झिझियाँले उघारेको घुँघट
मिथिला क्षेत्रका महिलाले जसरी मिथिला कलालाई जोगाएका छन्, ठीक त्यसै गरी कलाले पनि उनीहरूको आत्मविश्वासलाई उचो बनाउँदै लगेको छ।
शरीरमा भरि ट्याटु, नाकमा रङ्गीन नत्थी अनि मुहारमा चम्किँदै गरेको हाँसो । यस्तै चमक उनको कलामा पनि देखिन्छ। उनी अर्थात् मञ्जुला ठाकुर। मिथिला कलाकी सर्जक।
उनका लागि चित्रकलामा दखल राख्नु जति सामान्य थियो, त्यति नै कठिन थियो घरका चार दिवार नाघेर त्यसलाई बाहिर लैजानु। त्यही असामान्य काम गरेर विशेष परिचय बनाएकी छन् मञ्जुलाले। “हामीले त घरगाउँ मात्र नभएर देशविदेशमा पनि मिथिला चित्रकला प्रदर्शन गरिसक्यौं,” उनी भन्छिन्। गरीबीले पिल्सिएको परिवार, १२ वर्षमा विवाह अनि २० वर्षमै दुई सन्तानकी आमा। ठ्याक्कै आम मैथिली महिलाकै जस्तो नियति। त्यो नियतिबाट बाहिर निस्कन कलाकै लहरो समातेर तीन दशक सङ्घर्षमा घोटिइन् उनी।
धनुषाको लक्ष्मिनिया हो, मञ्जुलाको घर। बाल्यकालमा आमाले नै हात थमाएर माटो, पीठो, गोबर आदिले भित्तेचित्र बनाउन सिकाइन्। चाडपर्वमा पूजा-आराधनाका लागि यस्ता चित्र कोर्नु परम्परा नै थियो। मञ्जुलालाई विद्यालय जान मन थियो, तर जानुपर्यो पराईघर। १२ वर्षकै उमेरमा आँगनमा डोली आइहाल्यो।
त्यसपछि पनि घरका भित्ता र भुइँ रङ्ग्याउन चाहिं छाडिनन्। तर, उनको कलालाई कसैले गहिरिएर हेरेन न त बुझ्ने प्रयास गर्यो। “मैले जति नै राम्रो बनाए पनि कसैले केही भन्दैनथे। श्रीमान् त अझ रक्सी खाएर आई कुट्थ्यो,” मञ्जुलाले विगत सम्झिइन्।
यसै गरी २० वर्ष बिते। पति कमाएर ल्याउनुभन्दा भएको पैसा पनि रक्सीमा उडाउन थाले। अब उनलाई छोराहरू हुर्काउनै चुनौती भयो। त्यही अप्ठ्यारो घडीमा उनको भेट भयो क्लेयर बुर्कर्टसँग। अमेरिकाकी यी कलाप्रेमी महिला २०४३ सालका ती दिन मिथिला भित्तेचित्रको अभिलेख जुटाउन जनकपुरका मैथिल बस्ती चहार्दै थिइन्। बुर्कर्टले पैसा दिएरै चित्र बनाउन लगाइन्। मञ्जुलाले पहिलो पटक थाहा पाइन्- अक्षर नचिन्दा पनि पैसा कमाइँदो रहेछ। त्यति वेला ५० रुपैयाँ कमाएकी थिइन् उनले।
आमाले सिकाएको सीप र बुर्कर्टसँगको चिनापर्ची मिसिएपछि मञ्जुलाको जीवनले काँचुली फेर्यो। उनलाई भर्खरै स्थापित नारी विकास केन्द्रले जागीर दियो। जहाँ उनले आफ्नो कला निखार्ने तालीमसँगै अरू थुप्रै अवसर पाइन्।
“श्रीमान्ले खाना खाँदा पङ्खा हम्किएर बस्ने म अब जागीरे पो भएँ,” उनी खुशी साट्छिन्, “आफैंले कमाउन थालेपछि सबैले कुरा सुन्दा रहेछन्। पीर पनि भुलिंदो रहेछ।” त्यसपछि मञ्जुलाको सपना परम्पराको घुम्टोमा कैद भएर बसेन। त्यसले सात समुद्र पार गर्यो। चार पटक अमेरिका, एक पटक स्पेन पुगेर चित्र बनाइन्, त्यहीं तिनको प्रदर्शन गरिन्। देशभित्र त यस्ता कार्यक्रम सामान्य नै भइहाले।
