कमला भसिन : दक्षिणएशियाकी अम्मा!
केटीहरू भन्थे, ‘कमला छोरी गुमाएर पीर नगर, हेर त कति छौं तिम्रा छोरीहरू’ तर आज हामीले कमला नै गुमायौं। हाम्रो साझा अम्मा गुमायौं। कमलाले धेरै मानिसको जीवनमा रिक्तता छोडेर गइन्।
दिन धुमिलो, मन अमिलो भइरह्यो। आँखामा त्यही पहिलो भेट नाचिरह्यो। कमला भसिनका चम्किला आँखा, ऊर्जा र स्नेहले भरिएको आवाज। मनबाटै ओझेल पर्नै सकेनन्। उनी अब यो संसारमा छैनन् भन्ने सत्य स्विकार्नु कसरी?
कमला भसिनको देहान्त समानताको आन्दोलनमा बल्झिरहने एक कठोर सत्य हो। उनले दिने प्रशिक्षण कक्षाहरूमा हावामा उडिरहेका हुन्थे उनका हातहरू। गुन्जिरहन्थे गीतहरू। उनका आफ्नै सिर्जनाहरूले मनहरू हल्लाइदिन्थे। जुरुक्क हुन्थ्यो जाँगर। ‘शेरनी से हम शक्ति चुराएगें, हिरणीसे हम फुर्ति चुराएगें, जिन्दगी अपना बदलजाएगें’।
कमलाको शक्तिशाली आवाजमा यो गीत घन्किँदा घरि आफू बघिनी जस्तो, घरि आफू फुर्तिली हरिणी जस्तो भएझैं लाग्दथ्यो। यो गीत सार्क देशका सबै भाषामा छ। यसको मूल लय नेपाली लोकगीतको हो, ‘दाइले मादल बजाएको सुनेर, आएँ रे म त झ्यालढोका थुनेर’। नेपाली गीतको यो सुन्दर भाका दक्षिण एसियाका महिलाहरूको ऊर्जा सञ्चार गर्न वर्षाैंदेखि प्रयोग भइरहेको छ। यो मात्र होइन, कमलाको अरू धेरै तागतिला सिर्जनाले हाम्रो आँट भरेर जान्थे। त्यो समय बितेर जानेछ, यो त मैले सोचेकै रहेनछु।
काँधमा धाप मारेर भनेको सम्झन्छु, ‘तेरी जैसी लड्की करेंगे पितृसत्ताको ऐसी की तैसी।’ म जस्ता कति केटीहरूको जीवनमा उनको उत्साही स्वरले जीवन दिएको थियो होला। साउथ एसियाका हामी जस्ता बिना ‘एक्पोजर’का मानिसहरूको जीवनमा उनी एक शक्तिपुञ्ज थिइन्।
बुद्धले भने जस्तो अनित्यबोध गहिराइमा महसूस भयो। कमलासँगै उनको अद्भुत ज्ञान र अथाह शक्तिको पनि देहावसान भयो । मृत्यु एक कठोर सत्य रहेछ । एकपछि अर्को मृत्युहरूले दुखाइरहेको यो वर्ष कमलाको निधनले हृदय नै हल्लाएर गयो। शक्तिको एउटा तार कतैबाट छिनिएजस्तो, मायूसीले छोपिरह्यो। कमलाको ध्वनि दक्षिण एसियाका हावाहरूमा गुन्जिरहनेछ।
त्यो पहिलो भेट
नेपाल एफएममा काम गर्दा नै उनीसंग मेरो पहिलो भेट भएको थियो। ‘आइपुगिन् कमला भसिन’, पर्खिरहेका हामीलाई कसैले सुनायो। उनीसँग कुराकानीको तयारीमा बसेको म दौडेर गेटमा पुगेकी थिएँ। हातमा कापी कलम समातेकी थिएँ।
साँझको झलमल्ल उज्यालोमा उनले रेडियोको आँगन टेकिन्। मैले अभिवादन गर्दै परिचय दिएँ र भनें, ‘आज तिम्रो अन्तर्वार्ता लिने जिम्मा मेरो छ। म उत्साहित छु र नर्भस पनि। मलाई तिमीले नै सघाउनु पर्छ है।’ उनी धाप मार्दै अघि बढिन्। हामी स्टुडियोमा छिरिहाल्यौं।
पितृसत्ता र जेन्डरको अवधारणामा अन्तर्वार्ताका लागि मैले तयारी गरेकीं थिएँ। तर कमलाले ‘महिला र शान्तिको सम्बन्धमा गरौं न’ भनिन्। म त अलमल्ल परें। लामो थिमेटिक अन्तर्वार्ताका लागि तयारी थियो मेरो। मैले जिद्दी गरें। उनले फकाइन्, ‘तिमीले भनेजति समय दिएर त्यो पनि गरौंला।’
त्यसपछि उनले भनेकै विषयमा कुरा गर्न थाल्यौंं। यति स्नेह र प्रेरणादायी नजरले हेरिन् कि अन्तर्वार्ता फुत्तै सकियो। उनको प्रेरक नजर अघिल्लो दिनको तयारी दुवै मेरा टनिक बने। ‘तिमीले सक्छौ’ भन्ने भाव भरिएको नजरले त्यति प्रसिद्ध मानिसले हेरिदिनु र सफल अन्तर्वार्ता हुनु। आकाशमै पुगें म।
अन्तर्वार्ता सकिनासाथै आगामी वर्षको एक महिने तालिमका लागि निम्तो दिइन्। एक्पोजरको नाममा केही थिएन मसँग। एक मिनेटमै दक्षिण एसियाको महिला आन्दोलनको हिस्सा हुन पाएँ। उनले काँधमा धाप मारेर भनेको सम्झन्छु, ‘तेरी जैसी लड्की करेंगे पितृसत्ताको ऐसी की तैसी।’
त्यो हातको तातो धापले ममा शक्तिको ज्वाला प्रवाहित गरेको थियो। म जस्ता कति केटीहरूको जीवनमा उनको उत्साही स्वरले जीवन दिएको थियो होला। साउथ एसियाका हामी जस्ता बिना ‘एक्पोजर’का मानिसहरूको जीवनमा उनी एक शक्तिपुञ्ज थिइन्।
उनीसँग पहिलो अन्तवार्ता यसरी जुरेको थियो। कमला भसिन नेपाल आउँदै छिन् रे भन्ने कुरा चल्यो रेडियोको अफिसमा। रेडियोमा सल्लाह हुन थाल्यो, उनलाई बोलाउन पाए, अन्तर्वार्ता लिन पाए। तर कसले लिने? उनी त एकसे एक पत्रकारको सातो खाने एसियाकै तगडा महिला हुन्। यस्तो चर्चा थियो कमलाको। सल्लाहकै बीच मलाई यो कामको जिम्मा दिइयो। उनको बारेमा केही पनि थाहा थिएन। अहिले जस्तो सहज इन्टरनेट थिएन । एफएमले नै सबै पुस्तक उपलब्ध गराइदियो। मैले रातभरि पढें। यही आधारमा उनीसँग कुराकानी गर्न सकें।
बाल्यकालमा हाम्रो मोटर थियो। ड्राइभरले हामी सबै केटाकेटीलाई वेला वेला घुमाउन लैजान्थ्यो। म पनि जान्थें। सबैलाई पर-पर राख्थ्यो। मलाई भने नजिकै राख्थ्यो। अनि मेरो शरीरको संवेदनशील अंगमा हात लाँदै मोटर चलाउँथ्यो। मलाई उकुसमुकुस हुन्थ्यो। आफैंभित्र हीन भावना पैदा हुन्थ्यो।
रेडियोको छोटो अन्तर्वार्ताले धित मरेन। म अर्को दिन गोदावरीतिर लागें । संगत साउथ एसियाको तालिम चलिरहेको थियो, गोदावरी रिसोर्टमा। म पुगें, सानो रेकर्डर लिएर। पूर्वशर्त बमोजिम उनले समय दिइन्। उनको कोठामा चिया खाँदै गफिएको भर्खर जस्तो लाग्छ। ‘जेन्डर’ र पितृसत्तामा तीन घन्टा लामो अन्तर्वार्ता गरें। पछि त्यही अन्तर्वार्ता सुनेर स्नातकोत्तरमा ‘जेन्डर’ विषयको परीक्षा पनि दिएँ। आफैंले लिएको अन्तर्वार्ता सुनेर परीक्षामा लेख्नु मेरो जीवनकै रोमाञ्चकारी पल रह्यो। पहिलो पटक उनको नाम सुन्दा मलाई हेक्का समेत थिएन, उनी को हुन् र दक्षिण एसियामा उनको वजन कति छ?
त्यो दिन आफ्नै घरको सदस्य जस्तो उनकै कोठामा बसेर अन्तर्वार्ता लिएकी थिएँ मैले। खाना पनि सँगै खायौं। मलाई मनपर्ने कुरा सोधेर उनले खानेकुरा पनि प्लेटमा राखिदिएकी थिइन्। सानो कुरा तर कति आत्मीय! यो अजनवी शहरमा मायाको सानो झोक्काले नै बहार ल्याइदिन्थ्यो। उनको मायाको जादुले त दिल गार्डेन गार्डेन हुने नै भयो।
बीच-बीचको ब्रेकमा उनले मेरो जीवनका पहेलुहरू खोतलिन्। बालककालदेखि काठमाडाैंमा भोग्दै गरेका दिनहरूको बारेमा बताएँ। भविष्यको उत्साह पनि बताएँ। उनले स्नेहले हेरेर भनिन्, ‘दक्षिण एसियाका बालिकाहरू सात बर्ष नपुग्दै आमा बन्छन्, भाइबहिनीहरूका आमा।’ उनको आँखामा हर अजनवी केटीहरूका लागि प्रेम देखिन्थ्यो। मलाई लाग्यो, जीवनमा कोही भेटियो यस्तो फरिस्ता, जसले मेरो सबै कुरा बुझ्छ। उनले भनेकी थिइन्, ‘तिमीले यति लामो अन्तर्वार्ता गर्यो। हरदिन आफ्नो पेशामा श्रम गर्छौ, घरमा पनि तिमीलाई अनगन्ति कामहरू पर्खेर बसेका हुन्छन्। घरको काममा अब महिला र पुरुषको साझेदारीको शुरुआत हुनुपर्दछ।’
बाल्यकालदेखि आफूलाई ढुकेर बसिरहने कामहरूको पसारो दिमागमा नाच्यो। कहिल्यै नभेटेको मानिसले मलाई यो सबै कुराको जस दियो। आफ्नो लाग्नु भनेको मन बुझ्नु रहेछ। हामीले त सिकेकै के भने, शरीरले धानेजति श्रम गर तर त्यस्तो जिकिरसम्म नगर। जस लिने र दिने त कुरै परको भयो। उनले भनेजस्तै अनगन्ति श्रमहरूको माग गरिने तन पनि स्नेहले हलुको भयो। आफूले भेटेका मानिसहरूलाई व्यक्तिगत आत्मीयताले बाँध्न सक्ने कमलाको गजबको खुबी थियो। उनले मलाई पनि त्यस्तै आत्मीय आभास दिलाइन्। अर्को वर्ष लामो बसाइको कामना गर्दै हामी छुट्टियौं।
फेरि अर्को भेट
अर्को वर्ष आयो। हरियालीले रंग ल्यायो। अगस्टको महिना, गोदावरीको मौसम। सार्क राष्ट्रका ४० जना महिलाहरू एकै ठाउँमा जम्मा भए। अफगानिस्तान पनि थपिएको थियो, पहिलो पटक। साँझमा मोहक देखिएको गोदावरी मख्ख थियो, आफ्नो धपक्कै बलेको सौन्दर्यमा। ‘यो संसारकै स्वर्ग हो’ भन्दै थिए सहभागीहरू। तालिमको हलमा गुनगुन् र भुनभुन्।
