कसरी फर्काउने अफगानिस्तानका नेपालीलाई?
तालिबान विद्रोही समूहले सत्ता कब्जा गरेसँगै अफगानिस्तानस्थित नेपालीलाई सुरक्षित रूपमा कसरी फर्काउने भन्ने अन्योल बढेको छ।
काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा मच्चिएको हाहाकार र अव्यवस्थाले अनिश्चयलाई थप बढाएको छ। तोकिएका कैयौं व्यावसायिक उडान अवरुद्ध भएपछि अफगानिस्तान छोड्न चाहनेहरू रोकिन पुगेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अत्यावश्यक अवस्थामा अफगानिस्तानका नेपालीलाई उद्धार गर्न आवश्यक निर्देशन दिइसकेको बताएका छन्। मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानस्थित नेपालीको सकुशल उद्दारको निर्णय पनि गरेको छ । तर, अमेरिका सहित विभिन्न देशका नागरिकहरू फर्काउन भइरहेको कठिन संर्घषबाट नेपालीलाई फर्काउन सजिलो छैन भन्ने संकेत गर्छ।
अफगानिस्तानमा कति संख्यामा नेपालीहरू छन् भन्ने यकिन विवरण छैन। वैदेशिक रोजगार विभागको तथ्यांकमा पछिल्ला दुई आर्थिक वर्षमा २ हजार १ सय २२ नेपाली श्रम स्वीकृति लिएर कामका लागि अफगानिस्तान पुगेको वैदेशिक रोजगार विभागका प्रवक्ता महेन्द्रनाथ भट्टराईले बताए।
तर, ठूलो संख्यामा नेपालीहरू व्यक्तिगत तवरमा र अवैध तरिकाले अफगानिस्तानमा रोजगारीका लागि पुगेको यस क्षेत्रका जानकारहरू बताउँछन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले औपचारिक र अनौपचारिक बाटो मार्फत गएका १५ हजारसम्म नेपाली अहिले अफगानिस्तानमा रहेको हुनसक्ने आकलन गरे।
श्रेष्ठका अनुसार, अफगानिस्तानमा तीन फरक तरिकाले गएका नेपालीहरू छन् । पहिलो, संस्थागत रूपमा वैदेशिक रोजगार व्यवसायीहरू मार्फत गएका नेपालीहरू छन्। काबुलस्थित विभिन्न देशका नियोगहरूमा सुरक्षा गार्डका रूपमा संस्थागत रूपमा गएकाहरूले काम गरिरहेका छन्। यसरी संस्थागत रूपमा गएर वैदेशिक नियोग तथा कम्पनीहरूका लागि काम गर्ने नेपालीलाई साह्रै ठूलो समस्या नआउने श्रेष्ठ बताउँछन् ।
कतिपय यस्ता नेपालीहरूलाई सम्बन्धित कम्पनी र नियोगहरूले सुरक्षित स्थानमा लगिसकेका छन्। काबुलस्थित अमेरिकी र बेलायती दूतावास तथा युरोपियन युनियन कार्यालय आदिको सुरक्षार्थ खटिएका नेपालीलाई अमेरिका र बेलायतले उद्धार गरिरहेका छन्। ११८ जना नेपाली कुबेत हुँदै मंगलबार बिहान काठमाडौं आइपुगेका छन्।
कयौंलाई सुरक्षा गार्डलाई कतारको दोहा पुर्याएको छ। यस बाहेक पछिल्लो एक साताभित्र अमेरिकन कम्पनी फोर्समा काम गर्ने २६० र इगल कम्पनीका १५० नेपाली फर्काइएको श्रेष्ठले बताए। तर, अझै पनि झण्डै साढे चार सय नेपाली काबुलस्थित विमानस्थलमैं उद्धारको पर्खाइमा रहेको बताइन्छ।
श्रेष्ठका अनुसार, हतियार चलाउने बाहेक सामान्य सुरक्षा गार्डका रूपमा विभिन्न कम्पनीहरूमा काम गर्ने नेपालीको संख्या पनि ४–५ हजार जति हुनसक्छ । खासगरी व्यक्तिगत तवरमा भारत, दुबई हुँदै उनीहरू अफगानिस्तान पुगेका हुन्।
तेस्रो चाहिं अफगानिस्तानमा होटल, क्याटरिङ लगायतका विभिन्न सेवा क्षेत्रमा काम गर्ने नेपालीको संख्या पनि ठूलो रहेको श्रेष्ठ बताउँछन्। अवैध तरिकाले विभिन्न बाटोबाट कामका लागि गएको हुँदा उनीहरू मुख्य रूपमा जोखिममा रहेको उनको तर्क छ। “३६० जना यस्ता अवैध रूपमा बसेका र जोखिममा परेकाहरू सम्पर्कमा छन्,” उनले भने।