चित्रकलाकै दौरान देशदेशावर डुल्दा टोल-समाजमा उनको चरित्रमाथि औंला नठडिएका होइनन्। तर, उनले सरकार र विभिन्न प्रतिष्ठित संघसंस्थाबाट पाएका इज्जत, सम्मान, पुरस्कारले ती आरोपलाई मिथ्या ठहर्याइदिए।
आज मञ्जुलाकै आम्दानी घर चलाउन सहयोगी बनेको छ। “गाउँमा जग्गा समेत जोडेकी छु। घर छ। सबैको सम्मान र माया छ,” उनले सुनाइन्।
मञ्जुलाले आफू पढ्न नपाए पनि छोरीलाई स्नातकसम्म पढाएकी छन्। यसैलाई जीवनको ठूलो सुख र सन्तुष्टि मान्छिन्। अहिले काठमाडौंमा १५ दिनका लागि भित्तेचित्र बनाउन आएकी उनलाई यो ठाउँ निकै प्यारो लाग्छ। किनकि, उनी यहाँ छुट्टै स्वतन्त्रता अनुभव गर्छिन्। भन्छिन्, “हाम्रो ठाउँमा भन्दा यहाँ महिलालाई काम गर्न सहज छ। सबैले एकअर्काको इज्जत गर्छन्।”
मञ्जुलाले झेलेको समाज अहिले जस्तो सजिलो थिएन। शुरूमा उनी नारी विकास केन्द्रमा चित्र बनाउन जाँदा परिवारले नै रुचाएन। ‘महिला घर बाहिर निस्कनु बिग्रनु हो’ भन्ने मान्यता राख्थ्यो समाज। आफ्नो हकमा यो मान्यता बदल्न उनलाई २५ वर्ष लाग्यो। त्यही बदलाव परिवारमा पनि आएको छ। “अहिले घर कसरी चलाउने भनेर मैले नै निर्णय गर्छु, बूढाले पनि साथ दिन्छन्,” उनले भनिन्, “दुवैको पैसा प्रयोग गर्छौं।” मञ्जुलाका पति एक निजी संस्थामा सुरक्षा गार्ड छन्।
उनै मञ्जुला सहित नारी विकास केन्द्र जनकपुरका चार कलाकार अहिले मिथिला भित्तेचित्र (झिझियाँ) बनाउन काठमाडौं आएका छन्, ‘काठमाडौं ट्रिएनाले २०७७’ मा हुन लागेको कला-प्रदर्शनीका लागि चित्र बनाउन। सिद्धार्थ आर्ट फाउन्डेसनले विश्वभरिका चित्रकला जुटाएर आगामी माघमा यो प्रदर्शनी गर्दै छ।
सोही टोलीमा छिन्, मिथिलाकै अर्की चित्रकार मधुमाला मण्डल। परम्परागत चित्रकलाले पेशाको रूप लिँदा महिलाहरूलाई आर्थिक उपार्जनमा बल पुगेको उनी बताउँछिन्। “चित्रकलाकै बलमा ‘स्पाइनल कर्ड इन्जुरी’ भएको छोराको उपचार गराइरहेकी छु,” उनले भनिन्।
घर सजाउन पुर्खाबाट हस्तान्तरण हुँदै आएकोे संस्कार कुनै दिन जीविकोपार्जनको माध्यम बन्ला भन्ने यी महिलाले सोचेका थिएनन्। अहिले यही आत्मनिर्भरताको बलियो साधन बनेको छ। “चित्र बनाउँदा सम्पूर्ण पीडा भुलिन्छ। विभिन्न ठाउँमा पुग्दा आत्मबल बलियो हुन्छ,” मधुमाला भन्छिन्।
गोबर र माटोले आँगन र भित्ता सजाउने उनी अचेल देशभरिका कला-उत्सव र प्रदर्शनीहरूमा पुग्छिन्। रङ्गहरूको कौशल देखाउँछिन्। “अब चाहिं घरमा बनाइराखेका चित्र विदेशमा गएर देखाउने मन छ,” मधुमालाले योजना सुनाइन्।
