नेप्सेका सीईओ साउदले दिए राजीनामा
सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्च (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन्।
मंगलबार पत्रकार सम्मेलन गरेर सीईओ साउदले राजीनामा दिएको घोषणा गरेका हुन्। “नेप्सेको प्रमुख कार्यकारीको हैसियतमा पदीय मर्यादा विपरीत कुनै काम नगरेको हुँदा यस सम्बन्धी अनुसन्धान कार्यमा सहयोग पुर्याउन आजैका मितिदेखि लागू हुने गरी राजीनामा दिएको छु,” उनले भने।
सर्वसाधारणलाई शेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत साउदका पारिवारिक सदस्यका नाम किनिएको हिमालखबरले समाचार प्रकाशित गरेको थियो। साउदले श्रीमतीका नाममा शेयर किनेका थिए।
शेयर खरीद प्रकरणमा अर्थ मन्त्रालयले छानबिन थालेको छ। त्यस्तै, संसद्को अर्थ समितिले यसमा छानबिन गरी दोषीलाई कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो।