शान्ति सम्झौता कार्यान्वयनको माग गर्दै प्रदर्शन (तस्वीरहरू)
विस्तृत शान्ति सम्झौता कार्यान्वयनको माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।
द्वन्द्वपीडित समुदाय र नागरिक संघसंस्थाहरूको आयोजनामा शान्तिपूर्ण प्रदर्शन गरिएको हो। विस्तृत शान्ति सम्झौताको अहिलेसम्म कार्यान्वयन नभएकाले प्रदर्शन गरिएको द्वन्द्वपीडितले बताएका छन्।
५ मंसीर २०६३ मा सरकार र तत्कालीन सशस्त्र विद्रोही नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएको थियो। त्यही सम्झौतापछि माओवादी शान्तिपूर्ण राजनीतिमा आएको थियो।
शान्ति सम्झौतामा संविधानसभाबाट संविधान निर्माण गर्ने, माओवादी लडाकूको व्यवस्थापन गर्ने र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घन र ज्यादतीको निष्पक्ष छानबिन गरी पीडितलाई सत्य, न्याय र परिपूरण दिने उल्लेख छ।
संविधान र लडाकूको व्यवस्थापन गरिएको भए पनि गम्भीर मानव अधिकार उल्लङ्घन र ज्यादतीको छानबिन गरी पीडितलाई सत्य, न्याय र परिपूरण दिने काम हुन सकेको छैन। पीडितहरूले यसलाई कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।