सम्पदा पुनर्जागरण अभियानको शुरूआत, पत्ता लगायो अमेरिकाको म्यूजियममा दुई नेपाली मूर्ति
नेपाली सम्पदा बचाउन र चोरी भएका मूर्तिलाई स्वदेश फिर्ता ल्याउने उद्देश्यले ‘नेपाल सम्पदा पुनर्जागरण अभियान’ शुरूआत गरिएको छ।
१ असोजमा ललितपुरको पाटनढोकामा आयोजित कार्यक्रमका बीच अभियानको उद्घाटन गरिएको हो।
अभियानकी अध्यक्ष रिद्धिबाबा प्रधानले अहिले मन्दिर भएको तर मूर्ति नभएको बताइन्। लोप हुन लागेका सम्पदाको पहिचान र संरक्षण गर्न सरकारलाई सघाउने बताउँदै अध्यक्ष प्रधानले भनिन्, “एउटा मूर्ति हराए एउटा जात्रा, पूजा र पर्व नै मासिन्छ। त्यसैले सम्पदा बचाउन सबैले अभियानमा साथ दिऔं।”
कार्यक्रममा बोल्दै अभियानका उपाध्यक्ष कनकमणि दीक्षितले नेपाली दुई मूर्ति, ‘गन्धर्वा–इतुम्बहाल’ र ‘याम्पी महाविहार’ अमेरिकाको, ‘द रुविन म्यूजियम’ मा फेला परेको बताए।
उनले भने, “अभियानको औपचारिक उद्घाटन मात्र आज भएको हो। यस अघि नै हामीले नेपाली मूर्ति फर्काउन अध्ययन गर्ने क्रममा काठमाडौं र ललितपुरका दुई मूर्ति न्यूयोर्कको म्यूजियममा पायौं। अब इन्टरपोल, प्रहरी लगायतसँग सहकार्य गरेर स्वदेश फर्काउन पहल गर्नेछौं।” १४औं र १७औं शताब्दीका यी मूर्ति नेपाली नै हुन् भन्ने प्रमाण जुटाइरहेको दीक्षितले बताए।
अभियानले सम्पदा पुनर्जागरण कार्य गर्ने क्रममा हालसम्म एउटा मूर्ति फर्काएको, १८ वटा फर्काउने प्रक्रियामा रहेको र २१ वटा हराएका मूर्ति पत्ता लागिसकेको अभियानका सदस्य रोशन मिश्रले जानकारी दिए।
मूर्ति पत्ता लाग्ने तर फर्काउन आधिकारिक प्रमाण नपुग्ने समस्या अर्को चुनौती रहेको बताउँदै पुरातत्त्व विभागका प्रमुख दामोदर गौतमले भने, “यो प्रक्रियालाई सहज बनाउन प्राचीन स्मारक संरक्षण गर्ने ऐन बलियो बनाउनैपर्नेछ।”
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले लक्ष्मीनारायणको मूर्ति फर्काउन आर्थिक पहल गरे जस्तै यस अभियान मार्फत मूर्ति फर्काउने प्रक्रियामा महानगरपालिकाले आवश्यक खर्च जुटाउने घोषणा गरे।
मेयर महर्जनका अनुसार, फर्किएका मूर्तिलाई पुरानै स्थानमा राख्ने र संरक्षण दिन बत्ती, सीसी क्यामेरा जडान लगायत कार्यमा महानगरपालिकाले सघाउनेछ।
हाम्रो मुलुक सानो भए पनि सम्पदा, कला र संस्कृतिमा धनी भएकाले नेपाली मूर्ति सधैं जोखिममा रहेको इतिहासविद् सत्यमोहन जोशीले बताए। उनले भने, “हराउने जोखिमकै कारण मैले धेरै दिग्गज व्यक्तिलाई पनि कुन मूर्ति कति पुरानो हो भन्ने गरेको छैन।”
सम्पदा पुनर्जागरण अभियान जस्ता कार्यक्रमले सम्पदा रक्षामा अतुलनीय भूमिका खेल्नुपर्ने शुभकामना दिंदै जाेशीले भने, “मूर्ति पहिचान कार्य र पाटन संग्रहालय पछाडि पुरातत्त्व पार्क बनाउने कार्य पनि सम्पन्न गर्न अभियानले सहयोग गरोस् भन्ने अपेक्षा छ।”
पाटन संग्रहालयका सदस्य दिलेन्द्र श्रेष्ठले यो अभियानले फर्काएका मूर्तिलाई विशेष संग्रहालय बनाएर संरक्षण गर्न पहल थाल्ने बताए।