प्रधानन्यायाधीशसँग वार्ता नगर्ने नेपाल बारको निर्णय, श्वेतपत्र जारी गर्दै
नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग वार्ता नगर्ने भएको छ।
सोमबार बसेको बार एसोसिएशनको बैठकले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले बताइन्। “प्रधानन्यायाधीशले आह्वान गरेको भए पनि बारले वार्तामा नबस्ने निर्णय गरेको छ,” उपाध्यक्ष बस्यालले हिमालखबरसँग भनिन्।
प्रधानन्यायाधीश जबराले आज बिहान प्रेस विज्ञप्ति जारी गरी संवादका लागि आह्वान गरेका थिए। उनले संवादबाटै समस्याको समाधान निकाल्न सकिनेमा जोड दिएका थिए।
सर्वोच्च अदालतका न्यायाधीश र कानून व्यवसायीले भने प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्। नेपाल बारको अगुवाइमा कानून व्यवसायीले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिंदै आएका छन्।
कानून व्यवसायीको आन्दोलन चर्किंदै गएपछि प्रधानन्यायाधीश जबराले प्रेस विज्ञप्ति जारी गरी संवादका लागि आह्वान गरेका थिए। प्रधानन्यायाधीशसँगको संवादले समस्या समाधान नहुने नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।
“प्रधानन्यायाधीशज्यू, तपाईंको विज्ञप्ति हामीले पढ्यौं, तपाईंसँग वार्ता गरेर न्यायालयको विकृति विसंगतिमा सुधार हुँदैन,” बारको बैठकपछि अध्यक्ष श्रेष्ठले हिमालखबरसँग भने, “त्यसैले हामी तपाईंसँग कुनै किसिमको वार्ता गर्न तयार छैनौं, आजै राजीनामा दिएर निकास दिनुस्।”
यससँगै नेपाल बारले श्वेतपत्र जारी गर्ने भएको छ। आजै श्वेतपत्र जारी हुने उपाध्यक्ष बस्यालले जानकारी दिइन्।
प्रधानन्यायाधीशले राजीनामा नदिंदासम्म आन्दोलन जारी राख्ने नेपाल बारले जनाएको छ। देशभरका बारका एकाइलाई यसमा सामेल गर्दै लैजाने बारको तयारी छ।
प्रधानन्यायाधीशको विज्ञप्ति :