‘एमसीसी कार्यान्वयनको समयसीमा छैन, लिने/नलिने नेपालकै हातमा’
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता कार्यान्वयनका लागि समयसीमा नरहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा भएको पत्रकार भेटघाटका क्रममा लुले यसमा अमेरिकाको कुनै स्वार्थ नरहेको भन्दै लिने/नलिने नेपाली सार्वभौम जनताकै हातमा रहेको बताएका हुन्।
उनले १४ डिसेम्बरमा एमसीसी बोर्डको बैठक रहेको बताउँदै त्यसमा नेपालको बारे अजेन्डा हुन सक्ने जानकारी दिए। लुले भने, “प्रत्येक तीन महीनामा बस्ने बोर्डको आगामी बैठकमा नेपालको विषयले प्रवेश पाउन सक्छ।”
नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्र मन्त्री डा. नारायण खड्का लगायतसँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा सबै नेता एमसीसी कार्यान्वयनका लागि सकारात्मक पाएको लुले बताए। “यो सम्झौता सबैको साथ र एकमतका साथ पारित हुनेमा हामी विश्वस्त छौं,” उनले भने।
लुले अगाडि भने, “उहाँहरूले सबैको सहमति विना अगाडि बढाउन नसकिने प्रतिक्रिया दिनुभयो।”
एमसीसी अमेरिकी सरकारका अन्य कार्यक्रमभन्दा फरक रहेको पनि लुले बताए। उनले यसमा अमेरिकी सरकारको कुनै स्वार्थ नभएको प्रतिक्रिया दिए।
नेपालको आर्थिक विकास मात्रै अमेरिकी सरकारको स्वार्थ रहेको बताउँदै लुले एमसीसीका बारेमा कहाँबाट गलत सूचना फैलियो आफूलाई थाहा नभएको बताए।
एमसीसी नेपालले प्रतिस्पर्धा मार्फत प्राप्त गरेको हो। लुले नेपाल खुला अर्थतन्त्र र प्रजातान्त्रिक मुलुक भएकाले एमसीसी परियाेजना प्राप्त गरेको बताए।
देशको हितमा रहेको परियोजनाका बारेमा नेपालले जे निर्णय गरे पनि अमेरिकी सरकारलाई स्वीकार हुने सहायक विदेशमन्त्री लुको भनाइ छ।