बान्तावा र राई भाषा किन परेनन् सिफारिशमा?
२०६८ सालको जनगणनामा किरात समुदायले आफ्नो भाषा स्पष्ट रूपमा नखुलाएका कारण प्रदेश १ को कामकाजी भाषाका रूपमा बान्तावा र राई भाषा सिफारिश हुन सकेन।
राष्ट्रिय भाषा आयोगले सातै प्रदेशमा प्रदेशस्तरीय कामकाजको ११ वटा भाषाको सिफारिश गरेको छ। प्रदेश १ मा नेपालीसँगै मैथिली र लिम्बूलाई सरकारी कामकाजको भाषा बनाउन सिफारिश गरेको छ। तर, प्रदेश १ मा एक लाख ३२ हजार ५८३ जनाले बोल्ने बान्तावा र एक लाख २० हजार ७९१ जनाले बोल्ने राई भाषा सरकारी कामकाजको भाषाका लागि सिफारिशमा परेनन्।
बान्तावा र राई भाषा किन सिफारिशमा परेनन्? भाषा आयोगको अध्ययन समितिले मुख्य रूपमा जनसङ्ख्यालाई कारण देखाएको छ। धेरै जनसङ्ख्या भएका भाषा सिफारिश गरिएको तर्क छ। के बान्तावा र राई भाषा बोल्ने जनसङ्ख्या साँच्चिकै कम छ? यही विषयमा चर्चा गरौं।
कुलुङ समुदायका अगुवा लगायत अन्य किराती जातिका अगुवाले जे सोचेका थिए, त्यही भयो प्रदेश १ मा। २०६८ सालको राष्ट्रिय जनगणना अनुसार, एक लाखभन्दा बढी वक्ता भएका राई र बान्तावा भाषा सरकारी कामकाजको भाषामा सिफारिश नहुनु दुःखद नै हो। किन सिफारिश भएनन् भन्ने विषयमा वास्तविकता लेख्न, बोल्न भन्ने कसैले पनि आँट गरेका छैनन्।
प्रष्ट छ, ‘राई’ जात वा जाति नभएकाले भाषा हुने कुरै भएन। भलै २०६८ सालको जनगणनाको तथ्याङ्कमा एक लाख २० हजार ७९१ जनाले यो भाषा बोल्ने तथ्याङ्क आएको थियो। अझ २०५८ सालको जनगणनामा त तीन लाख ७१ हजार जना राई भाषा बोल्ने थिए। तर, राई भाषा बोल्ने वक्ता, जात वा जाति को हुन्? अहिलेसम्म अत्तोपत्तो छैन। त्यसै पनि यो भाषाले प्रदेश १ को कामकाजी भाषाका रूपमा मान्यता पाउन सकेन।
भाषा आयोगले एक लाख ३२ हजार ५८३ जना बान्तावा भाषा बोल्ने रहेको उल्लेख गरेको छ। यति धेरै मान्छे बान्तावा भाषा बोल्ने भए पनि सरकारी कामकाजको भाषामा भने सिफारिश हुन सकेन।
त्यस्तै, बान्तावा भाषाको विषय पनि छ। २०६८ सालको जनगणनामा एक लाख ५९ हजार ११४ जना बान्तावा भाषा बोल्ने देखिएको भए पनि बान्तावा जातिको जनसङ्ख्या भने केवल चार हजार ६०४ जना मात्रै आएको थियो। अहिले भाषा आयोगले एक लाख ३२ हजार ५८३ जना बान्तावा भाषा बोल्ने रहेको उल्लेख गरेको छ। यति धेरै मान्छे बान्तावा भाषा बोल्ने भए पनि सरकारी कामकाजको भाषामा भने सिफारिश हुन सकेन।
यसो हुनुको एउटा कारण राई भाषा देखाउनु हो। राई जात वा जाति नभए पनि धेरै जनसङ्ख्या देखाएर राजनीति गरिंदै आएको छ। उनीहरूले ‘किरात राई यायोक्खा’ संस्था पनि खोलेका छन्। उनीहरूको चङ्गुलमा कुलुङ लगायत अरू किराती पनि परेका छन्। यसमा जान्नेसुन्ने, बुझ्ने, पढालेखा, राजनीतिक पहुँच भएकाहरू पनि छन्।
शुरूआतमा राई शब्दले जात वा जाति जनाउँदैनथ्यो। यसले ‘पद-पदवी’ वा ‘पगरी’ मात्रै जनाउँथ्यो। यो शब्दको व्युत्पत्ति ‘राया/राय’ हो। नेपालमा ‘राया/राय’ शब्दको प्रयोग कर्णाली प्रदेशबाट भएको मानिन्छ। जुन ‘राया/राय’ शब्दले ‘राजा’ भन्ने अर्थ जनाउँथ्यो।
पछि, पूर्वमा पनि सेनहरूले स्थानीय प्रभावशाली किरातीलाई सोही ‘राया/राय’ ‘पद–पदवी’ वा ‘पगरी’ दिएका थिए। गाउँघरको बोलीचालीको भाषामा ‘जिम्मावाल’ वा ‘तालुकदार/तालुकदारी’ पनि भन्ने गरिन्थ्यो। अहिले पनि त्यो वेला जो कोही ‘जिम्मावाल’ वा ‘तालुकदार/तालुकदारी’ भएका व्यक्तिका सन्तान, दरसन्तानलाई फलानो ‘जिम्मावाल’ वा ‘तालुकदार/तालुकदारी’ को छोरा, छोरी, नाति, नातिनी भनी बोलाउने गरेको पाइन्छ।
नेपालका अन्य जाति सरह अलग्गै मातृभाषा, अलग्गै वेशभूषा, संस्कार, संस्कृति, रहनसहन, परम्परागत कानून, इतिहास, ऐतिहासिक भूमि, वंश र परम्परा छ। कुलुङ जातिभित्रै ३८० भन्दा बढी थर र उपथर छन्।
पङ्क्तिकार लगायत कुलुङका अन्य अगुवाले सार्वजनिक रूपमा २०५७/५८ सालदेखि ‘राई’ जात वा जाति होइन भनी लेखेर, बोलेर, जनवकालत गरेर, राजनीतिक दल र तिनका नेताहरूसँग भेटघाट गरेर लबिइङ गर्दा र कुलुङ जातिलाई पनि नेपालका अन्य जाति सरह (खास गरी आदिवास जनजाति सूचीमा सूचीकृत गर्ने सवाल) मान्यता दिन माग गरेका थिए। मानव अधिकारवादी र मानव अधिकार क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थाका प्रमुखसँग भेटेर कुलुङ जातिलाई जबर्जस्ती राईकरणमा पारिएको गुनासो गरिएको थियो। यसले हाम्रो सामूहिक र व्यक्तिगत मानव अधिकार हनन भएकाले आवाज उठाउन आग्रह गरेका थियौं।
नेपालका अन्य जाति सरह अलग्गै मातृभाषा, अलग्गै वेशभूषा, संस्कार, संस्कृति, रहनसहन, परम्परागत कानून, इतिहास, ऐतिहासिक भूमि, वंश र परम्परा छ। कुलुङ जातिभित्रै ३८० भन्दा बढी थर र उपथर छन्। कुलुङ जातिमा थर वा उपथरलाई ‘पाछा’ र गोत्रलाई ‘दप्प नीङ’/‘दप्स्नीङ’ भन्ने गरिन्छ।
त्यही भएर कुलुङ–कुलुङबीचमै विवाह गर्ने प्रचलन पनि छ। राई जात हो र कुलुङ, बान्तावा, चाम्लिङ, बाहिङ आदि चाहिं थर हुन् पनि भन्ने तर्क गरिन्छ। तर, त्यसो हुन्थ्यो भने कुलुङ-कुलुङबीच विवाह हुँदैनथ्यो।
कुलुङ जातिलाई जस्तै बान्तावा, चाम्लिङ लगायत राईकरणमा परेका अन्य किराती जातिलाई पनि नेपालका धेरैजसो जातजाति वा भनौं अन्य समुदाय, समूह, वर्ग, क्षेत्रका मानिसले ‘राई’ भनेर बुझ्ने गरेको पाइन्छ। उनीहरूले नेपालमा साँच्चै एक जाति राई छ र त्यसका २८ वटा मातृभाषा छन् भनेर किटान गर्न सकेका छैन। किनकि, उनीहरूले यसको गहिराइमा गएर अहिलेसम्म अध्ययन गरेका छैनन्।
अब एकअर्कालाई गाली गरेर बस्नुभन्दा कात्तिक–मंसीरमा हुने १२औं जनगणनामा कुलुङले जस्तै बान्तावा लगायत किराती जातिले राई वा बान्तावा राई नलेखेर बान्तावा मात्रै लेख्नुस्। यसबाट वास्तविक जनसङ्ख्या आउनेछ। जनसङ्ख्याका आधारमा बान्तावा भाषालाई प्रदेश १ को कामकाजी भाषामा सिफारिश गर्न सजिलो हुनेछ।