जो कुकुरलाई साथी मान्छन्
घरपालुवा जनावरमध्ये कुकुरसँग मानिसको सम्बन्ध निकै पुरानो मानिन्छ। पुरानो समयमा जङ्गली जनावरबाट जोगाउन र शिकारमा सघाउन कुकुरको आडभरोसा बलियो थियो। अहिले घरको रेखदेख गर्ने र शहरी जनजीवन तथा एकल परिवारमा व्यक्तिको एक्लोपन दूर गर्ने साथीको भूमिका कम छैन। मालिकप्रति वफादार हुने यो गुनिलो प्राणीलाई सम्मान गर्दै कुकुर तिहार मनाइने सन्दर्भमा कुकुरको स्याहार, उद्धार, उपचार र व्यवस्थापनमा काम गरिरहेका केही मनकारीहरूको बारेमा सामग्रीः
‘कुकुर प्रेमले घर छाडें’
वसन्तपुर, काठमाडौंका रूपक दर्शनधारीको पिठ्यूँमा एउटा पुन्टे झोला कहिल्यै टुट्दैन। जसमा उनी काँचो र पोलेको मासु, बिस्कुट, पीठो, चना, दाल लगायत खानेकुरा बोक्छन्। उनलाई पहिलो पटक यो अवस्थामा देख्ने धेरैले पागलको संज्ञा दिने गर्छन्। तर, रूपक पशुपक्षीलाई औधी प्रेम गर्ने मनकारी हुन्। उनले हनुमानढोका वरपर हुने कुकुर, परेवा, काग र बलि दिन ल्याइएका बोकाहरूका लागि यस्ता खानेकुरा सञ्चय गरेका हुन्। रूपकलाई देखेपछि भोकले कुना पसेका कुकुर, कागहरू पनि एकएक गर्दै बाहिर निस्किन्छन्। उनीसामु झुम्मिन्छन्। उनले झोलामा खानेकुरा ल्याएर वसन्तपुर क्षेत्र, रत्नपार्क, नारायणहिटी आसपास पशुपक्षीलाई खुवाउन थालेको वर्षौं भइसक्यो।
“हनुमानढोका क्षेत्रमा आएर उनीहरूलाई खुवाउन थालेको १० वर्ष भइसक्यो। मलाई परै देख्दा झुम्मिन थाल्छन्,” रूपक भन्छन्, “सडकका यी पशुपक्षी पनि परिवारको सदस्य भइसकेका छन्।” सडकका बेवारिसे जनावरलाई खुवाउँदै जाँदा उद्धार गरेका तीन वटा कुकुर उनीसँगै छन्।
रूपकले छेलोखेलो धन भएर शहरका जीवजन्तुलाई चारा खुवाउँदै हिंडेका हैनन्। बरु, उनको मन विशाल भएर हो। रूपक वसन्तपुरको एउटा कुनामा मोबाइल फोनका कभर, चार्जर, इयरफोन लगायत सामान बोरामा फिंजाएर बेच्छन्। त्यसैको आम्दानीले उनी आफ्नो र जनावरको पेट भर्छन्।
उनलाई मधुमेह र उच्च रक्तचापको समस्या छ। एचआईभीको औषधि पनि नियमित लिने गरेका छन्। तर, आफूसँगै पशुपक्षीको स्याहारमा ध्यान दिन छाडेका छैनन्। कतिसम्म भने, पशुपक्षीको प्रेममा रमाउने उनको रुचिमा परिवारले ठेस पुर्याएपछि उनले घर नै छाडे। भन्छन्, “कमाए जति कुकुरलाई नै खुवाएर सक्छ भनेर परिवारले अवहेलना गर्न थालेपछि १० वर्षदेखि एक्लै हनुमानढोकामा बस्दै आएको छु।” उद्धार गरेर साथमा राखेका तीन कुकुर नै उनका परिवार सरह भएका छन्।
रूपकलाई कलेजोमा पनि समस्या देखिएपछि डाक्टरले अस्पताल भर्ना गरी उपचार गर्न सुझाव दिएका छन्। नियमित औषधि र पर्याप्त आराम चाहिए पनि उनले बिहान–साँझ शहर चहार्ने र भोका जनावरलाई खाना खुवाउन छाडेका छैनन्।
