द्वन्द्वकालीन घटनाको छानबिन गर्न प्रतिबद्ध छौं : दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालीन घटनाको सत्यतथ्य छानबिन गर्न प्रतिबद्ध रहेको बताएका छन्।
विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५औं वर्षका अवसरमा अध्यक्ष दाहालले आइतबार प्रेस विज्ञप्ति जारी गरी द्वन्द्वकालीन घटनाको छानबिन गर्न प्रतिबद्ध रहेको बताएका हुन्।
“युद्धलाई शान्तिमा रूपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भए पनि सो अवधिमा घटेका घटनाको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न, पीडितहरूलाई परिपूरण र सङ्क्रमणकालीन न्यायको मान्यतामा आधारित छानबिनको प्रक्रियाबाट टुङ्गोमा पुर्याई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ,” दाहालले भनेका छन्, “आजसम्मका राजनीतिक उपलब्धिप्रति गर्व गर्दै सो क्रममा भएका कमी–कमजोरीको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न हामी प्रतिबद्ध छौं।”
यसमा माओवादी मात्रै नभएर सत्तापक्ष र प्रतिपक्ष पनि प्रतिबद्ध रहेको उनले जनाएका छन्। दाहालले भनेका छन्, “यो मामिला सरकारको मात्र मामिला नभई राज्यको मामिला हो। यसर्थ, यस विषयमा आजका दिनसम्म सत्तापक्ष र प्रतिपक्ष एकमत छौं र बाँकी काम सम्पन्न गर्न पनि प्रतिबद्ध र एकताबद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्बद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौं।”
उनले शान्ति प्रक्रियाका बाँकी काम पनि टुङ्गोमा पुर्याइने बताएका छन्। “शहीद तथा बेपत्ता परिवार, घाइते, विस्थापित लगायत पीडितहरूसँगको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै, नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामी अधिवेशनमा टुङ्गोमा पुर्याउन र शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न प्रतिबद्ध छौं,” दाहालले भनेका छन्।
उनले यस कार्यक्रममा सहयोग गर्न सबैलाई आह्वान पनि गरेका छन्। १५ वर्षअघि आजकै दिन सरकार र तत्कालीन सशस्त्र विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको थियो। त्यसपछि माओवादी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो।