक आलोचना र सहमतिका लागि मञ्च उपलब्ध गराउनुपर्छ।
(७) पत्रकारले महत्त्वपूर्ण, रुचिकर र सान्दर्भिक विषयवस्तु प्रस्तुतिका लागि प्रयत्न गर्नुपर्छ। (८) पत्रकारले प्रस्तुत गर्ने समाचार विस्तृत र समानुपातिक हुनुपर्छ। र, (९) पत्रकारहरूसँग आफ्नो विवेक प्रयोग गर्ने दायित्व हुन्छ।
‘मिसन जर्नालिज्म’ कति आवश्यक?
माथि उल्लेख भए अनुसार, ‘मिसन अफ जर्नालिज्म’ र ‘मिसन जर्नालिज्म’ फरक फरक विषय हुन्। पहिलोले पत्रकारिताको व्यावसायिक धर्म बुझाउँछ भने दोस्रोले पत्रकारितालाई प्रयोग गरेर राजनीतिक वा अन्य अभीष्ट सिद्धिको उद्देश्य राख्छ। खासमा पत्रकार र सम्बन्धित सञ्चार संस्थाले माथि उल्लिखित उत्तरदायित्वहरूको परिपूर्तिका लागि काम गर्नु नै पत्रकारिताको मिसन हो।
तर, हामीले बनाएको वर्णसङ्कर अङ्ग्रेजी शब्दावली (मिसन जर्नालिज्म) जस्तै खास राजनीतिक वा व्यक्तिगत स्वार्थका लागि गरिने पत्रकारिता पेशागत पत्रकारिताको दुरुपयोग हो। ‘हाम्रो दलको नेता भएका कारण फलानोले जे गर्नु पनि ठीक’ भनेर मिडियाबाजी गर्नेहरू पत्रकारको आवरणमा राजनीतिक ‘मिसनरीहरू’ हुन्। नेपालमा हिजोआज चलेको ‘मिसन पत्रकारिता’ को उद्देश्य आफूले चाहेको राजनीतिक शक्ति सत्तामा पुगोस् र त्यसकै तजबिजमा नाफामूलक काम गर्न पाइयोस् भन्ने हो।
हात परेको समाचारमा मोलमोलाइ गर्न पाइन्छ। समाचार त हात लाग्यो, तर नछाप्ने हो भने यति चाहिन्छ भनेर मुखमुखै भन्न पाइएको छ। यस्तो ‘मिसनरी’ लाई पत्रकार भन्नुपरेको छ।
आफ्नै खल्तीको मिडिया भयो भने आफ्ना विरोधीहरूको उछित्तो काड्न पाइन्छ। ठेक्कापट्टामा भागबन्डा नमिले त्यसबारे श्रृङ्खलाबद्ध समाचार लेख्छु भनेर धम्क्याउन पाइन्छ। हात परेको समाचारमा मोलमोलाइ गर्न पाइन्छ। समाचार त हात लाग्यो, तर नछाप्ने हो भने यति चाहिन्छ भनेर मुखमुखै भन्न पाइएको छ। यस्तो ‘मिसनरी’ लाई पत्रकार भन्नुपरेको छ।
पत्रकारिताको मिसनले पत्रकारिताको ओज बढाउँछ र समाजमा लोकतान्त्रिक पद्धतिको पृष्ठपोषण गर्छ भने मिसन पत्रकारिताले पत्रकारिताको दुरुपयोग गर्छ, आफ्नो अभीष्ट सिद्धि गर्छ, पत्रकार र पत्रकारितालाई बदनाम बनाउँछ। मिसन पत्रकारिताले आवाज विहीनहरूको आवाज होइन, नेता, व्यापारी वा अन्य पहुँचवाला वर्गको प्रतिनिधित्व गर्छ। चौथो अङ्गको भूमिकालाई कुनै राजनीतिक दलको खटनपटनमा समर्पण गर्छ। परिणामतः राज्यका संयन्त्रहरूको निगरानी र खबरदारी गर्नुपर्नेमा उनीहरूकै लोकन्तीको भूमिकामा बहुसङ्ख्यक पत्रकार उभिएका छन्।
पत्रकारिताले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका लागि पनि सङ्घर्ष गर्नुपर्छ। शासक वा राज्य संयन्त्रलाई निरन्तर खबरदारी गर्नुपर्छ। यसमा दुईमत छैन। फर्केर हेर्दा, ३० वर्षे पञ्चायतकालीन मिसन पत्रकारिता लोकतन्त्र प्राप्तिका लागि एउटा अभियान थियो, प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि अभियान थियो। तर, ३१ वर्षे बहुदलकालीन मिसन पत्रकारितामा दलगत, गुटगत र व्यक्तिगत प्रोपगन्डा गरेर कस्तो पत्रकारिता गरिएको हो? बुझिसक्नु छैन।
पञ्चायतकालभन्दा पचासौं गुणा पत्रकार र सञ्चार माध्यम बढी भएर पनि यो अवधिमा पत्रकारको ओज र पत्रकारिताको गुणस्तर बढ्न सकेन। हामी हाम्रा अग्रज पत्रकारहरूले गरेको पत्रकारिताको स्वाभिमानको छहारीमा उभिन लायक छैनौं, रहेनौं। तसर्थ, ‘मिसन जर्नालिज्म’ छाडौं, ‘मिसन अफ जर्नालिज्म’ लाई अँगालौं।
(हिमालको २०७८ कात्तिक अङ्कमा ‘मिसन जर्नालिज्मको बोझ’ शीर्षकमा प्रकाशित।)