चीनसँगको सीमा क्षेत्र पुग्दै अध्ययन समिति
चीनले उत्तरी सीमामा नेपाली भूमि अतिक्रमण गरे/नगरेको विषयमा अध्ययन गर्न गठित सरकारी टोली सीमा क्षेत्रतर्फ लागेको छ।
गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा रहेको टोली आइतबार बिहान सिमकोटबाट सीमा क्षेत्रतर्फ लागेको हुम्लामा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए। “सात जनाको टोली सीमातर्फ प्रस्थान गरेको छ,” आचार्यले हिमालखबरसँग भने।
टोलीमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सीमाविद्हरू सम्मिलित छन्। समितिले हुम्लाबाट भने कसैलाई लगेको छैन।
सरकारले १६ भदौमा हुम्लाको नाम्खा गाउँपालिकाको लिमी, लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको समस्या सम्बन्धमा उठेका प्रश्न सम्बोधन गर्न नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न समिति गठन गरेको थियो।
गत वर्ष नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले स्थलगत अध्ययनपछि नेपाली भूमि अतिक्रमणमा परेको प्रतिवेदन दिएका थिए। आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि, नेता शाही लगायतले तत्काल समिति गठन गर्न माग गरेका थिए।
त्यसपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्तावमा मन्त्रिपरिषद्ले समिति गठन गर्ने निर्णय गरेको हो। यो समिति गठन भए पछि सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का विद्यार्थी संगठनले भारतविरुद्ध प्रदर्शन गर्दै आएका छन्।
कांग्रेस नेता शाहीको टोली सीमा क्षेत्रमा पुग्नुअघि नै जिल्ला प्रशासन कार्यालय, हुम्लाका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालको टोलीले पनि नेपाली भूमि अतिक्रमण भएको निचोड निकालेको थियो। त्यो विषयमा गृह मन्त्रालयले उनीसँग स्पष्टीकरण लियो।
हमालको टोलीले सीमा मिचेको निश्कर्ष निकालेपछि अघिल्लो सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले सिमाना नमिचेको वक्तव्य जारी गरेका थिए। ज्ञवालीले २०७३ सालमा गृह, परराष्ट्र मन्त्रालय र नापी विभागका अधिकारीहरू संलग्न टोलीले दिएको रिपोर्टका आधारमा यस्तो वक्तव्य जारी गरेका थिए।
हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले गरेको अध्ययन प्रतिवेदन भने सरकारले सार्वजनिक गरेको छैन।
सरकारले सहसचिव आचार्य नेतृत्वको समितिले प्रतिवेदन दिएपछि सीमा अतिक्रमणबारे आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ।