प्रधानन्यायाधीश जबराको राजीनामा नआई वार्तामा बस्दैनौं : बार महासचिव पौडेल
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवादका लागि अपील गरे पनि नेपाल बार एसोसिएशन तत्काल वार्तामा नजाने भएको छ।
आन्दोलनरत बार एसोसिएशनले जबराको राजीनामा आए मात्रै वार्तामा बस्ने जनाएको छ। एसोसिएशनका महासचिव लिलामणि पौडेलले हिमालखबरसँग भने, “प्रधानन्यायाधीशज्यूको राजीनामा नआई वार्तामा बस्दैनौं।”
महासचिव पौडेल आफूहरूले शुरूदेखि नै जबराको राजीनामालाई बटम लाइन बनाएको र त्यसबाट पछि नहट्ने बताउँछन्।
प्रधानन्यायाधीश जबराले सोमबार विज्ञप्ति मार्फत आन्दोलनरत पक्षलाई विग्रहको बाटो छोडेर संवादमा आउन आग्रह गरेका छन्।