सुवासित काइतेन
कोभिड-१९ महामारीबीच भिजुअल आर्टिस्ट सुवास तामाङले तामाङ समुदायको इतिहास, स्मृति र पहिचान विश्वमाझ ‘काइतेन’ गर्दैछन्।
काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरी कक्ष भिजुअल आर्टिस्ट सुवासको कलाकृतिले झकीझकाउ छ। २५ भदौदेखि ‘काइतेन’ शीर्षकमा थालिएको यो प्रदर्शनी तामाङ इतिहासको सुवासित प्रस्तुति हो। अझै भनौं, यो तामाङ समुदायले भोगेको उत्पिडनको साँगोपाँगो कथा हो। काइतेन भनेको आफ्नो कुरा अरुलाई सुनाउनु हो।
३० वर्ष पहिले मोरङको अमरदहमा जन्मिएका सुवास सानै उमेरदेखि मूर्ति बनाउन थालेका हुन्। बुवा वीरबहादुरको सिको गरेर ८ वर्षको उमेरदेखि मूर्ति र चित्र बनाउन थालेका उनलाई बुवाको कलाकारिताले लोभ्याएन मात्रै, त्यहि पेशामा समर्पित बनायो।
बुवाले निर्जीव ढुंगा कुँदेर आकर्षक मूर्तिको स्वरुप दिएको देख्दा तामाङ समुदायको इतिहास कस्तो होला भनेर उत्सुक हुन्थे, सुवास। विस्तारै विद्यालयको पाठ्यपुस्तकमा आफ्नो समुदायको चाडवाडको व्याख्या खोज्न थाले। तामाङ समुदायको धर्म र संस्कृतिबारे पढ्न नपाउँदा उनको मन खिन्न हुन्थ्यो।
“पाठ्यपुस्तकमा तामाङको विषय उल्लेख भएको पाइन,” सुवासले यसक्षेत्रमा लाग्नुको कारण खुलाउँदै भने, “हाम्रो समुदायलाई होच्याएको र गलत ऐतिहासिक व्याख्या गरिएको पुस्तक पढेपछि यही विषयलाई कलाकारितामार्फत देखाउने निश्चिय गरेँ।”
त्यसपछि सुवासको कला सामाजिक मुद्दामा केन्द्रित भयो। त्यसैको निरन्तरता हो, काइतेन।
विसं १९०३ देखि २००७ सालसम्म राणा शासनका वेला तामाङ समुदाय सबैभन्दा धेरै शोषणमा परेको बताउँछन्, उनी। “आफ्नो काम पूरा गर्न तामाङ समुदायलाई दास बनाएर भरपुर उपयोग गरेको र राणा शासकहरूले दिएको दुःखको इतिहासलाई कलामा उतारेको हुँ,” उनी विस्तारै खुल्छन्।
आफ्नो पहिचान आफै खोज्नु पर्ने विचार राख्ने उनी भन्छन, “कलाकारिताको माध्यमबाट सामाजिक-राजनीतिक उत्पीडनमा परेको आफ्नो समुदायको कथा बोलेको हुँ।”
काइतेनमा सुवासले पहिचान बोल्ने कला त भरेका छन् नै तामाङ समुदायको संस्कृति झल्काउने ‘को.को.मेन्दो’ फूलको पनि प्रदर्शन गरेका छन्। तामाङको हरेक पूजाआजा को.को.मेन्दो अर्थात टटेलाको फूल चढाएर शुरू हुन्छ।
अनेक शासन व्यवस्थासँग लडाइ गरेका बहादुर पूर्खालाई नेपाली कागजमा चित्रमार्फत उतारेका छन् उनले। त्यसमध्ये एक हुन, तुलाराम तामाङ अर्थात् गोले काइँला। राणा शासनलाई हटाएर प्रजातन्त्र स्थापना गर्न गठन गरिएको जनमुक्ति सेनाका एक गुमनाम पात्रको रुपमा लिइने गोले काइँलाको योगदान कहिल्यै सम्बोधन नै नभएकोमा सुवासको गुनासो छ। सुवासले उनलाई ‘जनमुक्ति सेना, एउटा हराएको इतिहास’ पुस्तकमा भेटेका हुन्।
तामाङ समुदायलाई कसरी व्याख्या गरिन्थ्यो भन्ने ‘लोक सेवा आयोगको नयाँ पाठ्यक्रममा आधारित’ पुस्तकमा लेखिएको अक्षरहरू प्रस्तरमा उतारेका छन्। साल सम्वत नभेटिएको पैरवी प्रकाशनको ‘लोकसेवा आयोगको नयाँ पाठयक्रममा आधारित’ पुस्तकमा भएका शब्दलाई सुवासले प्रस्तरमा यसरी प्रस्तुत गरेका छन्ः
