संसद्को अवरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक
नेकपा (एमाले)का सांसदले लगातार संसद् अवरुद्ध गर्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।
संसद्को अवरोध हटाउनका लागि निकास खोज्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्। सोमबार दिउसो २ः३० बजे सर्वदलीय बैठक बोलाइएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिए।
आइतबारको प्रतिनिधि सभा बैठकमा पनि एमाले सांसदले विरोध जनाएका थिए। दुई पटक बसेको प्रतिनिधि सभा बैठक चल्न नसकेपछि २९ भदौसम्मका लागि स्थगित गरिएको छ।
यसअघि पनि एमाले सांसदले विरोध जनाउँदा प्रतिनिधि सभा बैठक चल्न सकेको थिएन। त्यस्तै, राष्ट्रिय सभा बैठक पनि एमाले सांसदको विरोधले अवरुद्ध भएको थियो।