“सडकभरिका कुकुरलाई खुवाउँछ, भुस्याहा कुकुर कोठामा पाल्छ भनेर घरबेटीले निकालिदिन्छन्। मलाई सबैले छोडे पनि यी कुकुरले छोडेका छैनन्,” रूपक भावुक हुँदै सुनाउँछन्, “मेरो ज्यानमा सास रहेसम्म उनीहरूको पेटमा केही हालिदिन पाए हुन्थ्यो।”
अमेरिका छाडेर सडकका कुकुर व्यवस्थापनमा
ताहाचलकी एन्जिला श्रेष्ठ यस्ती पात्र हुन्, जसले नेपाली सडकमा कुकुरहरूको दुरवस्था देखेरै अमेरिकाको सुखसयल त्यागिन्। उनले दयनीय अवस्थामा भेटिने कुकुरलाई उद्धार र आश्रय दिने गर्न थालिन्। पछिल्लो समय सडकका बेवारिसे कुकुरहरूलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे अभिमुखीकरण तालीम दिने गरेकी छन्।
उनलाई सडकका कुकुरप्रति प्रेमको भावना कसरी पलायो? भन्छिन्, “म सानी छँदा आमाले सडकका कुकुर ल्याएर पाल्नुहुन्थ्यो, त्यो हेर्दै हुर्केकी मलाई पनि त्यस्तो प्रेम गर्न सिकाएको हो।”
एन्जिलाले सडकका चार वटा कुकुरलाई पालिरहेकी छन्। तिनलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उद्धार गरी नयाँ जीवन दिएकी उनी भन्छिन्, “ब्रिडिङ गरेर अप्राकृतिक रूपले जन्माएका कुकुर किन्नुभन्दा सडकका कुकुरको उद्धार गरे पशु कल्याण त्यही हुन्थ्यो।”
बाल मनस्थितिमै जनावरप्रति राम्रो व्यवहार गर्न र उद्धार गर्न सिकाए भविष्यमा उनीहरू पशुप्रति क्रूर नहुने एन्जिलाको अनुभव छ। त्यसैले उनले सन् २०१५ देखि ‘प्रोजेक्ट ह्युमेन नेपाल’ संस्था स्थापना गरेर बेवारिसे कुकुरको व्यवस्थापनबारे जनचेतना फैलाइरहेकी छन्।
उनी सहितको पाँच जनाको समूहले प्राथमिक, माध्यमिक र उच्च शिक्षा लिने विद्यार्थीहरूलाई तालीम दिने पाठ्यक्रम बनायो। सन् २०१९ मा उपत्यकाका ६५ विद्यालयका २२ हजारभन्दा बढी विद्यार्थीलाई पशु कल्याणबारे तालीम दिइसकेको छ। तालीमको विषयवस्तु प्रष्ट पार्दै उनी भन्छिन्, “स–साना विद्यार्थीलाई कुकुरको टोकाइबाट कसरी बच्नेदेखि उच्च शिक्षाका विद्यार्थीहरूलाई बेवारिसे जनावरको व्यवस्थापनको प्रक्रियासम्म सिकाउने गरेका छौं।” यस्तो शिक्षाले आउँदो पुस्ताले जनावरलाई दुर्व्यवहार नगर्ने उनको भनाइ छ।
आमाले दिएको शिक्षाबाट सडक होस् वा घरको जनावर सबैलाई बराबर माया गर्नुपर्छ भन्ने ज्ञान पाएकी उनी भन्छिन्, “कुकुरको उद्धार, हेरचाह र व्यवस्थापनमा लाग्दा यो अबोध जनावरप्रति अझ माया बढेको छ। अब त यी कुुकुर हुनुले मात्र आफू छु जस्तो आभास हुन्छ।”
परिवारको इच्छा विपरीत कुकुर पाल्दा...
