काठमाडौंको कुकुरलाई क्यानाडेली माया !
अमेरिकी लेखिका भन्छिन्, ‘कुकुरलाई तिहारको एक दिन देखाइने स्नेह भोलिपल्टै दुर्व्यवहारमा बदलिनु गलत हो।’
रातको ११ बजे। सन् २०२० जुलाईको अन्तिम दिन। मुसलधारे पानी सहितको हुरीले उपत्यका निथ्रुक्क थियो। मानिसहरू घरभित्र थिए। तर, सडक–गल्लीमा पशुचौपाया रुझ्दै थिए। जनावरप्रेमी सोनामले त्यो रात पनि आफ्नो ‘ड्युटी’ छाडिनन्। निस्किइन् सधैं झैं सडकका कुकुरलाई खाना खुवाउन। त्यही वेला उनको नजर एउटा कुकुरमा पर्यो। कसैले तातोपानी खन्याइदिएर कुटपिट गरेको कुकुरको ढाडबाट रगत बगिरहेको थियो। आँखाभरि आँसु थियो। त्यो दृश्यले सोनामलाई पनि खपिनसक्नुभयो।
उनले तत्काल अमेरिका बस्ने जुलु (जुली पालेइ)लाई उक्त कुकुरको फोटो र भिडिओ पठाइन्। उनी त्यो कुकुरको उपचार गर्न चाहन्थिन्। त्यसका लागि जुलुको सहयोग चाहन्थिन्। जुलुले तत्काल कुकुरको उपचार खर्च बेहोर्ने बताइन्। तर, त्यति राति कुकुरलाई एक्लै अस्पताल लैजान सम्भव थिएन। सोनामले त्यसलाई केही खानेकुरा दिइन्। अनि ओढ्ने ओढाइदिएर हिंडिन्।
तर, भोलिपल्ट जाँदा कुकुर त्यहाँ थिएन। उनीहरूले कुकुरको फोटो चोकचोकमा टाँसे। सँगसँगै लेखे– ‘खोजी गरिदिनेलाई इनाम दिइनेछ।’ एक सातापछि कुकुर भेटियो। ढाडको घाउ झन् पाकिसकेछ। जुलुले छिटोभन्दा छिटो उपचारमा लैजान भनिन्। सोनामले त्यसलाई पशु उद्धार केन्द्र (क्याट काठमाडौं)मा पुर्याइहालिन्।
यो घटनापछि जुलुको नेपालीप्रतिको धारणा बदलियो। ‘मैले त नेपालमा कुकुरको पूजा हुन्छ, तिहार मनाइन्छ भन्ने सुनेकी थिएँ। त्यसको फोटो खिच्न नेपाल जाने तयारीमा थिएँ,’ उनले भनिन्, ‘तर यो घटनापछि लाग्यो– मान्छे पशुप्रति कति धेरै क्रूर हुन सक्दो रहेछ। नेपालले पशुमैत्री हुन अझै प्रयास गर्नुपर्ने रहेछ।’
अमेरिकामै बसेर पनि जुलुले सोनामबाट त्यो कुकुरको जानकारी लिइरहिन्। घाउ निको हुन दुई साता लाग्यो। त्यसलाई केही दिन एक स्थानीय कुकुर–प्रशिक्षकले आश्रय दिए। उनीहरूले त्यो कुकुरले भोगेको घटना सहित उल्लेख गरेर सामाजिक सञ्जालमा ‘फोटो’ शेयर गरे।
एउटी क्यानाडेली महिलाले थाहा पाइछन्। उनले कुकुरलाई क्यानडा लैजाने भइन्। क्यानाडेली संस्था टेम्पल डग रेस्क्युले आर्थिक सहयोग गरिदिने भयो। कानूनी प्रक्रिया पूरा गरेर कुकुरलाई क्यानडाको टोरन्टो पुर्याइयो। त्यहाँ उसको नाम राखियो, ‘म्याक्स’।
‘म्याक्स त्यहाँ पुग्नुअघि नै उसका लागि नरम ओछ्यान र थुप्रै खेलौना जुटाइसकिएको रहेछ,’ जुलु सुनाउँछिन्, ‘अहिले म्याक्सले आफूलाई रेखदेख गर्ने आमा पाएको छ।’ यो घटनाले देखाइदियो– कसैले अलिकति चासो मात्र राखिदिए जनावरले पनि घुमफिर गर्ने, मीठो खाने, मानिसको साथी बन्ने अवसर पाउँदो रहेछ। उसलाई आराम मिल्दो रहेछ।
यसका लागि मानिसहरूमा पशुप्रति प्रेम बढाउन आवश्यक छ। तर, कसरी त ? मानिसहरूलाई जनावरले पाएका दुःखका कथाहरू सुनाएर। जुलुलाई यस्तै लाग्यो। अनि उनले तत्क्षण निर्णय गरिन्– त्यही घटनामा आधारित रहेर पुस्तक लेख्ने, मानिसहरूलाई पशुप्रेम सिकाउने।
