अफगानिस्तानका नेपाली भन्छन्– बिचल्लीमा छौं, सरकारले उद्धार गरे मात्र फर्कने आश छ
अफगानिस्तानमा अवैधानिक रुपमा बसेका नेपालीलाई त्यहाँ भड्किएको हिंसाले नराम्ररी प्रभावित पारेको छ। उनीहरू सरकारले गर्ने उद्धारको आश मात्र बाँकी रहेको बताउँछन्।
अफगानिस्तानको काबुलबाट सम्पर्कका आएका एक नेपालीले परिचय नखुलाउने शर्तमा हिमालखबरसँगको कुराकानीमा बिचल्लीमा परेकाे बताए। बाँकी उनकै शब्दमा:
सन् २०२० को जनवरीमा नेपाली एजेन्ट मार्फत काम गर्न हामी १८ जना अफगानिस्तानको काबुल आइपुगेका थियौं। १५ जनाले सुरक्षा गार्डका रुपमा काम पाए पनि म सहित तीन जनाले भने तोकिएको काम पाएनौं। करीब रु. साढे आठ लाख बुझाएर आए पनि हाम्रो आम्दानी भने छैन।
केही महीनाअघि हामीलाई कोभिड–१९ पनि भयो। अहिले अवैध रुपमा एउटा कोठामा लुकेर बसेका छौं। धन्न खानबस्न भने एजेन्टको मान्छेले उपलब्ध गराइदिएको छ। हामीजस्तै अवैध रहेकाको संख्या कति छ, यकिन छैन। करीब डेढ सय जतिसँग हाम्रो सम्पर्क छ।
अहिले काबुलको स्थिति निकै डरलाग्दो छ। एक हिसाबले हाहाकारको स्थिति छ। छिनछिनमा बन्दुक पड्किएको आवाज सुनिन्छ।
हामीले थाहा पाए अनुसार, तालिवानीहरू विभिन्न नाकाबाट काबुल प्रवेश गरिरहेका छन्। तालिवानी देख्ने बित्तिकै सरकारी सुरक्षाकर्मीले आत्मसमर्पण गरिरहेको सुनिन्छ। तालिवानी प्रवेश गरेपछि काबुल छोड्न चाहनेको उस्तै भीड छ। काबुलमा दिउँसै लुटपाट पनि भइरहेको छ। हतियार बोकेका मानिसले धनीहरूलाई बन्दुक तेस्र्याएर धनमाल लुटिरहेको थाहा पाएका छौं।
बाहिर निस्केर खुलमखुल्ला हिंड्ने स्थिति छैन। सुरक्षा एजेन्सीमा काम गर्ने वैध हैसियतका नेपालीलाई धेरै समस्या छैन। उनीहरूलाई सम्बन्धित कम्पनीले नै सुरक्षित स्थानमा फर्काउने आश्वासन दिएको छ।
कयौंलाई आज रातिदेखि लगिंदैछ । हामीजस्तो अवैध रुपमा बसेकाको के हुने हो टुंगो छैन। हामी बिचल्लीमा छौं। एजेन्टले पनि फिर्ता लैजान नसकिने बताइसकेका छन्।
नेपाल सरकारले हामीलाई सुरक्षित रुपमा नेपाल फर्काउन पहल गरिरहेको सुनेका छौं। कसरी यहाँबाट निकालेर लैजान्छ कुरिरहेका छौं। अब हाम्रो एक मात्र आश सरकारसँग छ।