सर्वोच्चको समस्या सुल्झाउन प्रधानमन्त्रीले पहल गर्नुपर्छ : पूर्व न्यायाधीश वस्ती
सर्वोच्च अदालतमा देखिएको समस्या सुल्झाउन प्रधानमन्त्रीले पहल गर्नुपर्ने पूर्व न्यायाधीश प्रकाश वस्तीले बताएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायी आन्दोलनमा छन्। नेपाल बार एसोसिएशनको अगुवाइमा उनीहरूले आइतबारदेखि प्रदर्शन पनि थालेका छन्।
त्यस्तै, सर्वोच्च अदालतकै न्यायाधीश पनि जबराको विरोधमा उत्रिएका छन्। उनीहरू इजलासमा बस्न छाडेका छन्।
प्रधानन्यायाधीश जबराले पनि आफूले कुनै गल्ती नगरेको जनाउँदै राजीनामा नदिने बताउँदै आएका छन्। कानूनी प्रक्रियाबाट हुने बहिर्गमन मात्रै आफूलाई स्वीकार्य हुने उनको भनाइ छ।
यस्तो वेला न्यायपालिकाको समस्या सुल्झाउन कार्यपालिकाले पहल गर्नुपर्ने पूर्व न्यायाधीश वस्तीले बताएका छन्। “कानून व्यवसायी, न्यायाधीश र प्रधानन्यायाधीश आ-आफ्नो अडानबाट अडिग छन्, यस्तो वेला प्रधानमन्त्रीले पहल गर्नुपर्छ,” पूर्व न्यायाधीश वस्तीले भने।
न्यायपालिकामा देखिएको समस्या धेरै लम्ब्याउन नहुने उनको भनाइ छ। हिमालखबरसँगको कुराकानीमा पूर्व न्यायाधीश वस्तीले भने, “अहिले प्रधानमन्त्री देश बाहिर हुनुहुन्छ, त्यसैले न्यायपालिकाको समस्या सुल्झाउन कार्यवाहक प्रधानमन्त्रीले पहल गर्नुपर्छ।”