धितोपत्र बोर्ड सञ्चालकबाट चन्द्र ढकालको राजीनामा
सर्वोत्तम सिमेन्टको शेयर खरीद-बिक्री प्रकरणमा विवादमा परेपछि नेपाल धितोपत्र बोर्डका सञ्चालक चन्द्र ढकालले पदबाट राजीनामा दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष रहेका ढकाल महासंघको प्रतिनिधित्व गर्दै नेपाल धितोपत्र बोर्डका सदस्य बनेका थिए। तर, बुधबारबाट लागू हुने गरी उनले राजीनामा दिएको महासंघका अध्यक्ष शेखर गोल्छाले बताए। ढकालले कार्यव्यस्तताका कारण बोर्डमा सञ्चालकका रूपमा काम गर्न असमर्थ रहेको जानकारी गराएको अध्यक्ष गोल्छाले बताए । “आजै (बुधबार)बाट लागू हुने गरी उहाँले अब बोर्डमा महासंघको तर्फबाट प्रतिनिधित्व गर्न नसक्ने जानकारी गराउनुभयो,” गोल्छाले हिमालखबरसँग भने।
गोल्छाले अब महासंघले छलफलपछि बोर्डमा कसलाई सदस्यका रूपमा पठाउने भन्ने निर्णय गर्ने बताए। यद्यपि, ढकाल भने सम्पर्कमा आएनन्। कैयौं कम्पनीको अध्यक्ष र सञ्चालक रहेका ढकाल आफैं नियमनकारी निकायको बोर्डमा स्वार्थ बाझिने गरी बसेको भनी आलोचित थिए। उनी शेयर बजारमा सूचीकृत ग्लोबल आईएमई ब्यांक, चन्द्रागिरि हिल्सका अध्यक्ष हुन् भने अन्य कम्पनीका पनि सञ्चालक छन्।
सर्वसाधारणलाई जारी गर्नु पूर्व नै मिलेमतोमा नियामक निकायका अधिकारीहरूले स्वार्थ बाझिने गरी र गैरकानूनी रूपमा सर्वोत्तम सिमेन्टको शेयर किनबेच गरेको हिमालखबरले सार्वजनिक गरेको थियो। ढकालका भाइ हेमराज ढकालका नाममा पनि शेयर खरीद-बिक्री गरिएको थियो। शेयर खरीद प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि मंगलबार पदबाट राजीनामा दिएका थिए।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, बोर्डका सदस्य ढकाल र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत साउदले पारिवारिक सदस्यको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेको भेटिएको थियो।
सर्वसाधारणलाई महँगोमा शेयर बिक्रीको प्रस्ताव गरेको सर्वोत्तम सिमेन्टको संस्थापक शेयर धितोपत्र बजारसँग प्रत्यक्ष सम्बद्ध व्यक्तिलाई शुरूमै बाँडिनुले भविष्यमा शेयर बजारमा चलखेल गरी मूल्य–पासो सिर्जना गर्न खोजिएको त होइन भन्ने आशंका उब्जाएको थियो।
अर्थ मन्त्रालयले यो प्रकरणमाथि अनुसन्धान समिति बनाएर छानबिन गरिरहेको छ। यसअघि, संसद्को अर्थ समितिले छानबिन गरी दोषीमाथि कारबाही गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो।