संसारका सय कलाकारसँग प्रतिस्पर्धा गर्न झिझियाँको तयारी (तस्वीरहरू)
संसारका एक सयभन्दा बढी कलाकारसँग प्रतिस्पर्धा गर्न जनकपुरका चार जना कलाकारले काठमाडौंमा झिझियाँको तयारी गरिरहेका छन्।
काठमाडौंको सिद्धार्थ आर्ट फाउन्डेसनले ‘काठमाडौं ट्रिएनाले’ आयोजना गर्न लागेको छ। आउदो माघमा हाँडीगाउँ संग्रहालयको प्राङ्गणमा हुने प्रदर्शनीमा ४० देशका एक सयभन्दा बढी कलाकार सहभागि हुनेछन्।
यसमा मिथिला चित्रकला पनि प्रदर्शनीमा राखिनेछ। यसको तयारीका लागि जनकपुरको नारी विकास केन्द्रबाट मिथिला चित्रकार मञ्जुला ठाकुर, मधुमाला मण्डल, सुधिरा कर्ण र रेवती मण्डल काठमाडौं आएका छन्।
चारै जना एक सातादेखि झिझियाँ (मिथिला भित्तेचित्र) बनाइरहेका छन्। उनीहरूले बनाएको झिझियाँ प्राथमिकतासाथ प्रदर्शनीमा समेटिने को-क्युरेटर सिलेसा राजभण्डारीले बताइन्। यो कला उत्सवमा मिथिला चित्रकला आकर्षणको केन्द्र बन्ने उनको विश्वास छ।