धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओमाथि कारबाही गर्न अर्थ समितिको निर्देशन
संघीय संसद्को अर्थ समितिले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, सदस्य चन्द्र ढकाल र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदमाथि छानबिन गरी कानून बमोजिम कारबाही गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले तत्काल छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।
सर्वसाधारणलाई शेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर बोर्डका अध्यक्ष ढुंगाना, सदस्य ढकाल तथा नेप्सेका सीईओ साउदका पारिवारिक सदस्यका नाममा लिएको विषयमा शृंखलाबद्ध छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो।
समितिको निर्णयमा भनिएको छ, “नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी अनुचित लाभ लिन गरेको भनिएको शेयर कारोबारको सम्बन्धमा अर्थ मन्त्रालयबाट अध्ययन/छानबिन भइरहेको जानकारी माननीय मन्त्रीज्यू र अर्थसचिवबाट प्राप्त भएकाले उक्त छानबिन यथाशीघ्र सम्पन्न गरी कानून बमोजिम आवश्यक कारबाही अगाडि बढाउन र सोको जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने।”
बुक बिल्डिङ प्रक्रियाबाट सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई जारी गर्न लागेको शेयर बोर्डका अध्यक्ष ढुंगानाले छोरी रेबिका ढुंगाना र नेप्सेका सीईओ साउदले श्रीमती सुशीलाकुमारी बोहराका नाममा खरीद गरेका थिए। त्यस्तै, बोर्डका सदस्य चन्द्र ढकालले पनि भाइका नाममा शेयर कारोबार गरेको भेटिएको थियो।
अर्थ समितिका सदस्यले आरोपित पदाधिकारीलाई निलम्बन गरी कारबाही अघि बढाउनुपर्नेमा जोड दिएका थिए। समितिकी सदस्य रामकुमारी झाँक्रीले पदीय जिम्मेवारी विपरीत अनुचित कारोबारमा संलग्न आरोपित व्यक्तिलाई निलम्बन गरी छानबिन अघि बढाउन समितिले निर्देशन दिनुपर्ने जिकिर गरेकी थिइन्।
उनले अर्थ मन्त्रालयले व्यक्ति मुछिएको घटनामा संस्थालाई पत्र पठाउनु आपत्तिजनक भएको समेत बताइन्। अर्थ मन्त्रालयले आरोपित व्यक्तिको सट्टा संस्थासँग स्पष्टीकरण सोध्दै यसअघि पत्र पठाएको थियो।
उनले नेपाल धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओले आफू मातहतका कर्मचारीलाई दबाब र प्रभावमा पारी संसद्को अर्थ समितिमा दोषीलाई जोगाउने तरिकाले जवाफ दिन लगाएको पनि बताइन्। समितिमा बोल्ने अन्य सांसदले पनि आरोपित पदाधिकारीलाई निलम्बन गरी कारबाही गर्नुपर्नेमा जोड दिएका थिए।
समितिले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकुमार मरासिनीलाई छलफलमा बोलाएको थियो। मन्त्रालयले यो विषयमा आवश्यक अनुसन्धान गरिरहेको मन्त्री शर्माले बताए। उनले भने, “सम्बन्धित आरोपीले दिएको जवाफ चित्त नबुझेकाले पाँच सदस्यीय आन्तरिक छानबिन समिति बनाएर अध्ययन गरिरहेका छौं, केही दिनभित्रै त्यसको रिपोर्ट आएपछि कारबाहीको प्रक्रिया अघि बढाइनेछ।”
तर, उनले समितिमा को–को छन् भन्ने जानकारी भने दिएनन्। मन्त्री शर्माले नागरिकको सम्पत्तिको रक्षाका लागि प्रतिबद्ध रहेको र मन्त्रालयले यो मुद्दालाई निष्कर्षमा पुर्याइछाड्ने पनि बताए। “मन्त्रालयले मिलाउन खोजेको वा समस्यालाई यत्तिकै टार्न खोजेको भनेर नबुझियोस्, हामी सत्यतथ्य जानकारी बाहिर ल्याउँछौं,” उनले भने।
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले शुरूमा सम्बन्धित संस्थालाई सोधिएको जवाफ चित्तबुझ्दो नआएपछि आरोपित व्यक्तिलाई नै पत्र पठाएर यो विषयमा सोधिएको बताए। उनले २७ साउनमा बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका सीईओ साउदलाई पत्र पठाएर आवश्यक विवरण माग गरिएकोमा अध्यक्ष ढुंगानाले १ भदौ र सीईओ साउदले ३१ साउनमा जवाफ पठाएको बताए।
तर, ती जवाफमा समेत चित्त नबुझेपछि र पहिलो दृष्टिमै आरोपित व्यक्ति दोषी देखिएकाले मन्त्रालयले आन्तरिक छानबिन समिति बनाएर छानबिन गरिरहेको उनले जानकारी दिए। “यसले पनि नपुगेमा कुनै पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाउन समेत हामी तयार छौं,” उनले भने।
यसैबीच, अर्थ मन्त्रालय स्रोतबाट प्राप्त जानकारी अनुसार, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले २७ साउनमा ढुंगाना र साउदलाई स्पष्ट गरी जवाफ पेश गर्न पत्र पठाएको भेटिएको छ। उक्त पत्रमा सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेको हो कि होइन, खरीद गरेको भए कहिले कुन मितिमा, कति रकममा कति कित्ता शेयर खरीद गरेको हो त्यसको विवरण पठाउन भनिएको छ।
यसरी शेयर खरीद गर्दा स्वार्थ बाझिन्छ/बाझिंदैन त्यसको जवाफ दिन भनिएको छ। स्पष्टीकरण सोधिएको पत्रमा यसरी शेयर खरीद गर्दा नेपाल धितोपत्र ऐन २०६३ विपरीत हुन्छ/हुँदैन सो विवरण समेत खुलाउन भनिएको छ।