साँझको समय, आठ देशको भेला। उत्साह र कौतूहलको अपूर्व संगम थियो त्यो दिन। वनमा रमाएका चरीहरू जस्तै कोहप् यता कोही उता। क्षणभरको अजनवी माहोललाई चिर्दै प्रवेश गरिन्, कमला भसिन। उनी एक व्यक्ति थिइनन्, पूरै महादेशको ऊर्जा सोहोरेर हिँड्ने बिजुली थिइन्। सबैलाई एक सूत्रमा बाँधिदिने मायाको डोरी पनि।
कमलाको उपस्थिति र झंकारले लाग्थ्यो, यो कुनै चानचुने भेला त होइन। भोलिपल्ट पहिलो प्रहरमै कमला र उनको टिमले हाम्रो मन झाँके। जीवनमा पहिलो पटक केटी महसूस गरेको र आफूले भोगेको दुव्र्यवहारको घटना सुनाउने सत्र चल्यो। त्यतिबेलै चल्तीमा भएको ‘पावर पोइन्ट प्रेजेन्टेसन’ र ‘स्लाइड सो’ नामका केही चिज थिएनन्। हामीले आँखामा आँखा हेरे मन सुनाउनु पर्दथ्यो।
पहिलो सेसनमा मात्र होइन, पछि भएका कुनै पनि सेसनमा प्रविधिको कृत्रिम प्रयोग थिएन। आर्टिफिसियल इन्टेलिजेन्सको बोलवाला हुँदै गरेको अहिलेको समयबाट त्यो समय फर्केर हेर्छु। मनको तार मनसँग जोडेर बोल्नु अलौकिक अनुभूति थियो। आजको दिनमा महत्त्व बढ्दै गएको ‘इमोसनल इन्टेलिजेन्स’ गहिराइमै प्रयोग गरिएको थियो। साँच्चै शक्तिशाली!
पहिलो पटक आठ देशका मानिसहरूसँग गोलाकार घेरामा थिएँ, म। परिचयपछि जीवनको संवेदनशील कुरा सुनाउने कार्यक्रम चल्दै थियो। हर केटीको आत्माले कम्तीमा एक घाउ बोकेर बाँचेको हुन्छ। त्यही सुनाउन भन्दै थिए। कहिल्यै कसैको अघि धक नफुकेको म लगायत धेरैलाई अप्ठेरो भइरहेको थियो। बिस्तारै माहोल खुल्दै गयो। जीवनकालमा कहीं न कहीं आफूले भोगेको दुर्व्यवहार सुनाउँदै गयौं।
मनमा गडेर बसेको त्यो घाउ फुटाएर रोएपछि जीवनले नै अर्को मोड लियो। घाउ गयो। शक्ति भरियो। कमलाको छोरीको भर्खर देहावसान भएको थियो। उनीले जुन माया र शक्ति हामीलाई भरिदिइन्, हामी सबैले उनलाई भन्यौं, ‘तिमी हाम्रो अम्मा’।
मेरो मनमा पनि यस्तो घाउ थियो। कसैलाई भन्न नसकी फलाम जस्तो गरी छातीमा बसेको। जसले मलाई दुखिरहन्थ्यो। आफ्नो पालो आउने बेलासम्म मनको कुरा सुनाउन साहस बटुलिरहें। सबैले दिल खोल्दै गए। यता मेरो पनि हिम्मत बढ्दै गयो। पालो आयो। मैले सुनाउन थालें, अलिअलि काँपेको आवाजमा।
बाल्यकालमा हाम्रो मोटर थियो। ड्राइभरले हामी सबै केटाकेटीलाई वेला वेला घुमाउन लैजान्थ्यो। म पनि जान्थें। सबैलाई पर-पर राख्थ्यो। मलाई भने नजिकै राख्थ्यो। अनि मेरो शरीरको संवेदनशील अंगमा हात लाँदै मोटर चलाउँथ्यो। मलाई उकुसमुकुस हुन्थ्यो। आफैंभित्र हीन भावना पैदा हुन्थ्यो। तर अर्को पटक घुम्न जाने बेला बिर्सन्थें। घुम्ने लोभ पनि हुन्थ्यो। निरन्तर यो जालोमा परिरहन्थें।
अर्को पनि घाउ थियो। हाम्रो खाद्य उद्योगमा तराईतिरका कर्मचारीहरू थिए। केही सबैभन्दा भरपर्दा र सिनियर थिए। बुवाआमा यताउता जाँदा हामी केटाकेटीको रक्षाका लागि सबैभन्दा भरपर्दो कर्मचारीलाई गार्ड राखेर जानुहुन्थ्यो। रातीको समयमा त्यही गार्डले मलाई ड्राइभरले जस्तै व्यवहार गर्दथ्यो। मलाई उस्तै विरक्त लाग्यो। भन्न कसैलाई सक्दिनथें।
अहिले सम्झिँदा पनि डर लाग्छ, झन्डै म बलात्कारकै शिकार हुनबाट बचेको रहेछु। त्यतिबेला आफूमा के दोष होला र यस्तो भोग्नु परेको होला भन्ने सोच्थें। लामो समय मनमा गुम्साएर राखेको यो दुवै कुरा मैले भनिदिएँ। मलाई यस्तो लाग्यो, यही मेरो ठाउँ हो जहाँ मलाई जज नगरी सबै कुरा बुझिन्छ। ‘दिस इज माई स्पेस’ भन्ने भयो। अफगानिस्तान, पाकिस्तान, भारत नेपाल सबै-सबै देशका केटीहरूको उस्तै कहानी।
