नेपालबाट चोरिएका ती सय सम्पदा
न्यूयोर्कको मेट्रोपोलिटन म्यूजियमले शिवको मूर्ति फिर्ता गर्न लागेको खबर आएसँगै त्यहाँ रहेका एक सयभन्दा बढी नेपालका मूर्ति फिर्ता गर्न पहल गर्नुपर्ने इतिहासकार प्रा. रमेशकुमार ढुंगेल बताउँछन्।
अमेरिकाको न्यूयोर्कस्थित ‘मेट्रोपोलिटन म्युजियम अफ आर्ट’ले नेपालबाट चोरिएको शिव मूर्ति फिर्ता दिन लागेको समाचार सुनेपछि इतिहासकार प्रा. रमेशकुमार ढुंगेललाई २५ वर्षअघिको यात्रा स्मरण भएको छ। उनी भन्छन्, “एउटा मूर्ति फिर्ता गरेर के हुन्छ? त्यहाँ त नेपालबाट चोरेर लगिएका एक सयभन्दा बढी मूर्ति छन्।”
मेट्रोपोलिटन म्यूजियमले आधा शताब्दीअघि नेपालबाट चोरिएको शिव मूर्ति फिर्ता गर्ने प्रक्रिया थालेको छ। न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको समन्वयमा शिव मूर्ति फिर्ता हुन लागेको हो। यो मूर्ति विष्णुमतीको किनारमा रहेको कंंकेश्वरी मन्दिरबाट सन् १९७० तिर चोरी भएको थियो।
इतिहासकार ढुंगेल सन् १९९६ मा मेट्रोपोलिटन म्यूजियम पुगेका थिए। अहिले नेपाललाई फिर्ता गर्न लागिएको शिवमूर्तिबारे पनि लेखेका थिए। योसँगै त्यहाँ रहेका एक सयभन्दा बढी मूर्तिबारे अध्ययन गरेको उनी बताउँछन्।
ढुंगेल अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट विद्यावारिधि गर्ने क्रममा मेट्रोपोलिटन म्यूजियम पुगेका थिए। जहाँ उनले मेट्रोपोलिटन म्यूजियममा रहेका हिन्दू र बौद्ध धर्मका एक सयभन्दा बढी मूर्तिको दर्ता, जानकारी र फोटोको विवरण उतारेका थिए।
नेपालबाट चोरी भएर अमेरिका पुगेका मूर्तिको प्रमाणित दस्तावेज तयार गरेर सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयको ‘सेन्ट्रल फर नेपाल एन्ड एशियन स्टडिज (सिनास)’ विभागमा बुझाएका थिए। त्यति वेला प्रमाण दिँदा पनि सरकारले मूर्ति फिर्ता लिन पहल नगरेको गुनासो गर्दै उनी भन्छन्, “मेट्रोपोलिटन म्यूजियमबाट दुई दशकमा जम्मा दुई वटा मात्र मूर्ति नेपाल फर्काउनु ठूलो उपलब्धि होइन। गर्न सक्ने ठाउँ धेरै थियो।”
अहिले नेपाल फिर्ता हुन लागेको शिव मूर्ति त्यति वेला हेर्न नदिइएको उनी सुनाउँछन्। अनुसन्धान गर्दाको अनुभव सुनाउँदै ढुङ्गेल भन्छन्, “मेट्रोपोलिटन म्यूजियममा साउथएशिया ग्यालरी भनेर नेपालका सयौं मूर्ति देख्न पाइन्छ, तर फोटो लिन र सोधपुछ गर्न मनाही छ। अहिले फिर्ता हुन लागेको शिवको मूर्ति देख्न त पाइनँ, तर उनीहरूको सूचीमा भने भेटाएको थिएँ।”
त्यति वेला प्रदर्शनीमा नराखिनेको कारण भने अर्कै भएको उनी बताउँछन्। “त्यति वेला यो शिवको मूर्ति प्रदर्शनीमा राखिएको थिएन। उनीहरूले त्यहाँबाट अन्तै पठाउने प्रक्रिया थाल्दै थिए। त्यसैले फोटो लिन पाइनँ,” ढुंगेल भन्छन्।