“तामाङ जाति शेर्पा जातिसँग मिल्दाजुल्दा हुन्छन्। यिनीहरू खासगरी बुहारी-छोरी स्वास्नी बेची पैसा कमाउने प्रवृतिका हुन्छन् भन्ने गरिन्छ। यत्तिमात्रै होइन, राम्रो खान र लगाउनको लागि आफू स्वयं पनि बन्धकीमा बस्न सक्ने हुन्छन्। यिनीहरूको धर्म बौद्ध हो। कोदो, मकै, जौ, फापर यिनीहरुको मुख्य खाना हो। व्याङ र गुम्वा यो जातिमा पनि बनाइन्छ। यिनीहरुमा बौद्ध धर्म अलावा ‘वोनधर्म’ पनि मान्ने गरेको पाइन्छ। सामूहिक भोज भतेर, मोजमज्जा र पूजाआजामा तल्लीन रहने यो जाति अशिक्षित, गरीब र सोझो हुन्छ। यिनीहरूको चार्डपर्व दशैं, तिहारको अलावा संक्रान्ती, पूर्णिमा पनि पर्दछन्। यिनीहरुको विवाहवारी फुपुचेला, मामाचेलामा पनि चल्दछ। यो जातिमा मृत्यु र जन्म संस्कारमा लामा पुरोहितको ठूलो हात रहन्छ। मर्दाखेरी ३ दिनभन्दा बढी जुठो बार्ने चलन हुदैन, लाशलाई गाड्ने प्रवृतिका हुन्छन र यिनीहरूमा चाडपर्वमा समूहगत केटा-केटी मिलेर डम्फु बजाउँदै सार्है राम्रो गीत गाएर नाच्ने प्रचलन रहेको छ। अन्य संस्कार लिम्बू जाति झै हुने गरेको छ।”
तामाङ समुदायको इतिहास, स्मृति र पहिचान खुलाउने उनका थप तीन वटा आर्ट यस्ता छन्ः
कागजी रकम
१०४ वर्षे राणा शासनका वेला नुवाकोट वुङताङका तामाङहरूले लोक्ताबाट ‘नेपाली कागज’ बनाएर काठमाडौं ल्याउनु पर्थ्यो। यसबापत् घरजग्गा कर तिर्नुपर्दैनथे। अन्य पारिश्रमिकको व्यवस्था भने थिएन।
तामाङहरू लोक्ता संकलन गरेर नेपाली कागजको रुपमा परिणत गरेपछि त्यसैमा नेपालको नियम, व्यवस्थाका कुरा लेखिन्थे। तर जसले कागज बनायो उसैको इतिहास भने ती कागजमा कहिल्यै लेखिएन। यही कुरालाई सुवासले ‘कागजी रकम’ मार्फत काइतेन गरेका छन्।
सुवास भन्छन्, “नि:शुल्क बनाएर राणा शासकलाई बुझाएको नेपाली कागजमा कागज बनाउनेहरूकै इतिहास कतै लेखिएन।” त्यसैले वैज्ञानी र कागजी रकमलाई पहिचानको खोजी भनेर आफ्नो कलामा प्रस्तुत गरेका छन्।
पीपा : सुवासको पीपी आर्टमा तामाङ वेशभूषा लगाएका चार जना डोको नाम्लो बोकेर हिँडिरहेको देख्न सकिन्छ। नेपाली सेनामा भर्ती भएर पनि हतियार बोक्न र चलाउन नपाउने पीपा गोश्वारा (अहिलेको बन्दोबस्ती गण) माथिको विभेदको बिम्ब हो।
२० साउन २०६६ मा नेपाल सरकार र संयुक्त तामाङ संघर्ष समितिबीच बन्दोबस्ती गणलाई अन्य सैनिक सरहको सेवा सुविधा प्रदान गर्ने सहमति भयो। प्रायः तामाङ युवाहरू भर्ती हुने यो गणलाई सैनिक सेवामा समानता थिएन भन्ने यो सहमतिले नै देखाउँछ। पीपा गोश्वाराका जवानहरूले बन्दोबस्तीका काम गर्थे।
राणाकालमा भारी बोक्ने, आँप बगैचामा काम गराउने, सरकारी जागीरमा प्रवेश गर्न पहिचान लुकाउनुपर्ने कुराले जन्मियो सुवासको पीपी आर्ट।
मासिन्या मतवाली
वि.स. १९९० मा जारी भएको मुलुकी ऐनमा नेपालका जातजातिहरूलाई तागाधारी, मतवाली र अछुत भनेर विभाजन गरियो। ऐनले आदिवासी जनजातिलाई मासिन्या मतवाली र नमासिन्या मतवाली भनेर दुई भागमा वर्गिकरण गरेको थियो। मासिन्यमत वालीमा थारु, तामाङ, भोटे राखिएको थियो भने नमासिन्या मतवालीमा मगर, सुनुवार, गुरुङ, राई र लिम्बूहरूलाई राखिएको थियो।
मासिन्या मतावालीलाई दास बनाउन पाइने कुराले सुवासको ध्यान खिच्यो। मसिन्या मतवाली हुँदै अहिलेसम्म तामाङहरूले सरकारबाट खेप्नु परेको विभेद कथा बुझाउन सुवासले कागज र रंगमा जीवन भरे। यसको नाम जुराए, , ‘मासिन्या मतवाली’।