सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेर गल्ती भयो : नेप्सेका सीईओ साउद
नेपाल स्टक एक्सचेन्च (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले सर्वसाधारणलाई शेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेर गल्ती गरेको स्वीकार गरेका छन्।
संघीय संसद्को अर्थ समितिको सोमबारको बैठकमा छलफलका लागि निम्त्याइएका साउदले कानूनले बाटो नछेके पनि आफ्नो पदीय मर्यादा र जिम्मेवारीका हिसाबले शेयर खरीद गर्नु गल्ती भएको महसूस गरेको बताए। कानूनले आफूलाई ओटीसी मार्केटमा शेयर किनबेच गर्न भने रोक नलगाएको उनको भनाइ थियो।
साउदले भने, “ओटीसी बजारमा शेयर किनबेचका लागि कानूनले छेकबार लगाएको छैन, तर नैतिक हिसाबले त्यस्तो नगरेको भए हुन्थ्यो भन्ने मलाई पनि लागेको छ, अब यस्ता कमजोरीबाट म एककोश टाढै रहन्छु।”
साउदले ऐन नियमभन्दा बाहेक संस्थाहरूको नेतृत्वमा बस्ने व्यक्तिलाई समाजले पनि हेरिरहेको हुने हुँदा यसतर्फ पनि ध्यान दिने विषयमा आफ्नो चेत खुलेको बताए।
सर्वसाधारणलाई शेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत साउदका पारिवारिक सदस्यका नाम किनिएको खुलासा भएपछि संसद्को अर्थ समितिले यसबारे छलफल गरिरहेको छ। साउदले श्रीमतीका नाममा शेयर किनेका थिए।
बैठकमा समितिकी सदस्य रामकुमारी झाँक्रीले शेयर कारोबार गर्ने हो भने संस्थाको नेतृत्वमा नबसेर शेयरको किनबेच गर्ने कम्पनी खोल्नुपर्ने बताइन्। उनले व्यक्तिले स्वार्थ बाझिने गरी शेयर किनबेच गरेको विषयमा अर्थ मन्त्रालयले सिंगो संस्थालाई नै मुछेर प्रष्टीकरणको पत्र पठाउनुले मन्त्रालयको गलत मनसाय झल्किने बताइन्। यस विषयमा अर्थ मन्त्रालयसँग समेत छलफल आवश्यक रहेको उनको भनाइ छ।
अर्थ समितिले आइतबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुंगानासँग शेयर खरीदका विषयमा छलफल गरेको थियो।