मेट्रोपोलिटन म्यूजियमभित्र फोटो खिच्न पाइँदैन। नेपाली मूर्ति विदेशी म्यूजियममा रहेको प्रमाणका लागि उनलाई तस्वीर आवश्यक थियो। यसका लागि ढुङ्गेलका प्रोफेसर टेड रिर्काडीले म्यूजियमका कर्मचारीलाई सहयोग गर्न भनेका थिए।
म्यूजियमका कर्मचारी हेलेन वेनको सहयोगमा प्रमाण जुटाउन सफल भएको उनी बताउँछन्। त्यही सामग्रीका आधारमा उनले सन् २०११ मा द लस्ट हेरिटेज पुस्तक तयार गरे। “म त्यहाँ नेपाली भनेर चिनिएको भए म्यूजियमको स्टोर, फोटो र रेकर्डको पहुँँचमा पुग्नै पाउने थिइनँ, कोलम्बिया विश्वविद्यालयको विद्यार्थी भएर जाँदा यत्तिको जानकारी बटुल्न सकियो,” उनी भन्छन्।
मेट्रोपोलिटन म्यूजियमबाट शिवको मूर्ति फिर्ता हुनु खुशीको खबर भएको उनी सुनाउँछन्। तर, त्यति धेरै मूर्ति रहेको स्थानबाट एउटा मूर्ति फिर्ता ल्याउनु ठूलो जित नभएको उनको भनाइ छ। “म्यूजियमका स्टोरमा कोचिएका थुप्रै नेपाली मूर्ति देखेको छु। त्यस्ता मूर्तिको प्रमाण जुटेको पत्ता पाएमा उनीहरूले रातारात अन्यत्र सार्छन्,” ढुंगेल भन्छन्।
सन् १९७० को दशकमा कंकेश्वरी मन्दिरबाट चोरिएको पुरातात्विक महत्त्वको मूर्ति सन् १९९५ मा म्यूजियममा पुगेको अभिलेख छ। क्रोनस कलेक्सनले उपहारमा मूर्ति दिएको म्यूजियमले जनाएको छ।
त्यसको अर्को वर्ष सन् १९९६ मा अध्ययन गर्न पुगेका ढुंगेलले एक सयभन्दा बढी मूर्ति हेरे, विवरण टिपे। तर, अहिले शिवको मूर्ति देख्न पाएनन्। म्यूजियममा भएका मूर्तिको सूचीमा यसको दर्ता नं. १९९५.५७०.५. रहेको उनको पुस्तक द लस्ट हेरिटेज, पृष्ठ ४६ मा उल्लेख छ।
प्रदर्शनीमा नराखिएको यो मूर्तिबारे ढुंगेलले सोधिखोजी गरेपछि म्युजियममै रहेको जानकारी पाए। सन् १९९७ मा उनले आफ्नो अध्ययन र खोज सामग्री प्रकाशनमा ल्याए। त्यसपछि भने म्युजियमले शिवको मूर्ति अन्यत्र लग्न नसकेको उनी बताउँछन्।
जब म्युजियम तथा संकलकहरूले आफ्नो कमजोरी देख्छन्, त्यसपछि फिर्ता गर्ने गरेको उनको बुझाइ छ। “शिवको मूर्ति पनि नेपालको हो भन्ने प्रमाण पुग्दै गएपछि फिर्ता गर्न खोजेको हुनसक्छ,” उनी भन्छन्।
इतिहासकार तथा सम्पदा संरक्षकहरू मेट्रोपोलिटन म्यूजियममै नेपालबाट चोरिएका दुई सयभन्दा बढी मूर्ति रहेको दाबी गर्छन्। ढुंगेलको अध्ययनमा भने एक सयभन्दा बढी मूर्तिको मात्रै प्रमाण पुगेको छ। “ती सय वटा मूर्ति फर्काउनु पर्ने हो, अहिलेसम्म त दुई मात्रै फर्किएका छन्। यो त लाजमर्दो भयो,” उनी भन्छन्।
सरकारले मूर्ति फिर्ता ल्याउन पहल नगरेपछि अहिले नागरिक स्तरबाट सम्पदा पुनःस्थापना अभियान शुरू गरिएको छ। यसमा उनी पनि सल्लाहकार छन्। आफ्नो ध्येय मूर्ति फर्काउनु रहेको बताउँदै उनी थप्छन्, “अब सरकारले सहयोग गर्नुपर्छ। फर्काएका मूर्ति राख्न संरक्षण कक्ष वा म्यूजियम बनाउन सहयोग गर्नुपर्छ।”