‘बस भाडा नहुँदा जेलमा श्रीमान्लाई भेट्न जान सकिनँ’
टीकापुर घटनामा संलग्न भएको आरोपमा जेल परेका व्यक्तिका परिवारले भोग्नुपरेको आर्थिक, सामाजिक, पारिवारिक पीडा र संघर्ष।
टीकापुर घटनामा संलग्नताको आरोपमा पाँच दिनपछि १२ भदौमा कैलालीको भजनी नगरपालिका-६, नवलपुरका बृजमोहन चौधरी पक्राउ परे। उनको परिवारमा चरम दुःखका दिन शुरू भए।
श्रीमान् जेल परेपछि दुई नाबालक छोराछोरी र सासूका लागि एक छाक खाना जुटाउन पनि निकै भौंतारिनुपरेको बृजमोहनकी श्रीमती गोकर्णीदेवी बताउँछिन्।
उनका अनुसार, ब्रेन क्यान्सर भएका ससुराको टीकापुर घटनाको एक महीनाअघि ७ साउनमा मृत्यु भयो। ससुराको उपचारका लागि ब्यांकबाट रु.६ लाख ऋण लिएका थिए।
त्यसमाथि कमाइ गर्ने श्रीमान् जेल परेपछि आर्थिक समस्याले थला पारेको उनी बताउँछिन्। “पाँच वर्षसम्म छोराछोरीलाई एक जोर नयाँ कपडा पनि किन्न नसकेको सम्झिँदा अहिले पनि मन साह्रै रुन्छ,” उनी भन्छिन्।
उच्च अदालतले पाँच वर्ष सजाय सुनाएकोमा थप चार महीना कैद भुक्तान गरेर बृजमोहन थुनामुक्त हुँदा गोकर्णी जति खुशी भइन्, श्रीमानको कमजोर शारीरिक अवस्था देख्दा उत्तिकै निराश।
जेलको कुटपिट र यातनाले बृजमोहन राम्ररी हिँड्न सक्दैनन्। कान पनि सुन्दैनन्। तर, गोकर्णीले श्रीमानको उपचार गराउन सकेकी छैनन्। “१३ कठ्ठा जमीन छ। यो बाढी प्रभावित क्षेत्र भएकाले जग्गाको भाउ सस्तो छ, सबै बेच्दा पनि ऋण चुक्ता हुँदैन। ऋण तिर्ने कि श्रीमानको उपचार गर्ने ?” उनी भन्छिन्।
यही मुद्दामा साढे तीन वर्ष जेल परेका भजनी-३ का प्रेम चौधरीको परिवारको पनि आर्थिक जहाज डुबेको छ। टीकापुर घटना हुँदा प्रेम आफ्नो मेडिकलमा बिरामीको उपचार गरिरहेका थिए। सोही दिन उनको घरमा बाख्रा बिरामी भयो। भोलिपल्ट बाख्रा काटेर खाए। प्रहरी प्रशासनले भने ‘प्रहरीहरू मरेको खुशियालीमा बाख्रा काटेर खाएको’ भन्दै प्रेमलाई पक्राउ गरेको श्रीमती रामकृष्णी चौधरी भन्छिन्।
प्रेम जेल परेपछि मेडिकल बन्द भयो, भएका औषधिको म्याद गुज्रियो, ऋणले थिच्यो। उनीहरूले मेडिकलका लागि ब्यांकबाट रु.२२ लाख ऋण लिएका थिए, जुन अहिले ब्याज बढेर रु.४० लाख पुगिसकेको रामकृष्णी सुनाउँछिन्। जेलमुक्त भएर फर्केपछि प्रेमले ऋणको बोझका कारण व्यवसाय अगाडि बढाउन सकेका छैनन्। उनीहरूले मेडिकल भएकै ठाउँमा सानो किराना पसल चलाइरहेका छन्।
पारिवारिक संघर्षका पाँच वर्ष
१६ जेठ २०७२ मा विवाह गरेका जानकी गाउँपालिका-४ कैलालीका राजकुमार कठरिया त्यसको तीन महीनापछि टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परे। गोली लागेर अस्पतालमा उपचाररत अवस्थामा ८ भदौमा उनी समातिएका थिए। गर्भमा साढे दुई महीनाको बच्चा हुर्काइरहेकी सीता कठरिया श्रीमान् जेल परेपछि आत्तिइन्।
राजकुमार पक्राउ परेपछि सीतामाथि हिंसा शुरू भयो। परिवारका सदस्यले गर्भपतन गर्न पनि दबाब दिन थाले। तर, सहारा दिने मान्छे जेलमा भएका कारण सबै सहेर बस्न बाध्य भएको उनले बताइन्। उनीमाथि पारिवारिक हेलाहोचा देखेर गाउँका आफन्तजनले अर्को विवाह गर्न सुझाव दिन्थे, तर उनले सुनिनन्।
गर्भावस्थामा श्रीमान् जेलमा हुँदाको चिन्ताले उनलाई गलाएको थियो। त्यसमा पनि परिवारको उपेक्षा र आर्थिक अभावले मुश्किल पारेको थियो। आफूलाई अस्पताल लैजाने पनि कोही नभएको उनी सुनाउँछिन्। छोरा जन्मेपछि ज्यालामजदूरी गरेर छोरा हुर्काएको उनको भनाइ छ। “सहारा दिने मान्छे जेलमा थियो, हातमा पैसा थिएन, पाँच वर्ष कुन दुःखले कटाएँ भनिसाध्य छैन,” उनी भन्छिन्, “बस भाडा जुटाउन नसकेर जेलमा श्रीमान्लाई भेट्न जान पनि सक्दिनथें।”
‘लडाकु’ यमुनाले थामेको घर
भजनी नगरपालिका-६, नवलपुरमा मासु र मदिरा पसल चलाउँदै आएका सन्तकुमार चौधरी (सीताराम) १२ भदौ २०७२ मा पक्राउ परे। उनी जन्मकैदको सजाय काटिरहेका छन्। श्रीमान् पक्राउ परेपछि यमुनादेवी रसाइली चौधरीसामु चुनौती आयो, घर चलाउने र व्यापारलाई निरन्तरता दिने। व्यापारका लागि सन्तकुमारले ब्यांकबाट १५ लाख रुपैयाँ ऋण लिएका थिए। तर, उनी पक्राउ परेपछि व्यापार चौपट भयो।
बिस्तारै यमुनाले व्यापारलाई आफैंले निरन्तरता दिने निधो गरिन्। तर, त्यसका लागि सामाजिक साथ र स्वीकारोक्ति पाउन सजिलो थिएन। अन्तरजातीय प्रेम विवाह गरेर डोटीबाट कैलाली आएकी यमुनालाई जातका कारण समाजले सकारात्मक दृष्टिले हेर्दैनथ्यो।
कुनै समय माओवादी सशस्त्र युद्धमा संलग्न भएका यमुना र सन्तकुमारले २०६२ सालमा सातौं डिभिजन ५ नम्बर ब्रिगेड सहजपुर (डोटी) मा जनवादी विवाह गरेका थिए। उनी भन्छिन्, “अन्तरजातीय विवाह, त्यसमा पनि पूर्व लडाकु भएकाले छिमेकी र आफन्त कसैले पनि राम्रो मान्दैनथे। धेरै संघर्षपछि व्यापार गर्ने मेसो मिल्यो र सफल पनि भएँ।”
(हिमालको २०७८ भदौं अंकमा ‘...अनि बिथोलियो घर-संसार’ शीर्षकमा प्रकाशित रिपोर्ट।)