कूटनीतिक पहलकदमीको आश
परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको वेबसाइट मार्फत अनलाइन रजिस्ट्रेसन पोर्टलमा दर्ता हुन अफगानिस्तानमा रहेका नेपालीलाई आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया र अफ्रिका महाशाखाका प्रमुख हरीशचन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल समेत गठन गरी काम शुरू गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट नेपालीको उद्धार गर्न नेपालमा रहेका विदेशी कूटनीतिक नियोग, विदेशी मुलुकमा रहेका नेपाली नियोग, राष्ट्रसंघीय निकायहरु आदिसँग छलफल गरिरहेको जनाएको छ।
तर, जोखिममा परेका नागरिकलाई फिर्ता ल्याउन कस्तो र कति प्रभावकारी कूटनीतिक प्रयत्न हुन्छ भन्ने निर्क्याेल छैन। नेपालको अफगानिस्तान मामिला भारतको दिल्लीस्थित राजदूतावासले हेर्दै आएको छ। यसले अफगानिस्तानसँग नेपालको कूटनीतिक रिक्तता रहेको देखाउँछ।
अर्कातिर, अफगानिस्तानमा नेपाली जोखिममा परेका वेला तिनको कूटनीतिक माध्यमबाट उद्धारका लागि नेतृत्व लिनुपर्ने परराष्ट्र मन्त्रालयमा राजनीतिक नेतृत्व नै छैन। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको एक महीना बितिसक्दा पनि गठबन्धनमा रहेका दलहरूबीच असमझदारीका कारण अझै परराष्ट्र लगायतका महत्त्वपूर्ण मन्त्रालयहरूमा मन्त्री नियुक्त गरिएको छैन।
अफगानिस्तानमा रहेका नेपालीबारे संघीय संसद्लाई जानकारी दिन सभामुख अग्निप्रसाद सापकोटाले ३२ साउनको संसद् बैठकलाई सरकारलाई रुलिङ गरे। तर, एकाध समयपछि नै सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्य गरेको सूचना उनले पढेर सुनाए। अफगानिस्तानमा रहेका नेपालीको स्थितिबारे संसद्मा सरकारको जवाफ आउनेछैन।
अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा स्थितिबारे चिन्ता बढिरहँदा काबुलमा रहेका एक नेपालीले हिमालखबरसँगको कुराकानीमा आफूहरू बिचल्लीमा परेको र सरकारले उद्धार गरे मात्रै नेपाल फर्किने आशा रहेको बताएका छन्। नाम उल्लेख गर्न नचाहने ती नेपालीले आफू सहित तीन जना अवैध हैसियतमा एउटै कोठामा लुकेर बसेको र सरकारले सुरक्षित रूपमा फर्काउने आशा गरिरहेको बताए।
परराष्ट्र मामिलाविज्ञ राजन भट्टराई अफगानिस्तानमा नेपालको सीधै कूटनीतिक सम्पर्क नभएकाले समन्वय गर्न कठिन भएको बताए। यस्तो अवस्थामा दिल्लीस्थित नेपाली दूतावासले अमेरिकाका कूटनीतिक संयन्त्रसँग कुरा गरेर वा पाकिस्तानस्थित नेपाली दूतावास परिचालन गरेर नेपालीलाई उद्धारका लागि प्रयत्न गर्नुपर्ने बताए। भट्टराईले व्यक्तिगत सम्पर्क सूत्रहरूलाई पनि प्रयोग गर्न सकिने बताए। उनी भन्छन्, “सरकारले वेलैमा सक्रियता नदेखाउँदा जटिलता थपिंदै गएको छ, सरकारको सक्रियताले मात्रै अफगानिस्तानका नेपालीको उद्धार सम्भव हुन्छ।”
अफगानिस्तानमा श्रम स्वीकृति लिएर रोजगारीका लागि गएका नेपालीको संख्या :
आर्थिक वर्ष |
संख्या |
२०७७/७८ |
१०७३ |
२०७६/७७ |
९२४ |
२०७५/७६ |
१८३० |
२०७४/७५ |
१४४२ |
२०७३/७४ |
१३६८ |
२०७२/७३ |
१४२० |