घनश्याम भुसालले दिए उपाध्यक्षमा उम्मेदवारी
नेकपा (एमाले) नेता घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
नेता भुसालले सोमबार बिहान उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्। एमाले अध्यक्ष ओलीले गएराति छनोट गरेको पदाधिकारीमा उनलाई समावेश गरिएको थिएन।
अध्यक्ष ओलीले ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङलाई छानेका थिए। त्यसमा असन्तुष्टि जनाउँदै भुसालले उम्मेदवारी दिएका हुन्।
त्यस्तै, एमाले नेता एवं प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आचार्यले सचिवमा उम्मेदवारी दिएका छन्। उनलाई पनि अध्यक्ष ओलीले पदाधिकारी सूचीमा राखेका थिएनन्।
अध्यक्ष ओलीले सात जना सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई छानेका थिए।
चितवनको सौराहास्थित होटल सेभन स्टार परिसरमा एमालेको १०औं महाधिवेशनको चुनावी प्रक्रिया चलिरहेको छ। अध्यक्ष ओलीले सहमतिका लागि ३०१ केन्द्रीय सदस्य र १९ पदाधिकारीको सूची सार्वजनिक गरेका थिए। त्यसमा भीम रावल र भुसालले असहमति जनाएपछि निर्वाचन प्रक्रिया प्रारम्भ भएको हो।
आज बिहानै अध्यक्ष पदका लागि रावलले उम्मेदवारी दर्ता गराइसकेका छन्। उनलाई पनि अध्यक्ष ओलीले आफ्नो पदाधिकारी सूचीमा राखेका थिएनन्।