पाँच सय वर्षअघिको त्यो काबुल !
भारतमा मुगल साम्राज्य बसाउने चर्चित बादशाह जाहिरूद्दीन मोहम्मद बाबरले १४ जुन १५०४ मा काबुल विजय गरेका थिए। उनलाई काबुल यति मन परेको थियो, उनले मृत्युपछि आफ्नो शव काबुलमा आफूले बनाएको बाग-ए-वफा (आजभोलि बाग-ए-बाबर भनेर चिनिने) मा गाड्नु भनेका थिए। तालिबानले कब्जा गरेर फेरि चर्चित बनेको काबुलका बारेमा उनै बाबरको वर्णन:
काबुल सभ्य देशहरूको बीचमा चिसो ठाउँमा अवस्थित छ। चार कुने आकारको यो सानो ठाउँ पूर्व-पश्चिम फैलिएको र पहाडै पहाडले घेरिएको छ। पहाडको छेउमा गढी छ। कुनै वेला काबुलका शाहले गढीको टुप्पामा महल बनाएका थिए। त्यसैले यस पहाडलाई शाह काबुल भनिन्छ। यस पहाडको भिरालोमा फलफूल लगाइएको छ।
गढीको दक्षिण र शाह काबुलको पूर्वमा ठूलो ताल छ। शाह काबुल पहाडदेखि काबुल शहरतिर लाग्दा पानीका चार वटा ससाना मूल छन्। वसन्त र बर्खामा काबुलमा उत्तरी हावा चल्छ, जसलाई यहाँका मानिसहरू परवान भन्ने गर्छन्। यो हावा कहिल्यै रोकिंदैन। काबुल गढीका बारेमा मुल्ला मोहम्मद तालिव मुआमीले यस्तो कविता लेखेका छन्ः
काबुलको गढीमा बसेर वाइन खाऔं
वाइन पटक पटक थपौं
किनभने यहाँ पहाड पनि छ, पानी पनि छ
शहर पनि छ, गाउँ पनि छ।
हिन्दुस्तानीहरूले हिन्दुस्तान बाहेकका सबै ठाउँलाई खुर्सान भन्छन्, अरबले अरब बाहेकका सबै ठाउँलाई अजाम भने झैं। हिन्दुस्तान र खुर्सानको बीचको बाटोमा दुईवटा व्यापारिक केन्द्र छन्ः काबुल र कान्दाहार। फर्गना, तुर्किस्तान, समरकन्द, बुख्रा, बाल्ख, हिसार र बादखसानदेखि सामान बोकेका घोडाका ताँती काबुल आउँछन्। उनीहरू खुर्सानबाट कान्दाहार जान्छन्। बर्सेनि सात, आठ, दश हजार घोडा काबुल आउँछन्।
हिन्दुस्तानबाट दश, पन्ध्र, बीस हजार घोडामा सवार ताँतीले दास, कपडा, रक सुगर र प्रशोधित चिनी र मसला ल्याउँछन्। धेरै काबुले साहुहरू आफूले बेच्ने सामानमा ३०० देखि ४०० प्रतिशत नाफा खाँदा पनि चित्त बुझाउँदैनन्। काबुलमा खुर्सान, इराक, अन्तोलिया र चीनसम्मका सामान पाइन्छन्। यो हिन्दुस्तानीलाई सामान बेच्ने मुख्य बजार हो।
काबुलका वरपर न्यानो र चिसो दुवै किसिमका जलवायु भएका ठाउँ छन्। काबुलबाट एक दिनको बाटो हिंड्दा हिउँ कहिल्यै नपर्ने ठाउँ पुगिन्छ। त्यस विपरीत दिशातिर दुई घण्टा हिँड्दा त्यस्तो ठाउँ पुगिन्छ, जहाँ जहिल्यै हिउँले ढाकेको हुन्छ। अचाक्ली खडेरी परेका समयमा आक्कलझुक्कल मात्रै त्यहाँको सबै हिउँ पग्लिन्छ।
काबुल अधीनस्थ गाउँमा अंगुर, अनार, आरु, स्याउ, श्रीफल, आलुबखडा, बयर, बदाम, ओखर प्रशस्त फल्छन्। मैले यहाँ आल्चा ल्याएर रोपेको थिएँ। त्यो सप्रेको थियो। मैले यहाँ उखु पनि ल्याएर रोपेको थिएँ।
लघमानतिरबाट सुन्तला, कागती र अम्लुक काबुल ल्याइन्छन्। काबुल वरपरका पहाडमा मौरीका घार राखिएका छन्। त्यहाँको मह काबुल ल्याइन्छ। पश्चिमको पहाडबाट मात्रै मह काबुल ल्याइँदैन। काबुलमा गजबको रेवाचिनी पाइन्छ। यहाँका श्रीफल र आलुबखडा अनि सुन्तला जातका फल पनि मीठा हुन्छन्। यहाँको अब-अंगुर जातको अंगुर अत्यन्तै उत्तम हुन्छ। काबुलको वाइन मात लाग्ने खालको हुन्छ। ख्वाजा र खावान्ड सइद पहाडको वाइनले पनि कडा भनेर ख्याति कमाएको छ।
वाइनको आनन्द पिउनेले मात्रै थाहा पाउँछ
वाइन नखानेले खानुको आनन्द कसरी थाहा पाओस्!
