चोरीको जोखिममा रहेका चार प्राचीन मूर्ति
नेपालको इतिहास, सभ्यता, धर्म र संस्कारको अभिलेख किन राखिँदैन या त्यो काम गर्न कसले रोकेको छ? जनमानसमा ज्वलन्त प्रश्न उठिरहेका छन्।
नेपालका प्राचीन मूर्तिहरू अहिले कहाँ, कति र कुन अवस्थामा छन् भन्ने तथ्यांक कसैसँग छैन। तर, माटो, काठ, ढुंगा तथा विभिन्न धातुबाट बनेका ती मूर्ति प्राचीन नेपालका प्रामाणिक मुखपत्र हुन्।
प्राचीन कालमा नेपाली सभ्यताको परिचय बोकेका ती मूर्ति नेपालको ऐतिहासिक गौरवगाथा गाउन सक्षम छन्। यसरी नेपालको इतिहास, सभ्यता, धर्म र संस्कारको अभिलेख किन राखिंदैन या त्यो काम गर्न कसले रोकेको छ? जनमानसमा ज्वलन्त प्रश्न उठिरहेका छन्।
विसं २००७ को दशकमा नेपालका प्राचीन सम्पदाका रूपमा रहेका असंख्य मूर्ति चोरी भए। त्यो श्रृंखला आज पनि रोकिएको छैन। तर, घटना लुकाइन्छन्। इतिहासविद्हरूले अझै पनि उपत्यकाका केही मूर्ति चोरीको जोखिम नै रहेको औंल्याएका छन्। यसो भनिरहँदा उनीहरूलाई डर छ, यसमा कतै सम्पदा संरक्षकको भन्दा पहिलो नजर तस्करहरूको पर्यो भने!
मानदेवकालीन मूर्ति तिलगंगाको दहमा
इतिहासका पाना पल्टाएर कसैले नेपालको पहिलो अभिलेख सहितको मूर्ति कुन हो भनेर खोज्यो भने राजा मानदेव प्रथमको विष्णुविक्रान्तको मूर्तिलाई पाउँछ। त्यस वेला राजा मानदेवले विष्णुविक्रान्तका दुई वटा मूर्ति बनाएका थिए। जुन मूर्तिका आकार, बनावट र अभिलेख दुरुस्तै छन्। त्यही वेला बनाइएका दुई मूर्तिमध्ये एउटा लाजिम्पाटको धोबीचौरमा र अर्को पशुपति तिलगंगामा राखिएका थिए।
“अहिले पूरै बेवास्तामा रहेको मूर्ति कुनै पनि समय चोरी हुने उच्च जोखिममा छ,” सम्पदा संरक्षक रवीन्द्र पुरी भन्छन्, “यहाँ सुरक्षाका लागि न त स्थानीय जागरुक छन्, न सीसी क्यामेरा नै जडिएको छ।”
विसं २०१६ मा धोबीचौरमा अलपत्र परेको उक्त मूर्ति चोरी निकासीको डरले आफैंले अपहरण गरेर राष्ट्रिय संग्रहालयमा पठाएको संस्कृतिविद् सत्यमोहन जोशी सुनाउँछन्। पुरातत्त्व विभाग तथा संस्कृति विभागको निर्देशक हुँदा जोशीले आफैं रातको समयमा सुटुक्क मूर्ति उठाएर वीर पुस्तकालयमा केही समय राखी पछि छाउनी संग्रहालयलाई सुम्पिए।
विष्णुविक्रान्तको दुरुस्तै मूर्ति त्यस समय पशुपति तिलगंगामा पनि थियो। आज पनि त्यहीं छ। तर, भित्री गल्ली भएर जाँदा झाडीतिर एक चौथाइ पानीको दहमा डुबेको स्थितिमा छ। “अहिले पूरै बेवास्तामा रहेको मूर्ति कुनै पनि समय चोरी हुने उच्च जोखिममा छ,” सम्पदा संरक्षक रवीन्द्र पुरी भन्छन्, “यहाँ सुरक्षाका लागि न त स्थानीय जागरुक छन्, न सीसी क्यामेरा नै जडिएको छ।”
यस मूर्तिको महत्त्वबारे धेरैजसो स्थानीय बेखबर छन्। ४६ वर्षदेखि मूर्ति रहेकै जग्गामा बस्दै आएका विन्देश्वर ठाकुर मूर्तिलाई बाटोमा देख्दा ढोगेर हिंड्ने गरेको बताउँछन्। उनी भन्छन्, “यहाँ यस मूर्तिबारे कसैलाई पनि राम्रो जानकारी छैन। फेरि यो सुकुम्बासी क्षेत्र पर्छ। आफैं कति वेला लखेटिनुपर्ने हो, मूर्तिलाई के सुरक्षा दिनु?”
राजा, राजमाता (मानदेवकी आमा) र संवत् उल्लिखित पहिलो अभिलेख हो, विष्णुविक्रान्तको मूर्ति। विडम्बना, पाँचौं शताब्दीको काव्यिक शिलालेख र मूर्तिले बोकेको इतिहास दहमा उपेक्षित रहनुले हाम्रो सम्पदा संरक्षणको चेतलाई उदांगो पारिदिएको छ। साथै, मूर्तिको हराउने जोखिम उत्तिकै छ।
हजार वर्षे मूर्ति जोखिममा!
पाटनको च्यासलहिटीको कुनामा लक्ष्मीको एउटा ढुंगे मूर्ति टक्क उभिएको छ। यसलाई पहिलो झलकमै स्त्रीमूर्ति, दोस्रो हेराइमा देवीको मूर्ति र तेस्रो हेराइमा गजलक्ष्मी भनेर ठम्याउन सकिन्छ। यो मूर्तिका गोडामा ठूलठूला कल्ली छन्।
मूर्ति २१ सयदेखि २२ सय वर्ष पुरानो मान्न सकिने कला मर्मज्ञ लैनसिंह बाङ्देलले ‘एन अर्ली स्कल्प्चर अफ गजलक्ष्मी फर्म पाटन’ शीर्षकको लेखमा उल्लेख गरेका छन्। यस आधारमा नेपालमा अहिलेसम्मको सबैभन्दा पुरानो र पूर्ण सग्लो प्रमाणित मूर्ति यही हो। तीन वर्षअघि उक्त मूर्ति ढुंगेधाराको कुनामा लडेको थियो। “त्यो त्यहाँबाट कसैले उठाएर लगेको भए पनि कसैलाई हेक्का हुने थिएन,” सम्पदा संरक्षक पुरी भन्छन्, “मूर्तिको बिजोग भएरै मैले स्थानीयलाई यथास्थानमा सुरक्षित राख्न आह्वान गरें।”
“यो ठाउँमा पहिले पनि उमा-महेश्वरका स-साना मूर्ति प्रशस्तै चोरी भएका छन्। हेर्दा लेउ पलाएको, फ्यालिएको देखेर अहिलेसम्म बचेको होला। नत्र यस्तो महत्त्वको मूर्ति खुला ठाउँमा के राख्थे?”
पुरीको अगुवाइमा ढुंगेधारा सरसफाइ र मूर्तिलाई छेकबार गरिने काम भयो। तर, अहिले पनि यस मूर्ति चोरी हुनसक्ने जोखिम नहटेको स्थानीय रामलता श्रेष्ठ बताउँछन्। श्रेष्ठका अनुसार, यस मूर्तिको सुरक्षाका लागि उचित मन्दिर बनाएर राखिनुपर्छ। “यो ठाउँमा पहिले पनि उमा-महेश्वरका स-साना मूर्ति प्रशस्तै चोरी भएका छन्,” श्रेष्ठ भन्छन्, “हेर्दा लेउ पलाएको, फ्यालिएको देखेर अहिलेसम्म बचेको होला। नत्र यस्तो महत्त्वको मूर्ति खुला ठाउँमा के राख्थे?”
इतिहास बोल्ने यस्ता मूर्ति कम्तीमा पनि स्थानीयको पहिलो प्राथमिकतामा हुनुपर्ने त्रिभुवन विश्वविद्यालयको पुरातत्त्व केन्द्रीय विभागका प्रमुख डा. मदनकुमार रिमाल औंल्याउँछन्। सम्पदा संरक्षण अभियन्ता रोशन मिश्र चिन्ता व्यक्त गर्छन्, “सयौं मूर्ति चोरी निकासी भएर मन्दिरहरू रित्तिइरहेका छन्। यद्यपि सचेत भएर यस्ता महत्त्वपूर्ण मूर्ति बचाउन साइरन, चिप्स जडान गर्न र पूर्ण अभिलेख राख्न सबै निकाय चुकेका छन्।”
खुट्टामा ठूलठूला कल्ली, कानमा उस्तै कुण्डल र तलतिर झरेको पटुका लिच्छविकालभन्दा अघिका श्रृंगार प्रसाधन र पोशाक भएको ग्रन्थकार वीणा पौड्याल बताउँछिन्।
साथै, यस मूर्तिले ईसापूर्वदेखि नै शक्ति उपासनाको परम्परा प्रचलनमा रहेको प्रष्ट बुझिने लैनसिंह बाङ्देलले गजलक्ष्मीबारेको अनुसन्धानमूलक लेखमा उल्लेख गरेका छन्। यसरी लिच्छविकालअघिकोे जीवनशैली दुरुस्तै उतारेको गजलक्ष्मी मूर्तिको सुरक्षा पर्याप्त छैन। सम्पदा संरक्षक पुरी चिन्ता व्यक्त गर्छन्, “वर्षौंदेखि कुनामा फ्याँकिएको मूर्ति उठाएर फलामको पर्खाल त लगाइयो। तर, पुरातत्त्व विभाग र स्थानीयले यसलाई सुरक्षा नदिए मूर्ति भोलि नरहन पनि सक्छ।”
चोरीको चंगुलमा वासुकी नाग
८ वैशाख २०७८ मध्यराति साँगाको गःहिटी ढुंगेधारामा सामान फुटेको आवाज आयो। भोलिपल्ट बिहान स्थानीय भुवन न्हुच्छें प्रधानले अघिल्लो रातको आवाज ढुंगेधारामा रहेको वासुकी नागको मूर्ति चोर्ने प्रयासका क्रममा निस्किएको पत्ता लगाए। लिच्छविकालीन उक्त मूर्ति झिक्न मूर्तिको छेउकुनामा भालाले घोपिएको थियो। केही इँटा फुटेका थिए। तर, त्यस रात मूर्ति चोर्ने प्रयास विफल भयो। देवता बचे। “त्यसपछि पनि मूर्ति चोर्ने प्रयास भएका छन्। तर, झिक्न नसक्दा नजिकका धारा र त्यसका सयौं टुटी हराएका छन्,” प्रधान भन्छन्।
४३ वर्ष पहिले पनि वासुकी नाग छेउबाट गणेशका दुई वटा मूर्ति हराएका थिए। ५० मिटर वरपर नै अर्को लक्ष्मी-नारायण मूर्ति हराएको थियो। यसरी बारम्बार गःहिटीमा चोरी भइरहने र विशेष वासुकी नागको मूर्ति बारम्बार चोरीको प्रयास हुँदा पनि पुरातत्त्व विभागले कुनै चासो नदिएको स्थानीय बालकृष्ण श्रेष्ठ गुनासो पोख्छन्।
शिरमा पञ्चनाग, ध्यानमुद्राको आवरण र चिप्लो ढुंगाले बत्ती झैं बलेका भगवान् विष्णु। लिच्छविकालीन कालो ढुंगाबाट बनेको यस मूर्तिलाई पटक-पटक हत्याउने कोशिश भइरहेको छ।
कलात्मक मूल्यका कारण वासुकीको मूर्ति मूल्यवान् भए पनि सुरक्षित भने नभएको ‘कल्चर ग्रुप अफ साँगा’ का रोजन न्हुच्छें प्रधान बताउँछन्। “सुरक्षाका लागि साइरन, सीसी क्यामेरा, वरिपरि गेट लगाउन खोजे पनि न पुरातत्त्व न त स्थानीयलाई चासो छ। कुनै दिन यस्तै खेलाँचीले भगवान् हराउने डर छ,” उनी भन्छन्।
शिरमा पञ्चनाग, ध्यानमुद्राको आवरण र चिप्लो ढुंगाले बत्ती झैं बलेका भगवान् विष्णु। लिच्छविकालीन कालो ढुंगाबाट बनेको यस मूर्तिलाई पटक-पटक हत्याउने कोशिश भइरहेको छ। जति धेरै जानकारी दियो, उति नै हराउने जोखिममा रहने सम्पदा संरक्षण अभियन्ता पुरी बताउँछन्।