जुलु पेशाले वैज्ञानिक हुन्। उनले २६ वर्ष अमेरिकाको नेशनल साइन्स फाउन्डेशनमा ‘ग्लेसिओलोजिस्ट’ भएर काम गरिन्। तर, उनलाई बच्चै वेलादेखि पशुहरूप्रति स्नेह थियो। जुन अहिले पनि उस्तै छ।
जुलुले अहिलेसम्म २६ देशको भ्रमण गरिसकेकी छन्। ती देश घुम्नुको उद्देश्य हो– त्यहाँका कुकुरहरूको तस्वीर खिच्नु र सङ्ग्रह गर्नु। यही उद्देश्यले उनी सन् २०२० मा कुकुर तिहारको छेको पारेर नेपाल आउँदै थिइन्। त्यसअघि नै सोनामले घाइते कुकुरको तस्वीर उनलाई पठाएकी थिइन्। त्यसपछि उनमा नेपाल आएर कुकुरको अवस्था बुझ्ने हुटहुटी झन् बढ्यो।
जुलुले नेपाललाई प्राकृतिक स्रोतसाधनले युक्त र हिमालहरूको देश भनेर बुझेकी थिइन्। नेपाली बहादुर र मनका धनी हुन्छन् भन्ने सुनेकी थिइन्। तर, काठमाडौंमा विमानबाट ओर्लिएर होटलसम्म पुग्दा सडकमा देखिएका कुकुर, गाईगोरुको दयनीय अवस्थाले आफ्ना आँखा रसाएको उनी सुनाउँछिन्।
जुलुले सडकका कुकुरलाई उद्धार गर्न खुलेका काठमाडौंका विभिन्न सरकारी तथा गैरसरकारी संस्थालाई सक्दो सघाइन्। तर, जति जति काठमाडौं घुमिन्, कुकुरलाई झुन्ड्याइएका, कुटिएका, तातो पानी खन्याइएका घटनाहरू अझ धेरै फेला पारिन्। उनलाई लाग्यो– अब आर्थिक सहयोगले मात्र हुँदैन, मानिसको चेतना नै वृद्धि गर्नुपर्छ।
‘नेपालीले केही ठाउँमा गाँस काटेर कुकुरलाई खुवाएको पनि देखें, तर यो पर्याप्त थिएन। कसैले आश्रय दिए मात्र उनीहरूको जीवन फेरिन्छ भन्ने सन्देश दिनु थियो,’ जुलु पुस्तक लेख्नुको अन्तर्य बताउँछिन्।
उनलाई नेपालमा भइरहेको जनावरप्रतिको दुर्व्यवहारले पर्यटन क्षेत्रमा पनि असर गरिरहे जस्तो लाग्छ। उनको बुझाइमा कुकुरलाई आश्रय दिन सकिंदैन भने उनीहरूलाई सडकमा छाड्ने र सजाय दिने होइन। बरु सरकारले नै छाडा कुकुरको सङ्ख्या कम गर्न तिनको बन्ध्याकरणमा जोड दिनुपर्छ। यी र यस्तै विषय समेटेर जुलुले पुस्तक तयार पारेकी छन्। जसको नाम छ– साथी।
जुलु चाहन्छिन्– उनको पुस्तक बालबालिकाले अझ बढी पढून्। ताकि उनीहरूमा सानैदेखि जनावरप्रति संवेदनशीलता बढोस्। जीवनभर पशुप्रेमी बन्न सकून्। जुलुले ‘एन्थ्रोजुलुजी’ मा स्नातकोत्तर अध्ययनताका ‘पशुलाई क्रूर व्यवहार गर्नेले अपराध पनि गर्न सक्ने’ विषयमा खोज गरेकी थिइन्। ‘त्यसैले मानवीय अपराध र हिंसा रोक्न पनि पशुप्रतिको क्रूरता रोकिनैपर्छ,’ जुलुले भनिन्।
जुलुले नेपाल जस्तो वर्षको एक दिन कुकुरको सम्मानमा छुट्याउने मुलुक अर्को देखेकी छैनन्। ‘तर, एक दिन कुकुर तिहारमा देखाएको स्नेह अर्को दिन दुर्व्यवहारमा बदलिनु गलत हो,’ उनी भावुक हुन्छिन्।
जुलुलाई कुकुरहरूको बफादार स्वभावले विशेष तानेको छ। ‘ब्वाइफ्रेन्डले धोका दिएर गएपछि मैले पहिलो चोटि कुकुर घर ल्याएकी थिएँ, यसले चाहिं कहिल्यै साथ छाड्दैन भनेर,’ उनले किशोरावस्थाको कुरा सम्झिइन्।
धेरै मानिस कुकुरले टोके विभिन्न रोग लाग्छ भन्दै यसलाई घृणा गर्छन्। साथी पुस्तकले त्यो भ्रम हटाउने र कुकुरको वास्तविक स्वभाव बुझाउने जुलुको दाबी छ। ‘कुटाइको पीडा मानिसलाई जस्तै कुकुरलाई पनि हुन्छ। उसलाई पनि पोल्छ, दुख्छ। यत्ति हो, उसले भन्न सक्दैन,’ उनले आग्रह गरिन्, ‘त्यसैले यो जन्तुलाई हानि नगरौं, बरु प्रेम गरौं। म्याक्सलाई जसरी नै आश्रय दिऔं न !’