तीन वर्षअघि कम्प्युटर कक्षा लिएर विष्णुमती खोला किनारबाट घर (छाउनी म्यूजियम रोड) फर्कंदै गर्दा अमन मानन्धरको आँखा शरीरभरि कीरा परेको एउटा कुकुरमा पर्यो। रोगी अवस्थामा कुकुरलाई देख्दा उनको मन थामिएन। उनले त्यो कुकुरलाई बोकेर बहालमा बसेको घर लगे।
एसईई भर्खर दिएका उनीसँग कुकुरलाई अस्पताल लैजाने पैसा नभएपछि घरमै केही गर्न सक्छु कि भन्ने लाग्यो। कुकुरलाई बचाउन परिवारको साथ खोजे। तर, शरीरभरि कीरा भएको कुकुर लिएर घर पुगेका उनलाई परिवारलाई उल्टै गाली गर्यो। तर, उनले कुकुरको उपचारका लागि रोइकराइ गरे।
त्यसपछि उनका बुबाले कुकुरलाई घरमा नराख्ने शर्तमा उपचार गरिदिने वाचा गरे। पशु उपचार केन्द्र लगियो। “उपचारसँगै खानपान राम्रो भए मात्र बाँच्ने भएपछि घरमा झगडा गरेरै भए पनि कुकुर राख्न लगाएँ। तर, भुस्याहा कुकुर ल्यायो भनेर घरबेटीले हामीलाई निकाले।”
अमन जनावरको दुःख देख्न सक्दैनन्। सडकमा कुकुरहरूको दयनीय अवस्था देखेर मन सधैं पोल्ने गरेको उनी बताउँछन्। तर, रोजगारी नभएका कारण खाजा खर्च बचाएर भए पनि सडकका कुकुरको उद्धार र उपचार गर्दै आएका छन्। “कुकुर पाल्न पैसाभन्दा ठूलो त मन चाहिन्छ,” अमन भन्छन्, “मन भएरै सगुन दिएको पैसा पनि म सडकका कुकुरहरूको उपचारमा खर्च गर्छु।”
उनले उद्धार गरेर बचाएको कुकुरको नाम ‘नुग’ राखेका छन्। कुकुरकै कारण परिवारले कोठा सरिरहनुपर्दा आज पनि घरमा विवादको विषय कुुकुर बन्ने गरेको उनी बताउँछन्। “तर, बिस्तारै ममीले पनि नुगलाई माया गर्न थालेको देख्छु। यो देख्दा खुशी लाग्छ,” उनी भन्छन्।
उनीसँग जीवनमा आफ्नो बारेभन्दा पशु कल्याणकै सपना छ। राम्रो पढेर स्नातक सक्ने र कमाएर ठूलो घर बनाएपछि धेरै कुकुर पाल्ने उनको सोच छ। योजना सुनाउँछन्, “कमाउने भएपछि सडकका कुकुरको उपचार र उद्धारमा लाग्छु।”
‘सडकका कुकुर भन्ने बित्तिकै डराउनु र घिनाउनु पर्दैन’
गोल्फुटारकी ऊर्जा नेवा सडकका कुकुरलाई खाना खुवाउँछिन्, उपचार गर्छिन् र अवस्था नाजूक भए घरमै ल्याएर पाल्छिन्। उनले बेवारिसे कुकुरलाई खानेकुरा खुवाएको देखेर अब त कुकुरहरूले घर नै घेरेर बस्ने गरेको सुनाउँदै उनी खुशी मान्छिन्।
ऊर्जाका विचारमा, सडकका कुकुरलाई छुँदा रेबिज लागिहाल्ने गलत बुझाइका कारण मानिसले तिनलाई हेला गरेको पाइन्छ। तर, सडकमा बिरामी देखिने सबै कुकुरलाई पनि रेबिज हुँदैन। अन्य रोग लागेको हुन सक्ने वा भोको भएर पनि बिरामी परेको हुन सक्ने उनी बताउँछिन्। यसैले कुकुरलाई ब्रिडिङ गराएर जन्मिएको बच्चा किन्नुभन्दा सडकका कुकुर उद्धार गरेर पाल्नु कल्याणकारी भएको उनको भनाइ छ।
“एक पटक सडकका कुकुरलाई पनि माया गरेर, आश्रय दिएर त हेरौं। उनीहरू मायाको भोका मात्र हैनन्, आफैंमा मायाका खानी हुन्छन्,” उनलाई सडकको कुुकुर पालेको देखेरै केही साथीले नराम्रो टिप्पणी पनि गरे। तिनीहरूलाई उनको जवाफ छ, “कुकुरले आफैंलाई सस्तो र महँगो छु भनेर कहिल्यै माया कम गर्दैन। यस्तो हिसाब त मानिसले मात्र गर्ने हो।”