नागहरूका पनि राजा वासुकीको नियमित पूजा गर्नाले कालसर्पयोग टर्ने जनविश्वास छ। वासुकी नाग भगवान् शिवको गलामा हुन्छन्। विशेष गःहिटीका नाग पुज्न नागपञ्चमीमा भक्तजनको घुइँचो लाग्छ। भित्ताको कुनामा टाँसेर राखिएको मूर्तिलाई स्थानीयहरूले एक तगारी सिमेन्टले पोतेर अड्याएर छाडेका छन्। “खासमा स्थानीय सरकारले सानो मन्दिर र घेरा हालिदिए हाम्रा मूर्ति बच्ने थिए,” स्थानीय बालकृष्ण श्रेष्ठ भन्छन्, “यस्ता मूर्ति गुमे हाम्रा त चाड, जात्रा र संस्कार नै गुम्छन्।”
उमा-महेश्वर (मृत्युञ्जय)को मूर्ति
ललितपुरको कुम्भेश्वर धाराको पश्चिमपट्टि भित्तामा ओत लागेर उभिएको छ, उमा-महेश्वरको मूर्ति। मूर्तिका जानकार व्यक्तिहरूलाई उमा-महेश्वरको मूर्तिको चर्चा कुनै नौलो विषय होइन। तर, नेपालभरका अनेक ठाउँमा भएका उमा-महेश्वरको मूर्तिभन्दा यो फरक छ। यसलाई मल्लकालको उत्कृष्ट नमूना मूर्तिका रूपमा बुझ्नुपर्छ। त्यसैले यो जानकारी धेरै फैलियो भने पनि चोरी होला भन्ने डरमा छिन् ग्रन्थकार वीणा पौड्याल। भन्छिन्, “चोरीको डरले नेपालको गर्विलो कलाकृति सधैं लुकाएर राख्नु पनि उचित होइन। संरक्षण गर्नेले तदारुकता देखाउनुपर्यो।”
पौड्यालका अनुसार, काठमाडौं उपत्यकामा ईसाको दोस्रो शताब्दीदेखिका उमा-महेश्वर लगायत विभिन्न भगवान्का दर्जनौं मूर्ति छन्। काठमाडौंको नयाँ बानेश्वरबाट पाटन दरबार क्षेत्रसम्म पुग्दा मात्रै झण्डै आधा दर्जन प्राचीन एवं लिच्छविकालीन मूर्तिहरू बेवारिसे अवस्थामा भेटिन्छन् । असन, वसन्तपुर, पशुपति, धुम्बाराही, हाँडीगाउँ जस्ता क्षेत्रमा महत्त्वपूर्ण मूर्ति पनि यत्रतत्र छरिएरै रहेका छन्। ती मूर्ति जुनसुकै वेला पनि चोरी हुनसक्ने जोखिम छ।
“बेवारिसे र जोखिममा रहेका यस्ता सम्पदा संरक्षणका लागि काठमाडौंमा भएको पुरातत्त्व विभाग देशैभर पुग्न सक्दैन। अहिले स्थानीय, प्रदेश र संघीय सरकार छन्। संघीयता यसैका लागि हैन र ! पहुँच घर-घरमा। सुरक्षा गाउँ-गाउँमा।”
तर, त्यसमा पनि विशेष उमा-महेश्वरको मृत्युञ्जयको शैली अमूल्य छ। फलकबीचको भागमा कुँदिएका शिवपार्वतीको बसाइ र हातमा लिएको कुम्भ, यस शैलीको अन्य मूर्ति नेपालमा बनेकै छैन। चौधौं र पन्ध्रौं शताब्दीमा बनेको यस मूर्तिले कालका पनि काल शिवको आराधनाबाट मृत्युलाई जित्न सकिने भाव देखाएको छ। त्यसैले यो नमूना मूर्तिको विशेष सुरक्षा आवश्यक छ।
मूर्ति संरक्षणकै लागि केही समयअघि सीसी क्यामेरा जडान गरे पनि सुरक्षामा ढुक्क हुने अवस्था नरहेको स्थानीय रामेश महर्जन बताउँछन्। “यत्रो एरियामा जम्मा १-२ वटा सीसी क्यामेराले यस्तो बहुमूल्य मूर्ति चोरी हुनबाट के बच्थ्यो होला,” उनको संशय छ, “नेपालमै उमा-महेश्वरको नमूना मूर्ति बचाउने अभियान नै चाले त सबै सजग हुन्थे कि?”
नेपालीमा घरआँगनका देउता कसैले सुटुक्क उधिनेर रातारात समुद्रपार पुर्याउने डर आजको मात्र होइन। सन् १९६० को दशकदेखि नेपालबाट महत्त्वपूर्ण मूर्तिहरू हराउने सिलसिला चलेको थियो। १९८० को दशकमा यसले व्यापकता पायो। यसबीचमा झण्डै ५०० को हाराहारीमा ऐतिहासिक मूर्ति एवं टुँडालहरू हराएको पुरातत्त्व विभागको अनुमान छ।
ऐतिहासिक मूर्ति वा अभिलेखका लागि सुरक्षाको न्यूनतम आधार तय गर्न साइरन वा सीसी क्यामेरा जडानका लागि पुरातत्त्व विभागले बजेट छुट्याउँदैन। यस्ता सम्पदाहरूको जगेर्ना एक्लो पुरातत्त्व विभागले गर्न नसक्ने विभागका निर्देशक दामोदर गौतम बताउँछन्। “बेवारिसे र जोखिममा रहेका यस्ता सम्पदा संरक्षणका लागि काठमाडौंमा भएको पुरातत्त्व विभाग देशैभर पुग्न सक्दैन,” गौतम भन्छन्, “अहिले स्थानीय, प्रदेश र संघीय सरकार छन्। संघीयता यसैका लागि हैन र ! पहुँच घर-घरमा। सुरक्षा गाउँ-गाउँमा।”
पुरातत्त्वका तीन अभियान
पुरातत्त्व विभागले अहिले देशैभरका मूर्तिहरूको अभिलेख राख्ने काम गरिरहेको छ। काठमाडौं उपत्यकामा रहेका आधाजसो मूर्तिको अभिलेख राखिसकेको छ भने उपत्यका बाहिरका जिल्लाहरूमा काम शुरू भएको छ। यस अभिलेखमा कुन ठाउँमा कुन मूर्ति, कहिलेको कुन धर्मसँग सम्बन्धित, कुन म्यूजियमका वस्तु, वास्तुकला, फोटो र सूक्ष्म विवरण भरिन्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा मूर्तिको प्रमाणीकरण समेत शुरू भएको छ । प्रमाणीकरण विनाका मूर्तिहरू देश बाहिर लैजान रोक लगाइएको छ। तर, चारैतर्फ खुला सीमा भएकाले मूर्ति चोरी रोक्नु चुनौतीपूर्ण छ।
विभागले मुख्य तीन सिद्धान्तबाट काम गरिरहेको छ। पहिलो, भएका मूर्तिको संरक्षण, दोस्रो, चोरिएका देवदेवी फर्काउने अभियान र अन्तिम, अन्तर्राष्ट्रिय कूटनीतिक पहल । जसबाट आजसम्म ६० वटा मूर्ति फर्किएका छन् भने २३ वटा फर्कने प्रक्रियामा छन्। नेपालसँग हरेक मूर्तिलाई बचाउन विदेशमा जस्तो मूर्तिमै ‘चिप्स’ लगाउने क्षमता छैन । त्यसैले चोरीको घटना हुनै नदिन स्थानीय सरकार, घर, गाउँ र टोलको सक्रियता चाहिन्छ।
पुर्खाले एकपछि अर्को पुस्तामा हस्तान्तरण गर्दै आएको चित्र नै कला हो। यो बचाउने पहिलो जिम्मा स्थानीयकै हो । त्यसपछि पहुँच र संरक्षण गर्न विभागले बनाएका रणनीति काम लाग्छन्।
विभागले विश्वव्यापी हुने गरी नेपालको मूर्तिकलाका पुस्तक छापिरहेको छ। सम्पदा अभियन्ताहरूलाई सहयोग हुने गरी जनमानसमा नेपाली कलाको महत्त्व बुझाउने सामग्री बन्दै छन्। मूर्तिहरूको अभिलेख राख्ने अभियान देशव्यापी चल्छ। त्यसपछि हराएका मूर्ति हाम्रै हुन् भन्ने प्रमाण बल्ल जुट्छ।
(हिमालको २०७८ भदौ अंकमा 'जोखिममा चार प्राचीन मूर्ति' शीर्षकमा प्रकाशित रिपोर्ट।)