यी महिलाहरूले जसरी मिथिला कला जोगाएका छन्, ठीक त्यसै गरी कलाले उनीहरूको परिवार जोगाइदिएको छ। उनीहरू महीनामा कम्तीमा १० हजार कमाउने गरेको सुनाउँछन्। कुनै वेला त्योभन्दा बढी पनि हुन्छ।
यिनैमध्येकी हुन्, सुधीरा कर्ण। २५ वर्षकै उमेरमा उनले पति गुमाइन्। त्यसयता चित्रकलाकै आम्दानीले छोरा र आफ्नो जीवन धान्दै छिन्। “यो कला नहुँदो हो त कसैको घरमा भाँडा माझ्न पथ्र्यो होला,” उनले भनिन्, “हामी दुई आमाछोरालाई यसैले बचायो।’
उनले पनि नारी विकास केन्द्रको तालीमले आफ्नो सीप तिखारेकी हुन्। केन्द्रबाटै चित्र बनाउन देश-विदेशसम्म पुगिन्। आज सुधीरा मिथिलाकी प्रखर चित्रकारका रूपमा चिनिन्छिन्। २० वर्ष अघिसम्म उनलाई यस्तो दिन आउला भन्ने कल्पनासम्म थिएन। दुई वर्ष केन्द्रमा काम गरेपछि उनलाई आफैं चित्र प्रदर्शनी गर्ने आँट आयो। त्यसैको कमाइले छोरालाई स्नातकसम्म पढाइन्। “अहिले त छोरा डिग्री गर्दै छ। बैंकमा काम गर्छ। आफ्नै कमाइले पढ्छ। मलाई माया पनि गर्छ,” उनी भन्छिन्।
पोखरा, विराटनगर र टीकापुरसम्म भित्तेचित्र बनाउन पुगेकी छन् सुधीरा। बेल्जियममा प्रदर्शनी गरेकी छन्। अचेल चित्रकलासँगै पुस्तक अध्ययनमा पनि रुचि बढेको छ। “पुस्तक पढ्दा चित्र बनाउन अझै ज्ञान आउँदो रहेछ,” भन्छिन्, “यस पटक काठमाडौंको आम्दानीले केही पुस्तक किनेर घर लैजान्छु।”
अर्की मिथिला चित्रकार रेवती मण्डल चाहिं चित्रकलाकै कारण बारीमा नङ्ग्रा खियाउनु नपरेकोमा खुशी छिन्। “गाउँमा पाँच दिन बिहानदेखि बेलुकासम्म धान काट्दा पनि यति कमाइ हुँदैन जति एक दिनमा चित्र बनाउँदा पाइन्छ,” उनले सुनाइन्। ५३ वर्षीया रेवती चित्रहरूको बिक्री र कला-महोत्सवमा हुने आम्दानीबाटै जीवन धान्छिन्। “छोराहरू छुट्टिएर बसेका छन्। म त आफैं कमाउँछु, खान्छु,” उनी भन्छिन्।
२६ वर्षअघि प्राध्यापक राजेन्द्र विमल र उनै अमेरिकी कलाप्रेमी बुर्कर्टले रेवतीको कला परख गरेका थिए। उनलाई काम गर्ने अवसर दिए। त्यसैको बलमा रेवतीले तीन छोराछोरी पढाइन्। “भाग्य मात्र होइन, अवसर पनि चाहिंदो रहेछ। बुर्कर्टले हामीलाई दिए जस्तै,” उनले भनिन्, “कुनै वेला १०० रुपैयाँ कमाइन्थ्यो। अहिले यो काम सक्दा १० हजारसम्म त पक्कै होला। त्यसले वर्षदिन पुग्ने गहुँ, चामल खरीद गर्छु।”
त्यसो त समाजमा महिलाले बनाएका परम्परागत शैलीका कलालाई कम आँक्ने प्रवृत्ति पनि छ। त्यस कारण पनि ‘काठमाडौं ट्रिएनाले २०७७’ मा मिथिला कलालाई प्राथमिकतापूर्वक समेटिएको यसकी ‘कोक्यूरेटर’ सिलेसा राजभण्डारी बताउँछिन्। “महिलाहरूको कलालाई महत्त्व दिनाले नै महिला सशक्तीकरण हुन्छ,” उनले भनिन्। आउँदो माघमा हाँडीगाउँ सङ्ग्रहालयको प्राङ्गणमा हुने यस कला-उत्सवमा ४० देशका सयभन्दा धेरै कलाकारका चित्रसँगै मिथिलाको झिझियाँले पनि स्थान पाउँदै छ।