सबैको कुरा सकिएपछि, हामी रोएका थियौं, निकैबेर। मनमा गडेर बसेको त्यो घाउ फुटाएर रोएपछि जीवनले नै अर्को मोड लियो। घाउ गयो। शक्ति भरियो। कमलाको छोरीको भर्खर देहावसान भएको थियो। उनीले जुन माया र शक्ति हामीलाई भरिदिइन्, हामी सबैले उनलाई भन्यौं, ‘तिमी हाम्रो अम्मा’। त्यो एउटा यस्तो समय थियो, हामी सबैले साझा अभिभावक पाएका थियौं। त्यसपछि त्यो कुरा कहीं भन्न आवश्यक नै लागेन।
संगत साउथ एसियाको संयोजकत्वमा गरिने यस्तो एक महिने भेला केवल वैचारिक तालिम थिएन। विभिन्न देशका महिलाहरूको अनुभूति उनेर बनेको एक सुन्दर माला थियो। हामीहरूका भोगाइ साझा थिए। दुःख र सपना उस्तै थिए। छोरीहरूलाई सपना देख्न पनि बन्देज लगाइएको समयमा सारा सीमा छिचोलेर एकै ठाउँमा उभिनु नै काफी थियो। बिहानको योग, वैचारिक बहस, साँझको खेलकुद अनि रातिको सिनेमा मन्थन। यसरी व्यवस्थापन गरिएको थियो, जस्ले हाम्रो मस्तिस्कको चारै ढोका चलायमान बनाउँदथ्यो। सबैको अघि पानीको भरिएको बोतल हरदम हुन्थ्यो।
पितृसत्तामा कसरी पुरुष पनि दुःखी र ठगिएका छन्, हाम्रो आँखा खोलिएको थियो। पुरुषहरूप्रति घृणा र रोष मात्र होइन उनीहरूलाई दया र माफी पनि चाहिन्छ, यो हामीले बुझिरहेका थियौं।
सेसनकै बीचबीचमा सबैलाई पानी पिउन कमला आग्रह गर्थिन्। पानी खाऊ, शौचालय जाऊ। सार्वजनिक भेला, अफिस वा यात्रा कतै पनि केटी मान्छेलाई शौचालय जानै पर्दैन जस्तो गरिन्छ। सामान्य प्राकृतिक कुरामा पनि हाम्रो लज्जा पोतिएको छ। मन्त्रालयका अफिसहरूमा समेत महिला शौचालय भर्खर बन्दै थियो। योग र खेलकुद हामीलाई नियमित गराइन्थ्यो। खाना कस्तो छ, हेरिन्थ्यो। तागतिलो र सन्तुलित भोजन खाऊ भनिन्थ्यो। न आगे न पिछे छोरीमान्छेको शरीरका लागि त्यति विचार गरिएको मैले कर्ही देखेकी छैन।
दक्षिण एसियाका एकसे एक दिग्गजको उपस्थिति र तालिमले हामीलाई वैचारिक रूपमै बलियो बनाउँदै गएको थियो। भारतकी खाद्य अधिकारकर्मी रुक्मिणी रावले खाद्य सम्प्रभुताको कुरा सुनाएपछि हामीले आआफ्नो देशको आँत छामेका थियौं। वरिपरिका बिरुवाहरू जम्मा गरेर ती सबैका गुणहरूका बारेमा चर्चा गरेका थियौं। हाम्रा कस्ता रैथाने बीउहरूमा विकसित राष्ट्रले आँखा लगाँउदै छन्, चाल पाउन थालेका थियौं।
परिचयको राजनीतिको आयामहरूमा बहस हुन्थ्यो। पहिलो मधेस आन्दोलनको चर्चा चलेको थियो। अर्थव्यवस्थामा महिलाहरूको स्थान र भूमिका खोज्न सिकाइएको थियो। महिला मुद्दा, महिला आयोग र महिला मन्त्रालयले झारो टार्ने कार्यक्रम होइन। राज्य र संसारकै मूलधारका भनिएका विषय हाम्रा हुन्। यी सबैमा हाम्रो विचार र बहसको पकड हुनैपर्छ भन्ने ठहर गर्दै थियौं। पितृसत्तामा कसरी पुरुष पनि दुःखी र ठगिएका छन्, हाम्रो आँखा खोलिएको थियो। पुरुषहरूप्रति घृणा र रोष मात्र होइन उनीहरूलाई दया र माफी पनि चाहिन्छ, यो हामीले बुझिरहेका थियौं।
कमला आफैं पनि विपश्यनाकी साधक भएकाले पुरुषहरूप्रति पनि कसरी हामी कारुणिक हुन जरुरी छ भन्ने सिकाउँथिन्। हाम्रा छलफल र बहसमा करुणा र प्रेमको औजार कसरी प्रयोग गर्ने भनेर हामी मन्थन गर्दथ्यौं। पितृसत्ताले महिलाको शक्ति छिनिदिएको, पुरुषहरूको इन्सानियत खोसेको कुरा उनी बारम्बार गर्दथिन्। समानताको लामो रेसमा महिला र पुरुषको हातेमालो नै एकमात्र उपाय हो। यही थियो निष्कर्ष।
कमलाहरूले हाम्रो आँतमा भरिदिएका थिए, “तिमीहरूले कुनै प्रकाण्ड विद्वान्भन्दा कम ठानेर लुसुक्क पर्नुपर्दैन। विचार तिमीहरूको त्यत्तिकै बलियो छ। साँझको पार्टीमा उनीहरूको जति अधिकार छ, तिमीहरूको त्यति नै अधिकार छ। क्सले के भन्ला भनेर रमाउन डराउनु पर्दैन।”
कमलालाई मैले सोधें- यो तालिममा पुरुषहरूलाई किन समावेश नगरेको? उनले भनिन्, “चिया पसलदेखि संसद् भवनसम्म उनीहरू निस्फिक्री डुल्छन्। अनगन्ति कुराहरू थाहा पाउँछन्। सूचना र ज्ञानको दायरा फराकिलो गर्न पाउँछन्। रमाइलो पनि गर्छन्। तिमीहरूलाई कसले दिन्छ यो सबै अवसर? पुरुषहरूलाई समानताको तालिममा सहभागी गराउन थालेका छौं। तर यस्तो घनीभूत वैचारिक बहसमा अबको निकै वर्ष महिलाहरू मात्र हुनेछन्। जब त्यो असमानताको खाडल कम हुँदै जान्छ, महिलाहरू हाराहारीमा पुग्नेछन्, तब यो अवसर पुरुषहरूलाई पनि दिनेछौं।” यसरी हामीमा बुझाइ र आत्मविश्वास भरिएको थियो।
खोज पत्रकारिताको तालिम लिंदै गर्दा भारतको हिन्दू पत्रिकाका सम्पादक पी साइनाथ नेपाल आएका थिए। साइनाथसँग हातमा वाइन समाएर जेनेटिकल्ली मोडिफाइड कटनको असरहरूका बारेमा कुराकानी गरेकी थिएँ। पछि नेपाल आएकी रुक्मिणी रावसँग पनि साँझको समयमा त्यसैगरी वाइनको चुस्की लिँदै कुरा गरें। यस्ता दृश्य हामी जस्ता साधारण केटीहरूका लागि फगत दृश्य थिएनन्। एउटा छलाङ थियो जिन्दगीको। यसभित्र गहिरो सामाजिक मनोविज्ञान लुकेको छ।
मैले पूरै शक्तिशाली, वैचारिक र लिबरेटेड महसुस गरिरहेकीं थिएँ त्यस बखत। कमलाहरूले हाम्रो आँतमा भरिदिएका थिए, “तिमीहरूले कुनै प्रकाण्ड विद्वान्भन्दा कम ठानेर लुसुक्क पर्नुपर्दैन। विचार तिमीहरूको त्यत्तिकै बलियो छ। साँझको पार्टीमा उनीहरूको जति अधिकार छ, तिमीहरूको त्यति नै अधिकार छ। क्सले के भन्ला भनेर रमाउन डराउनु पर्दैन।”
पछि अक्सर यस्ता पार्टीहरूमा सहभागी हुने अवसर मिल्यो। आफ्नो सामुन्ने उभिएका नामी पुरुषहरूलाई हेर्थे र मनमनै भन्थे, “तिमीहरूले यस्सै पाएको स्वतन्त्रता, हामीले अथक परिश्रम गरेर कमाएको स्वतन्त्रता।” वायुमण्डलको हावासँग पनि डर मानेर बाँच्दो रहेछौं हामी। संरचनागत असमानताबाट आफू ठगिएको थाहा पाएपछि ढुक्कै भन्न सकें, ‘‘मिल्काइदेऊ नाथे डर ।’’
बद्चलन औरतहरू!
हाम्रो आँसुमा त संसारले सन्तोष मान्ने रहेछ। थोर बहुत करुणा पनि राख्दो रहेछ। सबैभन्दा आरिस चाहिँ हाम्रो हाँसो खुशीमै रहेछ। संसारको सहानुभूति पाउनकै लागि पनि हामी अक्सर दुःखका बातमा रमाउँदा रहेछौं। दःुख र सास्तीका कुरा त गर्न पाउनै पर्यो। तर हाँसो, ठट्टा र रमाइलोमा यति धेरै बन्देज किन? यही कारण होला, हामीलाई हाम्रो सुख कहाँ लुकेको छ भनेर थाहा पाउन पनि समय लाग्छ। एक त हाम्रो भागमा सास्ती नै बढी छ, भएका केही सुखद पलका बारेमा बात गर्न पनि बन्देज छ।
पहिलो पटक नै होला, कुनै ठाउँमा महिलाको आनन्द कहाँ छ भनेर सोधिएको। संगतकै सो बसाइमा एक दिन यस्तै भयो। बडी म्यापिङ सेसन। हामीलाई पालैपालो लमतन्न सुताएर, हाम्रो आनन्दका कुराहरू भन्न लगाइयो। शरीरको सुख, मनको सुख भन्न लगाइयो। हामीलाई त कसैले नटोक्नु, प्रश्न नगर्नू नै काफी रहेछ। मूल फुटे जस्तो गरी दुःख फुट्ने हृदयले सुखको बारेमा सोच्न समय लगायो।
लम्पसार परेर केटीहरूले भन्न थाले, आफ्ना सुखका कुरा। आफ्ना प्रेमीहरूले कहाँ स्पर्श गर्दा कसरी स्नेह देखाउँदा खुशी लाग्छ भनेर। कतिपय केटीहरूले मलाई मेरो प्रेमीले यो ठाउँमा स्नेह गर्दा सुख मिल्छ भन्दा हामी ट्वाल्ल पर्दथ्यौं। मुस्लिम सम्प्रदायको कसैले भने त हाम्रा आँखा तीन भित्ता तानिन्थे। जीवनका कति प्राकृतिक कुराहरूलाई संस्कार र नियमको बोझले थिचेको रहेछ। कुन समयमा कस्तो भावना र जीवन हामीले बाँच्नुपर्ने, हाम्रो त लड्दै सकिने रहेछ। सम्झेर सारा संरचनासँग झोक चल्यो। त्यहि बेलादेखि प्रष्ट भयो।
प्रकृतिले दिने सुखमा महिला र पुरुष बराबरी दावेदार छन्। कुनै माइकालालको नियम बाँच्न हामी आएका होइनौं। हामी हाम्रो जीवन बाँचेर जान यो धर्तीमा आएको हो। महान् र दुःखी भइदिएर हृदय नै जीर्ण बनाउन होइन, हृदयमा असीमित आनन्द भर्न आएको हो। त्यसपछि ढुक्कै भन्न सकिने भैयो, महिलाका रमाइलोको कुरा गरौं। यस्ता व्यहोराको लेख लेख्दा राष्ट्रिय पत्रिकाहरूले छाप्नै डराए। छापे पनि सेन्सर गरेर छापे। उनीहरू पनि हाम्रा विरक्तिले पाना भर्न चाहन्थे।
हिजोआज कमसेकम झोक चलेका बेला ‘मासाला’ भन्दा आत्मग्लानि हुँदैन। कम खानदानी महसुस हुँदैन। झोक चल्यो भने चल्यो। झोक चल्न पाउनु पनि हाम्रो अधिकार हो। सारा दर्द दबाएर सधैं मुसुक्क हाँस्ने किन? मुस्काउनु एक अभिव्यक्ति हो, झोक्किनु अर्को। महिलाको एकैथरी मुद्राको यत्रो बिधि ‘ग्लोरीफिकेसन’ किन? चित्त नबुझेको कुरामा झोक्किँदा आनन्द आउछ भने किन गर्ने अभिनय? साना तर वास्ता नगरिएका अनगन्ती कुराहरूमा हामीलाई ठगिएको रहेछ। महिला भन्यो कि दुःखलाई पर्यायवाची शब्द बनाइएको रहेछ। हाँसो ठट्टा, दिल्लगी, ननभेज जोक, यी त हाम्रो कुरै होइनन् जस्तो। रिस उठेका बेला अपशब्द बोलेर ‘रिलिज’ गर्नु पनि हाम्रा लागि चरित्रको सवाल बनेको रहेछ ।
कमलाको अगुवाईमा हुने भेलाले बौद्धिक विचारहरूको मात्र प्रहाह गर्दैनथे। एकताको बलियो डोरि बनाउँथे। उनीहरूले हामीलाई गोलाकार घेरामा उभिन लगाएर परिचय सोधेका थिए। परिचय सकिएपछि संसारमा मानिसलाई के के कुराले विभाजन गरेको छ भनेर छर्लंग पारिदिएका थिए। देशको सीमाना, धर्म, जात, छालाको रंग, राजनीतिक विचार आदि धेरै। यी सबै कुरामा विभाजन गरिएको हामी महिलाहरूको समूहलाई मायाको डोरीले बाँधिदिएका थिए। आज पर्यन्त सामूहिक च्याटमा सुख दुःखका कुरा, जन्मोत्सवको शुभकामना सबै कुरा गर्छौ हामी।
नेपाल आउँदा साथीहरू भेट्छन्। अफगानिस्तानमा बारुद पड्किँदा नेपालमा मेरो दिल काँपिरहेको हुन्छ। तालिवानले काबुल कब्जा गरेको दिन हामी हाम्रा साथीहरूको खबर बुझ्दै थियौं। ती कोमल निर्दोष दुई साथी हावा र फौजिया। आँखाभरिको उनीहरूका सपना, संघर्ष र मेहनतको गाथा। दन्त्यकथा जस्तो थियो। सिनेमा हेर्ने सेसनमा अफगानिस्तानको ‘स्टोन थ्रोइङ’बारे सिनेमा हेर्यौं एक दिन। हावा र फौजियालाई घेरेर हामी सबै रोयौं। हामी दुःखको आँसु एक ढिक्का बनाएर बगाउँथ्यौ। बत्तमिजिमा मात्तिँदै बस्थ्यौं। झमझम पानी परेको बेला गोदावरीमा भिज्दै उफ्रँदै हिँड्थ्यौं।
साँझको मन्द बतासमा समूह-समूह बनाएर गफिदै बस्नु, चिया पिउनु र दुनियाँको कुरा काट्नुमा बेग्लै मजा थियो। घरपरिवारमा आफूलाई नबुझेकोे सास्ती दिएको सबै भन्ने आजादी थियो। एक जना मुस्लिम साथीले आफ्नै आमाबुवा र दाजुले घरमा कसरी विभेद गर्छन्, रिसाउँदै सुनाएकी थिइन्। छोरीहरूले हाम्रा बाउआमा महान् भन्दै परिवारमा पर्दा लगाउनु जरुरी थिएन। परिवारभित्रका सास्ती पनि सुनाउँथे। सबैभन्दा ठूलो संघर्षको कथा परिवारभित्रै लुकेका हुन्थे । दुःख दिनेहरूलाई सरापेर सकेपछि जोक सुरु हुन्थ्यो।
पाकिस्तानकी अबरिन पठान परिवारकी थिइन्, मस्त अन्दाजकी। हामीले सोच्थ्यौं- मुस्लिम महिलाहरू कम बोल्ने घुम्टोमा मात्र लुकिहिँड्ने हुन्छन्। अमरिकनको ‘सेन्स अफ ह्युमर’ देखेर कायल नै भइयो। उनलाई सरदारको सरारती जोकहरू सबै कण्ठ थियो। ‘ननभेज जोक’ सुन्न केटीहरू पछिपछि लाग्थे। उनले भाउ खान्थिन्। काम लगाउँथिन्। जोक सुन्ने लालचले हामीले उनको काम गरिदिन्थ्यौं । सताएर अघाएपछि उनी मुडमा जोक मार्थिन्।
अल्लारे केटीहरू ननभेज जोकको नशाले बेहोस हुन्थे। हामी बद्मास, हामी बद्चलन्। अहिले पनि म पाकिस्तानकी मेरी प्रिय सखीलाई ओए बद्चलन् भन्छु। ऊ यति सुनेरै मस्त हुन्छे । मन भारी भएको दिन रातभरी मसँग गफिन्छे। म यस्तै हावा कुरा गरेर उसको मन बहलाउँछु। ननभेज जोकको बेहोसी पछि, सेरो सायरीको पालो हुन्थ्यो ।
साँझ अझै गाढा, हावा अझै मादक चल्थ्यो। नुर जेवा अर्की पाकिस्तानी, अब पालो सेर सायरीको । नुरको सेर सायरी यति मादक हुन्थ्यो, हामी भीरमौरीको मह खाएर लठ्ठिएको भावमा डुब्थ्यौं। ओहो त्यो मदहोसी। अझ नुर मेरो कपाल सुमसुमाउँदै यो सबै सुनाउँथिन्। स्वर्ग खोज्न अन्त कहाँ जानुपर्यो र!
कमला भन्थिन्, “कति सास्ती र हिंसाका बावजूद तिमीहरू जसरी हाँसेर हिड्छौं, मस्ती गर्छौ, त्यसले हाम्रो मन नै प्रफुल्लित गर्दछ। हाम्रो लडाइँ लामो छ। हाम्रा दिक्दारी धेरै छन्। लड्नु छ भन्दैमा अनुहारमा हरदम आक्रोश र दुःख राखेर नहिँड। हाँसेर, नाचेर मस्त भएर गर आफ्नो काम। जीवन जिउनु हाम्रो अधिकारको कुरा हो।”
उनी पनि आफ्नो जिन्दगी मस्तभरी अन्दाजमा नै बाँचेर गइन्। हरेक ब्रेकमा गीत बज्दथ्यो। हरेक सुरुआतमा पनि गीत बज्दथ्यो। हामी नाच्दै हलबाट निस्कन्थ्यौं। हामी नाच्दै हलमा पस्दथ्यौं। हामीले थाहा पाउँदै थियौं, हामीबाट खोसिएका सुखहरू। हामी सबैले महसूस गरेको कुरा थियो, “यो एक महिने बसाइमा, हामीले केवल शिक्षा लिएनौं। हामीले जसरी बाँच्न पाउनु पर्छ, त्यस्तो जीवनको हिस्सा बाँच्यौं।
हप्तामा एक दिन ब्रेक, घुमघाम र साँझमा पार्टी। कसले दिन्थ्यो होला र हामीलाई त्यो सबै कुरा संगत कोर्सको सिलसिलामा बाँचेको एक महिने जीवन हृदयमा कुँदिएको गोल्डेन तक्मा हो। त्यसपछिको जीवनमा कसले जज गर्ला र के भन्ला भन्ने भय त सदाका लागि विदा नै गरिदिए। समग्रमा हामीले एउटा पूर्ण जिन्दगीको स्वाद लिएका थियौं। सपनाको जीवन, सपना जस्तै।
कमलालाई काठमाडौं उपत्यकामा गोदावरी खास मन पर्दथ्यो। एक त आठै देशको मानिसलाई जुटाउन सजिलो। अर्को गोदावरीको मौसम र हरियाली। त्यो मोहकता उनी स्वाद मानी मानी भोग्दथिन्। काठमाडौंको विशेषताको पनि अक्सर चर्चा हुने गर्दथ्यो। सार्कका सबै मुलुकभन्दा नेपाल सहज र महिलाका लागि ‘लिबरल’ छ, यो भनाइ साझा हुने गर्दथ्यो।
काठमाडौंको सडकमा कोही महिला सारीमा भेटिन्छन्, कोही कुर्ता र जिन्समा भने कोही हाफ प्यान्टमा। जस्तो पोशाकमा हिंडे पनि उनीहरूको अनुहारमा तुलनात्मक बेफिक्रीपन देखिन्छ। अन्य मुलुकको राजधानी भन्दा। यो कुरा हरेक पटकको संगत कोर्समा चलेकै हुन्थ्यो। यही कारण पनि संगत साउथ एसियाको यो महत्त्वपूर्ण लामो कोर्स नेपालमै धेरै भयो, हुँदै छ। काठमाडौंको सडकमा हिंड्दा आफूहरू ‘लिबरेटेड फिल’ गरेको कुरा उनीहरू सुनाउँथे।
नेपाल आएपछि कहिले कहिले कमला विमानस्थलबाटै फोन गर्थिन् र भन्थिन्, ‘हम आ गए’। म फुरुंग पर्थें। आमिर खानको चर्चित कार्यक्रम ‘सत्यमेव जयते’मा अन्तरवार्ता दिएर आएको समयमा पनि उनले यसैगरी सम्झेकी थिइन्। म सहिद क्याम्पसमा भएको कार्यक्रममा पुगें। सत्यमेव जयतेकै कुरा चल्यो। उनले मलाई सारा भीडको अगाडि फूलको आँखामा फूलै संसार गाउन लगाइन्। हाम्रो तालिमको समयमा अक्सर उनी मलाई यो गीत गाउन लगाउँथिन्। त्यही सम्झेर फेरि गाउन भनिन्। असजिलो मानेर मैले गाएँ।
पछिल्लो पटक सन् २०१८ मा उनी नेपाल आइन्। २०१७ मा नेपालमा मैले भोगेको सकसबारे राम्रै वाकिफ थिइन्। हामीले भेट्यौं। पाटन डुल्यांै। मेरो किताव आउँदै गरेको सुनाएँ। उनले उही स्नेह र प्रेरणा भरिएको आवाजमा भनिन्, “अरे वा, हमारी बच्ची अब नोभलिस्ट बन गई।” पहिलो पटक अन्तर्वार्ता लिँदा नै भनेकी थिइन्, “अब तुम अखवार मे भि लिखा करो। थोडा नाम और बन जायगा।” मेरो अखवारी लेखन र आउँदै गरेको पुस्तकको बारेमा उनले निकै उत्साह देखाइन्। सेकेन्ड इनिङ्सका लागि ऊर्जा भरिए जस्तो भयो। हामीले चियर्स गरेर भन्यौ, ‘हम बद्चलन औरत’।
