कात्तिक लाग्दा पनि किन परिरहेको छ झमझम पानी?
न्यून चापीय प्रणाली र पश्चिमी वायुको सक्रियताका कारण पोस्ट-मनसुन अवधिको शुरूमै ठूलो पानी परेको छ।
दुई दिनदेखि देशका विभिन्न भागमा वर्षायाम जस्तै गरी झमझम पानी परिरहेको छ। देशका २२५ वर्षा मापन केन्द्रमध्ये १९६ केन्द्रमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
अविरल वर्षाका कारण आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्गको बुटवल-बर्दघाट खण्ड सहित देशका कैयौं सडक अवरुद्ध छन्। वर्षाले देशैभरि काटेर सुकाएको धानबालीमा ठूलो क्षति पुर्याएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, ११ अक्टोबर (२५ असोज)बाटै मनसुन सकिएको हो। तर, मनसुन अवधिमा जस्तै आकाश बादलले ढाकिएको छ। विभागकी वरिष्ठ मौसमविद् डा.प्रतिभा मानन्धर अहिलेको वर्षा मनसुनी वायुका कारण नभएको बताउँछिन्। “बङ्गालको खाडी र मध्य भारतको न्यून चापीय प्रणाली उत्तरतिर सरेको र पश्चिमी वायु पनि सक्रिय भएकाले पानी परिरहेको हो,” उनी भन्छिन्।
कात्तिक लाग्दा समेत अविरल वर्षा भइरहेकोमा जलवायुका क्षेत्रमा काम गरिरहेकै कतिपय विज्ञहरूले पनि आश्चर्य जनाइरहेका छन्। जलवायु विषयका जानकार मधुकर उपाध्याले आफ्नो ट्विटरमा लेखेका छन्, “मनसुन पूरै बाहिरियो भन्दाभन्दै फेरि जनधनकै नोक्सान गर्ने गरी भारी वर्षा हुनु अलिक अनौठो लाग्यो।”
नेपालमा सामान्यतया सेप्टेम्बरको अन्त्यतिर (मध्य असोज) सम्ममा मनसुनी वर्षा थामिने गर्छ। अक्टोबर र नोभेम्बरलाई मनसुनपछिको अवधि (पोस्ट–मनसुन) अवधि मानिन्छ। मनसुनी वायुको प्रभाव पनि सकिने र पश्चिमी वायुको प्रभाव पनि शुरू भई नसक्ने वेला भएकाले यो अवधिमा धेरै पानी नपर्नुपर्ने हो।
तर, वरिष्ठ मौसमविद् डा. मानन्धर भने हरेक वर्ष मनसुन र पोस्ट–मनसुन उस्तै नहुने बताउँछिन्। “हरेक वर्ष मौसमको चरित्र पृथक् हुन्छ, त्यसैले अहिलेको वर्षालाई आश्चर्यलाग्दो भन्न मिल्दैन,” उनी भन्छिन्। उनका अनुसार, जुन वर्ष मनसुनमा बढी पानी पर्छ, पोस्ट–मनसुन अवधिमा पनि औसतभन्दा बढी पानी पर्ने गरेको विगतका उदाहरणहरूले देखाउँछन्। यो वर्ष मनसुनमा औसतभन्दा करीब १५ प्रतिशत धेरै पानी परेको थियो।
पोस्ट–मनसुन अवधिमा अरेबियन सागर र बङ्गालको खाडीमा चक्रवातहरू क्रियाशील हुन्छन्। अहिले बङ्गालको खाडीको यस्तै प्रणालीको सक्रियताले गर्दा पानी परेको हो।
त्यसमाथि, पश्चिमी वायुले यस्तो बादललाई बाहिरिन नदिएर नेपाल र भारतको आकाशमै रोकेर राखेका कारण लगातार वर्षा भइरहेको वरिष्ठ मौसमविद् मानन्धर बताउँछिन्। “पश्चिमी वायु सक्रिय नभएको भए न्यून चापीय प्रणालीबाट विकसित वायु बाहिरिइसक्थ्यो। तर, पश्चिमी वायुले गर्दा त्यसलाई रोकेर राखेको छ,” उनी भन्छिन्।
यसले गर्दा अझै केही दिन नेपालका विभिन्न क्षेत्रमा वर्षा जारी नै रहनेछ। मानन्धरका अनुसार, बुधबार साँझपछि मात्रै वर्षा गराउने बादल नेपालको आकाशबाट हट्न शुरू हुनेछ। बिहीबार आंशिक बदली भए पनि धेरै पानी पर्नेछैन।
विभागले विशेष मौसम बुलेटिन जारी गरेर सोमबार र मंगलबार खास गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ (मंगलबारदेखि) का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ। तर, केही स्थानमा भने मेघ गर्जन, चट्याङ र हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ।
सोमबार र मंगलबार बाँकी प्रदेशका केही स्थानमा समेत हलुकादेखि मध्यम वर्षाको सम्भावना छ। विभागका अनुसार, डडेल्धुराको जोगबुढामा गत २४ घण्टामा २११ मिलिमिटर वर्षा भएको छ। यो अतिवृष्टि हो।
सामान्यतया २४ घण्टामा १५० मिलिमिटरभन्दा ज्यादा वर्षा भएमा भारी वर्षा मानिन्छ। त्यसैगरी, भैरहवामा पछिल्लो ६ घण्टामा ८१.४ र परासीमा ५५ मिलिमिटर वर्षा भएको छ।
बुधबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। बाँकी प्रदेशका केही स्थानमा समेत बुधबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
धानबालीमा असर
असमयको अविरल वर्षाले देशका धानबालीमा असर पारेको छ। तराईदेखि मध्य पहाडका खेतहरूमा अहिले छिटो पाक्ने जातका धान काट्ने वेला भएको छ। काटेर सुकाइएको धानमा पानी पर्दा धान र पराल बिग्रन्छ। कृषि विभागका प्रवक्ता डा. महादेवप्रसाद पौडेल भन्छन्, “काटेर सुकाइएको धानमा पानी परेपछि चामल हकुवा हुने (गुणस्तर बिग्रने) र पराल कुहिने समस्या हुन्छ।”
पानीका कारण देशभरि काटेर सुकाइएको धान खेतका गरामा पानीमा जलमग्न छ। कतिपय स्थानमा भने हावाहुरीका कारण धान खेतमै ढलेर सोत्तर भएको छ। विभागले वर्षा हुने पूर्वानुमान गरेको भए पनि त्यस्तो सूचना किसानसम्म पुग्न सकेन। कृषि विभागका प्रवक्ता पौडेलले देशभरि पानीले धानबालीलाई असर पारेको भए पनि ठ्याक्कै कति परिमाणमा असर गर्यो भन्ने विवरण नआइसकेको बताए।
यो वर्ष मनसुनमा राम्रो पानी परेका कारण धानबाली सप्रिएको अनुमान थियो। तर, भित्र्याउने वेला परेको पानीले भने धानबालीलाई असर गर्दा किसानहरू मर्कामा परेका छन्। भित्र्याउने वेलामा पाकेको बाली नष्ट हुँदा किसानहरू खाद्य असुरक्षाको जोखिममा पर्न सक्छन् ।
नेपालमा करीब १४ लाख ७३ हजार हेक्टरमा धान खेती हुन्छ। गत वर्ष नेपालमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। धान नेपालको प्रमुख कृषि बाली भए पनि चामलको बढ्दो माग धान्न नेपालले बर्सेनि करीब रु.५१ अर्बको चामल आयात गरिरहेको छ।