पूर्व राष्ट्रपति यादवकाे प्रश्न- सर्वोच्चको विवाद ‘ट्रयाक टु डिप्लोमेसी’ बाट समाधान किन नगर्ने?
पूर्व राष्ट्रपति डा. रामवरण यादवले सर्वोच्च अदालतमा देखिएको विवाद सरकारले ‘ट्र्याक टु डिप्लोमेसी’ बाट समाधान गर्न आग्रह गरेका छन्।
प्रधानन्यायाधीश, न्यायाधीशहरू र नेपाल बार एसोसिएशनबीच देखिएको विवाद न्याय क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरू र कानूनविद्हरूसँग सल्लाह गरेर ‘ट्र्याक टु डिप्लोमेसी’ बाट समाधान गर्नुपर्नेमा पूर्व राष्ट्रपति यादवको जोड थियो।
“कानून मन्त्रीलाई जस्टिस मिनिस्टर भनिन्छ, उनले पहल गर्न मिल्छ,” बीपी विचार, नीति र व्यवहार नामक पुस्तकको आइतबार काठमाडौंमा लोकार्पण गर्दै यादवले भने, “न्यायपालिकाको काममा कार्यपालिकाले हस्तक्षेप गर्न मिल्दैन, तर न्यायपालिकाले काम नगरेको वेलामा सरकारले पहल गर्नुपर्छ।”
न्यायको इतिहासमा अहिले सर्वोच्च अदालतमा देखिएको जस्तो समस्या कहिल्यै नदेखिएको यादवले कार्यक्रममा बताए। नेपालको अदालतको विषयमा भोलि संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय मञ्चमा समेत प्रश्न उठ्न सक्ने उनको भनाइ छ।
यसैबीच सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीले पनि सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले तत्काल पहल गर्नुपर्ने बताएका छन्।