कमलाको आमिर खानसँगको अन्तर्वार्ता निकै चर्चित भएको थियो। यही टोनमा नेपालमा टक राख्न पाए।... । खुब इच्छा जागेको थियो । हिमालमिडियामा यो प्रस्ताव गरें। पत्रकार कनकमणि दीक्षितको सहयोगमा यो सम्पन्न हुन पनि पायो। अहिले सम्झिँदा त्यो ठूलो सन्तोषको विषय लाग्छ। उनको प्रस्तुति सदा झैं शक्तिशाली रह्यो। टेवाको अफिसमा साँझमा गुनगुन गर्दै हामीले योजना बुनेका थियौं। नेपालमा धेरै पछि सार्वजनिक अभिव्यक्ति दिनका लागि उनी उत्साहित थिइन् ।
त्यसपछि बिस्तारै कमला फ्रेमबाट ओझेल पर्दै गइन्। कहिल्यै नथाक्ने उनको देह पनि थाक्यो। एक युगको अन्त्य गरेर उनी हामीबाट विदा भइन्। त्यो हलमा गुञ्जिएको संगीतको ध्वनि अहिल्यै सुनिरहे जस्तो लाग्छ। आखिर सबै इतिहास भइदियो। सुनौलो इतिहासले भरिएको कमलाको जीवनको केही अंशको साझेदार हुन पाएकोमा पनि मन कृतज्ञ हुन्छ। शायद त्यो भेटले जीवनको दिशानिर्देश गरिदिएको थियो।
कमला अक्सर गेरु रंगको लुगा लगाउँथिन्। म उनलाई ‘सेफ्रोन फन्डामेन्टलिस्ट’ भनेर जिस्काउँथें। उनले मलाई पहिलो भेटपछि ‘रेडियोवाली’ भन्थिन्। पछि मायाले आवारा लड्की भन्थिन्। लोकतन्त्रको आन्दोलनका वेला, रातबिरात पर्चा छाप्ने, केटीहरू जम्मा भएर बस्ने गर्दथ्यौं हामी। हरेक प्रदर्शनको अघिल्लो दिन हामी आन्दोलनको बैठक हलमै चकटी ओछ्याएर सुत्थ्यौं। अरू वेला कैयौं दिन यसरी बिताउँथ्यौ। लोकतन्त्रका लागि गरेको श्रम हो भनेर हामी खुशी थियौं। निद्रा आधा, पेट आधा हुन्थ्यो। तर हामी मस्त रहन्थ्यौं। यही कुरा मैले उनलाई सुनाएकी थिएँ। त्यसैले मायाले हेरेर ‘आवारा’ भन्थिन्।
हाम्रो ब्याच वा पछिका सहकर्मीहरूसँग चिनाउँदा पनि ‘ए हे नेपालकी आवारा लड्की’ भन्थिन् । आवारगीको कुरा गरेर उनी आफैं मस्त हुन्थिन्। “आवारगी मुश्किल काम हे,” उनको मान्यता थियो। उनको मान्यता नै थियो, “तिमीहरू जस्तो एक्लै एक्लै भिडिरहेका धेरै महिलाहरूले सामूहिक नोबेल पिस प्राइज पाउनु पर्छ । यो पुरस्कार कुनै एकदुई मानिसको बपौती हुनुहुँदैन।” उनी, संसारभरका हजारौं महिलाहरूलाई नोबेल शान्ति पुरस्कारको हकदार मानिनुपर्छ भनेर लागिपरेकी पनि थिइन् ।
कमलाको आवाज आफ्नै जीवनको एक हिस्सा जस्तो लाग्छ। आफूभित्र समेटिएको ध्वनिहरूमध्येको एक प्रखर ध्वनि लाग्छ। उनलाई गुमाउनु भनेको ‘कोही छ नि’ भनेर भर परिने एक अभिभावक गुमाउनु जस्तै हो। यो मलाई मात्र होइन दक्षिण एसियाको धेरै महिलाहरूका लागि हो। जसले उनीसँग कुनै मोडमा सहकार्य गरे वा उनको ‘ग्रुमिङ’ पाए, सबैका लागि उनी जीवनको हिस्सा बनिदिइन्। यही कारण केटीहरू भन्थे, ‘कमला छोरी गुमाएर पीर नगर, हेर त कति छौं तिम्रा छोरीहरू।’
तर आज हामीले कमला नै गुमायौं। हाम्रो साझा अम्मा गुमायौं। कमलाले धेरै मानिसको जीवनमा रिक्तता छोडेर गइन्। मेरा लागि त्यो कलिलो उमेरमा, करिअरको सुरुआतमा भेटेको एक फरिस्ता। जादुमयी ए्न्जल हुन् उनी। कमला तिम्रो ऋणी छु जीवनमा। जहाँ छौं मस्त रहनू, डियर।