अन्नबाली चाहिं यहाँ राम्रो हुँदैन। बीउ जति छरेको छ त्यसको चार-पाँच गुणा फसल भए मात्र बाली राम्रो मानिन्छ। यहाँको खरबुजा मीठो हुँदैन। खुर्सानबाट बीउ ल्याएर रोप्यो भने चाहि खरबुजा पनि नराम्रो हुँदैन। यहाँको जलवायु उत्तम छ। वास्तवमा काबुलको जति आनन्ददायी जलवायु संसारका कुनै पनि ठाउँमा भएको ज्ञात छैन। यहाँ वसन्त र बर्खामा पनि ऊनीको कम्बल नओढीकन रात कटाउन सकिंदैन। हिउँदमा सामान्यतया धेरै हिउँ पर्ने भए पनि अचाक्ली जाडो हुँदैन।
काबुलको सुरक्षा प्रबन्ध बलियो छ। यहाँ बाहिरी शत्रुले आक्रमण गर्न कठिन छ।
काबुलमा धेरै जातिका मानिस बस्छन्। पहाडका कुना–कन्दरा र मैदानमा तुर्क, यारक र अरबको बसोबास छ। शहर र कुनै कुनै गाउँमा सार्तहरू बस्छन्। सबैतिरका गाउँमा पासी, पार्ची, ताजिक, बाराकी र अफगानको बसोबास छ।
काबुल प्रान्तमा १०/११ वटा भाषा बोलिन्छन्। तिनमा अरबी, फारसी, तुर्किस, मंगोलियन, हिन्दी, अफगानी, पासी, पाराची, गावारी, बाराकी र लाघामी पर्दछन्। अरू कुनै प्रदेशमा यति धेरै जातिका मानिसको बसोबास भएको र यति धेरै भाषा बोलिएको थाहा छैन।
१५०८/९ मा मैले अदिनापुर गढीको दक्षिणमा अलिक अग्लो ठाउँमा बाग-ए-वफा नामको चारबाग बनाएको थिएँ। यो बगैंचा गढी र चारबाग बीचबाट बगेको नदी छेउमा पर्छ। यहाँ सुन्तला, कागती र अनार धेरै फल्छन्। (१५२४ मा) मैले केराको बोट ल्याएर यहाँ रोपेको थिएँ। त्यो राम्रोसँग सप्रेको थियो। त्यसको अघिल्लो वर्ष उखु ल्याएर रोपिएको थियो। बगैंचा भएको ठाउँ अलि अग्लो छ। यहाँ सधैं पानी बगिरहन्छ।
हिउँदमा पनि यहाँ उति धेरै चाँडो हुँदैन।
बगैंचाको बीचमा होचो डाँडो छ जहाँबाट एक घट्ट पानी सधैंभरि बगिरहन्छ। बगैंचाको दक्षिण-पश्चिममा पोखरी छ, जसका वरिपरि सुन्तला र अनार फल्छन्। पोखरीको वरिपरि तीनपाते घाँसले ढाकिएको चौर छ। यस बगैंचाको सबैभन्दा उत्तम ठाउँ यही हो। सुन्तला पाकेर पहेंलपुर भएका वेला यहाँको दृश्य सुन्दर हुन्छ।
अनुवादः मोहन मैनाली
(बाबरको चर्चित किताब बाबरनामाका विभिन्न पृष्ठबाट)