अति कम विकसितबाट माथि उठ्ने नेपालको प्रस्ताव राष्ट्रसंघद्वारा अनुमोदन
संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अति कम विकसित मुलुकबाट माथि उठाउने प्रस्ताव अनुमोदन गरेको छ।
महासभाको बुधबारको बैठकले नेपालका साथै बाङ्लादेश र लाओसको प्रस्ताव पनि स्वीकार गरेको हो।
नेपालले विकासशील मुलुक हुन पाँच वर्षको समय पाएको छ। महासभामा बोल्दै संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृत राईले राष्ट्रसंघका मापदण्ड पूरा गर्दै नेपाललाई विकासशील बनाउने प्रतिबद्धता जनाएका छन्।
राष्ट्रसंघको मापदण्ड अनुसार, आगामी पाँच वर्षभित्र नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुनेछ।
संयुक्त राष्ट्रसंघले बनाएको विकास सम्बन्धी नीति अनुसार, नेपाल अहिले अति कम विकसित राष्ट्रको सूचीमा छ। नेपाल जस्तै अन्य ४७ मुलुक पनि यो सूचीमा छन्।
नागरिकको प्रति व्यक्ति आय, आर्थिक जोखिम तथा मानव सम्पत्ति सूचकका तीन मापदण्डमध्ये दुईमा उत्तीर्ण हुने देश विकासशीलको सूचीमा उक्लिन पाउँछन्।
यसमध्ये आर्थिक जोखिम र मानव सम्पत्ति सूचकमा नेपालले स्तरोन्नतिको मापदण्ड पूरा गरेको छ। प्रति व्यक्ति आयमा भने तोकिएको मापदण्ड पूरा भएको छैन।